सजिलो डिजिटल नम्बर प्लेट प्रणाली ‘कताहो’ सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2024 | 07:47:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालभित्रको जुनसुकै ठाउँको ठेगाना प्लेट पाँच मिनेटमै तयार गर्न सकिने मोबाइल एप र वेबमा आधारित डिटिजल ठेगाना प्लेट प्रणाली ‘कताहो’ सञ्चालनमा आएको छ । पाँच वर्षको अनुसन्धानपछि विकास भएको ‘कताहो’ ठेगाना प्रणालीमा नेपाल सरकार, सहरी विकास मन्त्रालयले हालसम्म तयार गरेका घर नम्बर पनि समावेश गर्न सकिने जनाइएको छ । 

काठमाडौंमा बुधबार सुरु भएको क्यान इन्फोटेकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘कताहो’ को औपचारिक उद्घाटन गरेकी हुन् ।  

देशको सम्पूर्ण भूभागलाई १५ अर्ब २ करोड हाराहारी प्लट (टुक्रा) मा विभाजन गरी हरेक प्लट (टुक्रा) का लागि शब्द र अंक मिलाएर एउटा युनिक नाम दिई यो प्रणाली तयार गरिएको राम र लक्ष्मण रिमालले बताए । उनीरुका अनुसार ‘कताहो’ को सहायताले नेपालको जुनसुकै ठाउँ पत्ता लगाएर तत्काल पुग्न सकिन्छ । राम र लक्ष्मण ग्रुप संलग्न रहेको एड्रेसग्राफ प्रालिले यो प्रणाली विकास गरेको हो । 

डिजिटल ठेगाना प्रणालीमा सामुदायिक रूपमा टोल विकास तथा समितिबाट राखिएका घरका नम्बर समेत राख्न सकिन्छ । यसको लक्ष्य दूरदराजमा रहेका पालिकाका घर, गोठ, टहरा, सीमाचिह्न, प्राकृतिक सम्पदा जस्ता हरेक स्थानको नम्बर तयार गर्नु रहेको रिमालद्वयको भनाई छ । 

यो प्रणालीमा विश्वस्तरीय ठेगानाको प्लस कोड तथा घरमा टाँसिने नम्बर प्लेटबाटै घन्टी बजाउन पनि सकिन्छ । ‘कताहो’ एपमार्फत सर्वसाधारणले आफ्नो घरको ‘ठेगाना प्लेट’ निःशुल्क तयार गरी प्रिन्ट गराउन सक्ने उनीहरुले जनाएका छन् । यसको प्रयोगले ठेगानासँग सम्बन्धित अधिकांश समस्या समाधान हुने एड्रेसग्राफको भनाइ छ । ‘यसले देशका हरेक ठाउँको डिजिटल ठेगाना दिन्छ । उक्त ठेगाना मोबाइलमार्फत् शेयर गर्न, बोलेर एक अर्कामा पु¥याउन एकदमै उपयोगी र प्रभावकारी छ,’ एड्रेसग्राफ प्रालिले बुधबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कम्पनीका अनुसार गाउँपालिका तथा नगरपालिकाले यो प्रणालीको प्रयोगबाट धेरै काम प्रभावकारी रूपमा गर्न सक्छन् । सबभन्दा पहिलो– यो प्रणाली प्रयोग गरेर पालिकाहरूले आफ्नो क्षेत्रभित्रका बासिन्दालाई तुरुन्तै घर नम्बर दिन सक्छन् । 

उनीहरुका अनुसार गाउँ तथा नगरपालिकाहरूले यसको प्रयोग गरेर विभिन्न प्रकारका लगत संकलन गर्न सक्छन् । लगत संकलनमा सबभन्दा पहिलो काम स्थान विशेषको पहिचान हो । त्यो चाहे घरको नम्बर होस्, खेतीयोग्य जमिन होस्, सार्वजनिक स्थान होस्, बाटोघाटो पुलपुलेसा जस्ता स्थिर चिजका लागि हरेकको ठेगाना अक्षांस र देशान्तरको रूपमा राख्न त सकिन्छ तर त्यसरी राख्दा त्यो एउटा अंकको रूपमा मात्र बस्छ । २८० मिटर लम्बाइ तथा २८० मिटर चौडाइको क्षेत्रलाई एउटा नेपाली शब्दले प्रतिनिधित्व गर्ने हुँदा यसलाई व्यावहारिक रूपमा प्रयोग गर्न सजिलो हुन्छ । साथै भविष्यमा गरिने हरेक प्रकारका व्यवस्थापनमा यसले अहम् भूमिका खेल्न सक्छ । 

सेवाग्राहीलाई करको दायरामा ल्याउन पनि पालिकाहरुले यो डिजिटल ठेगाना प्रणाली प्रयोग गर्न सक्छन् । यसको माध्यमबाट नक्सामै कुन कुन क्षेत्रका कुन कुन घर व्यावसायिक हुन्, कुन आवासीय हुन् पत्ता लगाउन सकिन्छ । तीमध्ये कति करका दायरामा छन् र कसरी कर तिरिरहेका छन् भन्ने कुरा पनि प्रस्टै देखिन्छ । 

पालिकाले दैनिक गर्नुपर्ने काम, जस्तैः फोहर व्यवस्थापन, सामाजिक सुरक्षा, अनुगमन, सूचना तथा जानकारी लगायतमा ‘कता हो’ डिजिटल ठेगाना प्रणालीलाई प्रत्यक्ष प्रयोग गर्न सकिन्छ । ठेगाना प्लेटमा रहेको क्युआर कोड स्क्यान गरी फोहरको परिमाण, सामाजिक सुरक्षाका भत्ता लगायत सूचना तथा जानकारीका प्रमाण राख्न सकिन्छ । 

दैवी विपत्ति, घटना दुर्घटना तथा विपत्को सूचना र त्यसको प्रतिकार्यमा यो डिजिटल ठेगाना प्रणालीको प्रयोग एकदमै उपयोगी हुन्छ । पालिकाका बासिन्दालाई आपत् पर्दा ‘कता हो’ कोडको अन्तिम १ शब्द र नम्बर मात्रैले उक्त व्यक्ति कुन ठाउँमा छ, ठ्याक्कै पत्ता लगाएर उद्धार सकिन्छ । 

पालिकास्तरबाट नियमित अनुगमन गर्नुपर्ने सार्वजनिक निर्माण, भवन निर्माण जस्ता फिल्डमा हुने कामका लागि स्थान पहिचान एकदमै चुनौतीपूर्ण हुने गरेको छ । पालिकासँगको सीमित स्रोत, साधनका कारण कुनै निर्माणस्थलमा अनुमतिभन्दा अधिक स्थान ओगटेर निर्माण भइरहेको वा तोकिएभन्दा कम काम भइरहेको पत्ता लगाउन मुस्किल हुन्छ । ‘कताहो’ डिजिटल ठेगाना प्रणालीमार्फत् त्यस्ता क्षेत्रहरू कुनै पनि स्मार्टफोनको सहायताले पहिचान गर्न सकिन्छ । यसले स–साना सेक्टरलाई (३.५ मिटर लम्बाइ तथा २.८ मिटर चौडाइ) समेत समेट्न सक्ने भएकाले स्थान पहिचान तथा अनुगमन एकदमै चुस्त दुरुस्त राख्न मदत गर्छ । 

ताल तलैया, सार्वजनिक वन, पार्क लगायत स्थानको अतिक्रमण रोकथामको लागि यस ठेगाना प्रणालीको माध्यमबाट उक्त स्थानको रेखांकन गर्न सकिन्छ र त्यसको समूह ठेगाना कोडको माध्यमबाट त्यस क्षेत्र वरपरको मापदण्डसम्मका स्थानमा निर्माण तथा भोगचलनमा सहज किसिमले रोक लगाउन सकिन्छ ।  

घर नम्बर जडानका साथै माथि उल्लेखितलगायत अन्य काममा समेत यो प्रणालीको बहुउपयोगी प्रयोग गर्न सकिन्छ ।  

कताहो बारे थप जानकारी 

‘कताहो’ वेब र मोबाइल एप (एन्ड्रोइड र एप्पल) भर्सनमा उपलब्ध छ । एपमार्फत आम सर्वसाधारणले आफ्नो घरको ‘ठेगाना प्लेट’ निःशुल्क तयार गरी प्रिन्ट गराउन सक्छन् । यसको प्रयोगले ठेगानासँग सम्बन्धित अधिकांश समस्या समाधान हुन्छ । 

‘कता हो’ एप नेपाल र नेपाल जस्तै ठेगाना पूर्वाधारमा थोरै काम भएका देशका लागि विकास गरिएको हो । यसले देशका हरेक ठाउँको डिजिटल ठेगाना दिन्छ । उक्त ठेगाना मोबाइलमार्फत् शेयर गर्न, बोलेर एक अर्कामा पु¥याउन एकदमै उपयोगी र प्रभावकारी छ ।

डिजिटल नम्बर प्लेट भनेको के हो ? 

डिजिटल नम्बर प्लेट भन्नाले नेपालको सम्पूर्ण क्षेत्रफललाई ३.५ मिटर लम्बाइ र २.८ मिटर चौडाइका १५ अर्ब २ करोड हाराहारी प्लटमा विभाजन गरी हरेक प्लटका लागि शब्द र अंक मिलाएर युनिक नाम (नदोहोरिने नाम) दिइने ठेगाना प्रणाली हो । 

डिजिटल घर नम्बर प्लेट बनाउन कति खर्च लाग्छ ?

डिजिटल घर नम्बर प्लेट बनाई एक अर्कामा सेयर गर्न, बैंक तथा अन्य निकायका प्थ्ऋ फारममा कोड राख्न सर्वसाधारणले कुनै शुल्क तिर्नु पर्दैन । तयार भएको ठेगाना प्लेटलाई आफ्नो घरमा टाँस्नका लागि भने नजिकको प्रिन्टरकहाँ गएर छपाउनुपर्छ । छपाउँदा प्लेट र प्रिन्टको गुणस्तर अनुसार लाग्ने मूल्य तिरे पुग्छ । 

प्लेट बनाएर नटाँसीकन पनि आफ्नो ठेगाना दिन सकिन्छ ?

भौतिक रूपमा घर नम्बर प्लेट नबनाइकन पनि तपाईंले आफ्नो ठेगाना जो कसैलाई दिन सक्नुहुन्छ । त्यसको लागि आफ्नो घरको मुख्य प्रवेशद्वारमा उभिएर ‘कता हो’ एपमार्फत् २ मिनेटमै डिजिटल प्लेट तयार गर्न सकिन्छ । त्यो डिजिटल प्लेटलाई आफन्त, प्रहरी, दमकल, राइड सेयरिङ, सामान डेलिभरी, कुरियर जस्ता सेवा प्रदायकसँग सेयर गरी तुरुन्तै सेवा लिन सकिन्छ । 

हामीले पहिल्यै ठेगाना प्लेट जडान गरिसक्यौं, यसको के काम ?

स्थानीय सरकार वा टोल समाजबाट यहाँले ठेगाना प्लेट जडान गरिसकेको भए पनि पुरानो प्लेटको विवरण यो नयाँ डिजिटल प्लेटमा राख्न सकिनछ । ‘कता हो’ एपमार्फत् बन्ने प्लेटमा स्थानीय निकायको नाम तथा वडा नम्बर समेत समावेश हुन्छ । ती विवरणलाई क्युआर कोडमा पनि राखिएको हुनाले सेवा प्रवाहका लागि यो कुरा महत्वपूर्ण हुन्छ । त्यस्तै संघीय सरकार र स्थानीय सरकारको पहलमा मेट्रिक तथा अन्य प्रणालीबाट राखिएका ठेगानालाई समेत यस प्रणालीमा समावेश गर्न सकिन्छ । 

घर नम्बरका अलावा यसमा अरु के के सुविधा छन् ?

‘कता हो’ प्रणाली घर ठेगाना प्लेट तयार पार्न मात्र बनेको प्रणाली हैन । यो नेपालको समग्र ठेगाना पूर्वाधारको लागि तयार भएको अत्याधुनिक विकास हो । यसले घर, गोठ मात्र नभई सम्पूर्ण जमिनको एक एक भागको ठेगाना तयार गर्न सक्छ । 

घर नम्बर प्लेट तयार गर्दा क्युआर कोड समेत राखिन्छ । घरमा आइपुगेको व्यक्तिले त्यही क्युआर कोडमार्फत् घन्टी समेत बजाउन सक्छ । त्यही क्युआर कोडमार्फत् फोहर संकलनको जानकारी दिने, सर्भे गर्ने, स्थानीय स्तरको सूचना प्रवाह जस्ता काम छिटो र कम लागतमा गर्न सकिन्छ । 

कता हो कोडमा प्रयोग भएका शब्दहरूको मतलब के हो ? ती शब्दहरू कसरी प्रयोग गरिएको छ ?

ठेगाना भनेको सबैले बोल्न र बुझ्न सक्ने हुनुपर्छ भन्ने मान्यतामा सामान्य नेपाली नागरिकले बोल्ने नेपाली भाषाका एकदमै सजिला शब्द र अंक मिलाएर यो नयाँ प्रकारको ठेगाना कोड बनाइएको छ । यसमा जम्मा ४०० नेपाली शब्द प्रयोग भएका छन् । यो ठेगाना प्रणालीमा ४ वटा भाग छन्– पहिलो, सेक्टर कोड नम्बरमा (१ देखि २८ वटा), दोस्रो सब–सेक्टर कोड शब्दमा । यसमा ४०० वटा शब्दले आआफ्ना सब सेक्टर जनाउँछन् । तेस्रो, लोकल कोड यसमा पनि सब–सेक्टरका शब्द ४०० वटा रहन्छन् र अन्तिम अर्थात् चौथोमा ४ वटा अंकको घर नम्बर रहन्छन् । हामीले ठेगाना सेयर गर्नुपर्दा अन्तिमको ४ वटा घर नम्बरको अंक र लोकल कोडको शब्द सेयर गरे पुग्छ ।

एउटा ठेगाना कति आकारको हुन्छ ?

३.५ मिटर लम्बाइ तथा २.८ मिटर चौडाइसम्मको सानो आकारमा ‘कता हो’ प्रणालीमार्फत् एउटा ठेगाना बनाउन सकिन्छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved