पूर्वसचिव भिम उपाध्यायले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्व सूचनाका रुपमा सुझाव सल्लाह दिने गरेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत जब प्रधानमन्त्री फस्दै गएको अनुभूति हुन्थ्यो र त्यतिबेला हितैषी नागरिकका हैसियतले आफूले सल्लाह दिने गरेको उल्लेख गरेका छन्
‘प्रम ओली जी, मैले जब जब तपाई नराम्ररी फस्दै गएको, कुनै अनिष्ट हुन थालेको आभाष पाउथें, तब तब एउटा हितैषी नागरिकका हैसियतले मेरो प्रमलाई पूर्व सूचनाका रूपमा फोकटमा अमूल्य सल्लाह दिईरहेको हुन्छु’ उनले लेखेका छन्, ‘कसैको सल्लाह न हो, मान्नु नमान्नु सल्लाहकारको चाँसोको विषय हैन, सल्लाह दियो, कुरा सकियो ।’
केपी ओली पहिलो पटक प्रधानमन्त्री बन्दा आफूले गर्ने गरेको प्रशंसाको विषय उल्लेख गर्दै उनले लेखेका छन्, ‘तपाईको पहिलो कार्यकालको सायद म नम्बर एक प्रशंसक थिएँ । हुन त तपाईबाट मैले आजसम्म कुनै लाभ वा फेभर लिन जरूरत परेको छैन, मैले मागेको पनि छैन र हजारौं योग्यहरूको माझमा बस्ने तपाईको स्मरणमा म पर्दा पनि पर्दिन । यसमा म खशी नै छु ।’
के के सल्लाह दिएका थिए त उपाध्यायले ?
उनले सामाजिक सञ्जालमा लेखे अनुसार गोकुल बाँस्कोटाको विषयमा पनि उनले पहिले नै प्रधानमन्त्रीलाई सचेत गराएका थिए । त्यसपछि अहिले चर्चित बनेको स्वास्थ्य सामग्री खरिद प्रकरणमा स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिवको विषयमा पनि उनले आफूले प्रधानमन्त्रीलाई केही हप्ता पहिले नै सुझाव दिएको उल्लखे गरेका छन् ।’
‘मैले तपाईको दोश्रो कार्यकालको ६ महिना हुँदामै गोकुलले तपाईको इमेज धूलोमा मिलाउने छ, उसलाई हटाएर मृदुभाषी स्मार्ट संचार मन्त्री ल्याईहाल्नुस् भनेको थिएँ, मान्नु भएन र पहिलो कार्यकालमा कमाएको चुचुरोको ५० प्रतिशत ईमेज ड्यामेज गर्नुभयो’ उनले लेखेका छन्, ‘दुई हप्ता अघि मात्र स्वास्थ्यमा भानुभक्त ढकाल र सचिव यादव कोईरालाले काम गर्न सक्दैनन् फेरिहाल्नोस् भनेको थिएँ, त्यो पनि गर्नु भएन र तपाईको थप २५ प्रतिशत ईमेज खलास् हुन पुग्यो ।’