सरकारले अब घरमै ल्याईदिन्छ १० प्रतिशत छुटमा खाद्यान्न, अनलाइनबाटै यसरी गर्नुस् अर्डर

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 09, 2020 | 12:54:09 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बुधबारबाट अनलाइनमार्फत खाद्यान्नको अर्डर लिन सुरु गरेको छ । नेपालको इतिहासमै सरकारी कम्पनीले ‘ई–कमर्श’ सुरु गरेको पहिलोपटक हो । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सामग्री अनलाइनमार्फत अर्डर लिने र उपभोक्ताको घरसम्मै डेलिभरी गर्ने काम सुरुगरेसँगै सर्वसाधारण र उपभोक्तामा यसबारे चासो बढेको छ । 

बुधबारबाट बजारमा डेलिभरी सुरु गरेपछि यसको औपचारिक शुभारम्भ भएको छ । बुधबार पनि कम्पनीका कर्मचारीहरु अन्यौलमै रहेका बखत वाणिज्य मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले नै अचानक सामान अर्डर गरेर काम गर्न बाध्यकारी अवस्थाको सिर्जना गरिदिए । 

ग्राहकले अनलाइनमार्फत गरेको अर्डर लिने, त्यसलाई स्वीकृत गर्नेलगायत प्राविधिक जानकारी लिन कर्मचारीहरु मंगलबारदेखि तालिममा थिए । तर बुधबार अचानक सचिवले नै अर्डर गरेपछि काम गनैपर्ने अवस्था आएको कम्पनीका अञ्चल प्रबन्धक रणबहादुर बुढाथोकी बताउँछन् । 

बुधबार आएका २ वटा अर्डर (एउटा सचिवको सिंहदरबार भित्र र अर्को कोटेश्वर)मा सामान डेलिभरी गरेपछि कर्मचारीहरु सकिने रहेछ भन्ने आत्मविश्वासका साथ बिहिबार उपस्थित भएको बुढाथोकीको भनाई छ । 

के के सामान पाईन्छ ?

कम्पनीमा हाल फापर, चामल, दाल र कर्णालीको सिमी उपलब्ध छ । सोना मंसुली चामल, जापनीज चामल र कर्णालीको अर्गानिक सिमीको डेलिभरी गर्न सुरु गरेको कम्पनीले १० प्रतिशत सहुलियतमा नै सामान अर्डरकर्ताको घरसम्म पुर्याउने गरेको छ । 

जापानीज चामल एक किलोग्रामको ६३ रुपैयाँमा १० प्रतिशत छुट र कर्णालीको सिमी १३० रुपैयाँ किलोमा १० प्रतिशत छुट दिने गरिएको कम्पनीका अञ्चल प्रबन्धक रणबहादुर बुढाथोकी बताउँछन् । उनका अनुसार दाल, जिरा मसिनो चामल र रहरको दाल थप गर्ने प्रक्रिया सुरु गरेको छ । यसका लागि टेण्डर आह्वान भईसकेको उनले बताएका छन् । 

कति मूल्य र कहाँ कहाँ छ सेवा ? 

कम्पनीका अनुसार हाल प्रचलित बजार भाउभन्दा केही सस्तोमा नै सामानको अर्डर स्वीकृत गरी लैजाने काम भईरहेको छ । चामल १ हजार ८९० र कर्णालीको सिमी १२० रुपैयाँ (छुटसहित)मा बिक्रि सुरु गरिएको हो । यो मूल्य प्रचलित बजार भाउभन्दा १० प्रतिशत सस्तो रहेको कम्पनीले दाबी गरेको छ । हाललाई होम डेलिभरीको कुनै शुल्क बिना नै सेवा दिईने र बजार र ब्यापारको विस्तार हुँदै गएपछि केही शुल्क लिने गरी तयारी भईरहेको बुढाथोकीको भनाई छ । 

हाल यो सेवा चक्रपथ भित्र मात्रै सिमित छ । कोरोना भाइरसको त्रासपूर्ण अवस्था अन्त्य भएपछि सेवा क्षेत्रसमेत विस्तार गरिने योजना कम्पनीको छ । यसले कम्पनीलाई नाफामा लैजान सहयोग पुग्ने अपैक्षा पनि वाणिज्य मन्त्रालयको छ । 

अर्डर कसरी गर्ने ?

कम्पनीले सामान अर्डर गर्न एउटा एप्स खडा गरेको छ । कम्पनीले बनाएको नेपाल फुड डट जीओभी डट एनपी नामक वेबसाइटमा गएर उपभोक्ताले अर्डर गरेको सूची कम्पनीको एप्समा देखिनेछ । फोनबाट भने अर्डर नलिईने कम्पनीले जनाएको छ । 

कम्पनीले सामान्यतया अर्डर आएको २ दिनभित्र सामान डेलिभरी गर्ने भनेको छ । 

पैसा कसरी तिर्ने ?

सरकारी कम्पनीले अर्डर लिने र सामान पुर्याउने काम सुरु गरेपछि आज बिहिबारबाट कम्पनीको एप्समा अर्डर आउने क्रम बढ्ने विश्वास लिईएको छ । कम्तीमा २ हजार रुपैयाँको अर्डर आएपछि अर्डरकर्ताले मगाएको सामान बोकेर कम्पनीको भ्यान सम्बन्धित क्षेत्रमा पुग्नेछ । सुरुमा नजिकैको अर्डर पुर्याउने नीति अबलम्बन गरेको कम्पनीले अर्डर लिँदै, डेलिभरी गर्दै र सिक्दै जाने मनशायका साथ काम सुरु गरेको अञ्चल प्रबन्धक रणबहादुर बुढाथोकीको भनाई छ । 

उनका अनुसार सामान पुगिसकेपछि उपभोक्ता (अर्डरकर्ता)ले क्यास अथाव अनलाइन दुबै माध्यमबाट पैसा तिर्न सक्नेछन् । अनलाइनबाट हाल इ–सेवा र खल्तीबाट पैसा तिर्न सकिने व्यवस्था मिलाईएको कम्पनीले जनाएको छ । 

उपभोक्ताले गुनासो गरे केही व्यवस्था छैन 

‘हामी सिक्दै काम गरिरहेका छौँ, कुनै एक्स्पर्ट होईनौँ’ अञ्चल प्रवन्धक बुढाथोकी भन्छन्, ‘काम गर्दै जाँदा अभ्यासबाट सिकिन्छ भनेर सुरु गरेका हौँ ।’ वाणिज्य मन्त्रालयका सचिव अर्यालले पनि ‘रिङ रोड’ बाहिर पनि सेवा विस्तार गर्न सक्नेगरी काम गर्न निर्देशन दिएका छन् । 

तर अर्डर गरेर पुर्याइएको सामानमा उपभोक्ताले गुनासो गरेको खण्डमा भने हाल कुनै व्यवस्था छैन । सरकारले खरिद गरेको जापानिज चामल र कम्पनी आफैँले कर्णालीबाट टेण्डरमार्फत ल्याएको सिमी उपभोक्तामाझ पुर्याउने लक्ष्य लिएर सुरु भएको ‘ई–कमर्श’मा यदि उपभोक्ताले गुनासो गरिहाले भने सामान फिर्ता लिने वा सोही मूल्य बराबरको नयाँ सामान दिने सुविधा भने छैन । 

‘अहिले नै यस्तो सुविधा छैन’ बुढाथोकी भन्छन्, ‘हामीले परीक्षण गरेर खान योग्य र गुणस्तरीय सामान मात्रै ल्याउने र तिनै सामान डेलिभरी गर्ने भएकाले गुनासो आउँछ जस्तो लाग्दैन ।’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved