नेपालकै औद्योगिक क्षेत्रमा बिजुली अभाव, तर किन 'सस्तो मूल्यमै' बेच्न थालियो भारतलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2021 | 10:34:48 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले भारतीय ऊर्जा बजारमा बिजुली बेच्न थालेको छ। तर पूर्वाधारका अभावमा देशभित्रैका प्रमुख औद्योगिक क्षेत्रमा झन्डै १,००० मेगावाट विद्युत् अभाव भइरहेको अधिकारीहरूले बताएका छन्।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार नेपालका वीरगन्ज, विराटनगर र भैरहवाका औद्योगिक कोरिडोरमा बिजुलीको उच्च अभाव छ।

"हामीकहाँ अहिले विद्युत् प्रसारण पूर्वाधार राम्रो भएको भए बेच्नुपर्ने अवस्था नै आउने थिएन," उनले भने।

तर मङ्गलवार रातिबाट नेपालले ३९ मेगावाट विद्युत् भारतलाई बेच्न सुरु हुनुलाई नेपाली अधिकारीहरूले दुई देशबीचको ऊर्जा व्यापारमा "कोसेढुङ्गा" को सङ्ज्ञा दिएका छन्।

अहिलेसम्म नेपाल-भारतबीच एकअर्कालाई विद्युत् बढी वा कम भएका बेला लेनदेन मात्र हुनेगर्थ्यो।

मूल्य कति

हाललाई भारतीय लगानीकर्ता वा भारत सरकारको लगानी भएका परियोजनाबाट उत्पादन हुने विद्युत् मात्र भारतीय बजारले लिने बताइएको छ।

त्यसअनुसार इन्डियन एनर्जी एक्सेन्ज लिमिटेडमा विद्युत् विक्री गर्न त्रिशूली र देवीघाट विद्युत्‌गृहबाट उत्पादिन बिजुलीका लागि स्वीकृति पाइएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।

त्रिशूलीको विद्युत् उत्पादन क्षमता २४ मेगावाट र देवीघाटको १५ मेगावाट छ।

विक्रीदर भने भारतको "माग र आपूर्ति चक्रले स्वचालित रूपमा" तय गर्ने भएकाले कुनै बेला निकै सस्तोमा समेत बेच्नुपर्ने हुने प्राधिकरणका प्रवक्ता भट्टराई बताउँछन्।

"ऊर्जा खेर जानुभन्दा बेच्दा फाइदा हुन्छ भन्ने हिसाबले हेर्नुपर्छ," उनी भन्छन्।

"कुनै बेला उच्च मात्रा विद्युत् आवश्यक भएर महँगोमा बोलपत्र आह्वान गरे पनि बजारले तय गर्ने 'क्लीअरिङ मूल्य' नै सबैले तिर्नुपर्ने हुन्छ। कम मूल्य प्रस्ताव गरिएमा चाहिँ विद्युत् नपाउने जोखिम हुन्छ।"

प्रक्रिया कस्तो

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले ऊर्जा बजारबाट नेपालले विद्युत् किन्ने अवस्थामा समेत सोही सूत्र लागु हुने बताए।

त्यसका लागि नेपालले यसअघि नै अनुमति पाइसकेको छ।

मन्त्रालयका भेटवाल भन्छन्, "तर अहिलेसम्म हामीले मध्यकालीन र केही लामो समयका लागि व्यापारका हिसाबले भारतबाट विद्युत् ल्याउने गरेका थियौँ। ऊर्जा एक्सेन्जबाट ल्याउनलाई अब त्यसैगरी दिनदिनै बिडिङ गर्नुपर्छ।"

यस प्रक्रियाअन्तर्गत अघिल्लो दिन मूल्यमा प्रतिस्पर्धा गरेर बजार छिर्दा अर्को दिनको लागि प्रत्येक १५ मिनेटको ९६ वटा समयविभाजनमा फरकफरक मूल्य हुन सक्ने बताइएको छ।

बिजुली विक्री भएको बिजुलीको मूल्य मङ्गलवार प्रतियूनिट सस्तोमा १.९९ भारतीय रुपैयाँ र महँगोमा ४ भारतीय रुपैयाँ थियो।

क्षमता कति

यससँगै उत्पादनका तुलनामा नेपालमा विद्युत् उत्पादन बढी भएको बेला विद्यमान पूर्वाधारबाट भारतमा ३५० मेगावाटसम्म विद्युत् विक्री गर्न सकिने प्राधिकरणका अधिकारीहरूको अपेक्षा छ।

यस वर्षको शरद्‌याममा नेपालको केन्द्रीय प्रसारण लाइनमा झन्डै २,००० मेगावाट बिजुली प्रवाह हुने गरेको पनि माग केवल १,५०० मेगावाटजति रहेको अधिकारीहरूले बताउने गरेका थिए।

सो अवधिमा ५०० मेगावाटजति विद्युत् खेर गएको बताइन्छ।

नेपाली लगानी भएका तामाकोशी, भोटेकोशी, मर्स्याङ्दीजस्ता परियोजनाबाट उत्पादन हुने बिजुली बेच्न पाउनका लागि प्रस्ताव गरिएको मन्त्रालयका अधिकारीहरू बताउँछन्।

मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवाल भन्छन्, "भविष्यमा हामीले करिबकरिब ७०० मेगावाटका लागि प्रस्ताव गरेका छौँ।"

"हिउँदमा हामीले अझै एक-दुई वर्ष आयात नै गर्नुपर्ने हुन्छ। वर्षायामका लागि यसले अवसर खोलेको छ।" -बिबिसीबाट 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved