'जुत्ता चप्पलमा आत्मनिर्भर बन्न नेपाली उद्योगीलाई नै छाला बेच्नुपर्छ' अध्यक्ष फुयाँलको विचार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2020 | 05:01:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आत्मनिर्भर उन्मुख उद्योगको सुचिमा जुत्ता चप्पल र छाला उद्योगलाई पनि समावेश गरेको छ । चालु आर्थिक वर्ष २०७७/०७८ को सरकारको नीति तथा कार्यक्रम मार्फत नै आत्मनिर्भर उन्मुख उद्योगलाई आधारभूत संरक्षण दिईने बताएसँगै उद्योग मन्त्रालयले आत्मनिर्भर उन्मुख उद्योगको सूची नै तयार गरेर अध्ययन गर्न सुरु गरेको हो ।

‘फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसन अफ नेपाल’  ले जुत्ता चप्पलमा मूलुक परनिर्भर हुन नपर्ने दाबी गर्दै सरकारी कदमको स्वागत नै गरेको छ ।२० अर्ब माथिको लगानी रहेको नेपाली जुत्ता चप्पल उद्योगमा बैंकहरुले ५ अर्ब बराबरको लगानी गरेका छन् । ५० हजारलाई रोजगारी दिएका यी उद्योग लकडाउनका कारण बन्द छन्। 

६ करोड जोडी जुत्ता चप्पल उत्पादन

नेपाली बजारमा वार्षिक ९ देखि १० करोड जोडी जुत्ताको माग हुँदै आएको छ । मागमध्ये ६ करोड जोडी नेपाली उद्योगहरुले नै पूरा गर्दै आएका छन् भने बाँकी विदेशबाट आयात गरेर पूरा गर्नुपर्ने बाध्यता छ । आर्थिक वर्ष २०७५/०७६ मा १ करोड जोडी नेपाली जुत्ता चप्पल निर्यात पनि भएको थियो । यो समेतलाई हेर्दा ९ करोड जोडीको माग रहेकोमा ६ करोड जोडी जुत्ताको माग आन्तरिक उद्योगहरुले नै धानिरहेका छन्। तर गत आर्थिक वर्ष २०७६/०७७ मा भने २४ लाख जोडी जुत्ता निर्यात भएको छ ।

‘एक जना मान्छेले वर्षमा ३ जोडी जुत्ता चप्पल लगाउँछ’ फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसन नेपालका अध्यक्ष कृष्ण कुमार फुयाँलले भने, ‘महिलाहरुको संख्या बढी छ, फेशन र शहरीया महिलाले विभिन्न डिजाइनका जुत्ता चप्पल लगाउने भएकाले नेपाली बजारमा जुत्ता चप्पलको माग अत्यन्तै धेरै छ ।’ 

नेपालमा हाल साना, मझौला र ठूला गरी १ हजार ५ सयको संख्यामा फुटवेयर उद्योगहरु छन् । यी उद्योगले बजार मागको ६० देखि ६५ प्रतिशत हिस्सा ओगटेका छन् । 

आत्मनिर्भर कसरी ?

सरकारले आत्मनिर्भर उन्मुख उत्पादन एवम् उद्योगको सूचीमा फुटवेयर उद्योगलाई पनि समावेश गरेपछि आत्मनिर्भर बनाउन के गर्नुपर्छ र क–कसको दायित्व के के हुने भन्ने बहस सुरु भएको छ । उद्योगीहरु सरकारले कच्चा पदार्थको उपलब्धतामा सहजिकरण गरिदिए केही वर्षमा नै स्वदेशी उद्योगले आन्तरिक बजारको माग धान्ने दाबी गर्छन् ।

‘हाम्रो मुख्य कच्चा पदार्थ छाला हो, काउ लेदर (गाइ गोरुको छाला) विदेशबाट आयात गरिन्छ’ अध्यक्ष फुयाँलले भने, ‘भैसीको छाला भने हामीले स्वदेशी नै प्रयोग गर्छौ, पीभिसी र पिभु सोलमा भने नेपाल आत्मनिर्भर भईसकेको छ । रवर सोल र इभा सोल बनाउने उद्योगहरु पनि खुल्ने क्रम सुरु भएको छ ।’ 

खसी, बाख्रा, भेडा र च्याङ्ग्राको छाला व्यवस्थित रुपमा प्रशोधित गर्ने परिपाटी नभएका कारण छाला अभाव हुने भएकाले खसी, बाख्रा, भेडा र च्याङ्ग्राको छाला प्रशोधन गर्ने पद्धतिको विकास गरे छाला अभाव नहुने उद्योगीको भनाई छ । स्वास्थ्यका दृष्टिकोणले पनि छाला खानु हानिकारक भएकाले त्यसलाई प्रशोधन गरेर व्यवसायिक प्रयोजनमा ल्याउन सके मानव स्वास्थ्यमा पनि असर कम पर्ने र उद्योगको पनि विकास हुने भएकाले सरकारले यसतर्फ सोच्नुपर्ने उद्योगीहरुको भनाई छ । एउटा जुत्ता बनाउन ४५ देखि ५० प्रकारका कच्चा पदार्थ चाहिने भएकाले आवश्यक कच्चा पदार्थ स्वदेशमै उत्पादन हुने प्रवन्ध पनि मिलाउनु पर्ने उनीहरुले बताउँदै आएका छन् । उद्योगीले १ वर्षभित्र ६० प्रतिशत कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्ने लक्ष्य लिएका छन् ।

‘आयातको मामिलामा सरकार कठोर बन्नैपर्छ, स्वदेशी उद्योगलाई आधारभूत संरक्षण दिईनुपर्छ’ संघका अध्यक्ष फुयाँलले भने, ‘आयात सहज रहुन्जेलसम्म मूलुक कुनै पनि बस्तुमा आत्मनिर्भर बन्न सक्दैन ।’

‘उद्योग पूर्ण क्षमतामा चल्नुपर्छ’

नेपाली जुत्ता चप्पल उद्योगहरु आफ्नो पूर्ण क्षमतामा चल्न नसक्दा पनि बाह्य उत्पादनमा भर पर्नु परेको छ । हाल नेपालमा सञ्चालित जुत्ता चप्पल उद्योगहरु विभिन्न कारणले क्षमताको ३० प्रतिशतमा मात्रै चल्दै आएका छन् । 

‘हाम्रा उद्योगहरु ३० प्रतिशत क्षमतामा मात्रै चलिरहेका छन्, पूर्ण क्षमतामा चल्ने वातावरण बन्नुपर्छ’ फुयाँल भन्छन्, ‘हामी पूर्ण क्षमतामा चल्न सक्यौ भने वार्षिक १५ देखि १६ करोड जोडी जुत्ता चप्पल उत्पादन गर्न सक्छौँ ।’ 

अहिले कच्चा पदार्थको अभाव, बजार मागको सिमितता आदिका कारण उद्योग पूर्ण क्षमतामा चल्न नसकेको उनको भनाई छ । ठूला उद्योगहरुले सरकारी कर्मचारी तथा सेना र प्रहरीले लगाउने जुत्तासमेत उत्पादन गर्ने मेशिन ल्याएर राखेको उनले बताए । सरकारको नीति तथा कार्यक्रममा नै नेपाली सेना र नेपाल प्रहरीले जुत्ता तथा पोशाक स्वदेशी नै प्रयोग गर्नुपर्ने भनेका कारण उद्योगीहरु हौसिएका छन् ।

कसको दायित्व के ?

मूलुकलाई आत्मनिर्भर बनाउन सरकार, उद्योगी र उपभोक्ता नै जिम्मेवार बन्नुपर्ने उद्योगीहरु बताउँछन् । मेशिनरी कामभन्दा हातले गर्ने काम नै धेरै हुने भएकाले महिलालाई रोजगार बनाउन सकिने संघको भनाई छ । संघका अनुसार अहिले पनि ३० प्रतिशत श्रमिकहरु महिला नै छन् ।

‘यो त व्यापार घाटा घटाउन योगदान पुर्याउने क्षेत्र हो’ संघका अध्यक्ष फुयाँल भन्छन्, ‘जुत्ता चप्पलमा आत्मनिर्भर बनाउन सरकारले उद्योगहरुलाई आधारभूत संरक्षण दिनुपर्छ, उद्योगीले नेपालीको क्रयशक्ति अनुसार गुणस्तरीय सामान उत्पादन गर्नुपर्छ । उपभोक्तामा पनि स्वदेशी बस्तुको प्रयोग गर्नुपर्छ भन्ने राष्ट्रिय भावनाको विकास हुनु जरुरी छ ।’ 

निर्यातको रेकर्ड छैन 

नेपालबाट भारतसहित युरोपियन र खाडीका देशमा जुत्ता चप्पल प्रशस्तै निर्यात हुने गरेको छ । नेपालीको मुख्य श्रम गन्तव्य खाडीका देश भएका कारण त्यहाँ रहेका नेपालीले आफन्त मार्फत नेपाली जुत्ता चप्पल नै झिकाएर लगाउने गरेका छन् । 

बिक्रि गर्नकै लागि भने भारतमा केही जुत्ता चप्पलन जाने गरेको छ । यो देशमा यति नै जुत्ता चप्पल निर्यात भयो भन्ने यकिन तथ्यांक भने छैन । तर गत आर्थिक वर्ष २३ लाखको हाराहारीमा र अघिल्लो आर्थिक वर्ष १ करोड जोडी नेपाली जुत्ता विदेशी बजारमा पुगेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved