हेटौँडा सिमेन्टका महाप्रवन्धक, जसले यसरी सिध्याउँदैछन् उद्योगको अस्तित्व

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2021 | 12:28:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट ३ आर्थिक वर्षदेखि निरन्तर घाटामा छ । आफूलाई नेपालको नम्बर १ सिमेन्ट उत्पादक कम्पनी भएको दाबी गर्ने हेटौँडा सिमेन्टमा महाप्रवन्धकको रुपमा प्रेम शंकर सिंह गएपछि उद्योगको अधोगति सुरु भएको हो । 

आर्थिक वर्ष २०७४/०७५ मा १ करोड रुपैयाँ घाटामा रहेको उद्योग २०७५/०७६ मा आइपुग्दा ५ करोड रुपैयाँ घाटा ब्यहोर्न बाध्य भयो । गत आर्थिक वर्ष २०७६/०७७ मा १८ करोड रुपैयाँ घाटा देखाईएको छ । विश्वस्त स्रोतले भने घाटा २० करोड रुपैयाँभन्दा बढी भएको तर महाप्रवन्धकले घाटा कम देखाउने नियतले १८ करोडमा झारिएको बताएको छ ।

३ प्रपञ्च

महाप्रवन्धक सिंहले आफूखुशी हुँदै नभएको दस्तावेज लिपिवद्ध गर्न लगाएर घाटा कम देखाउने रणनीति लिएका छन् । स्टक बढी देखाउने, कच्चा पदार्थ धेरै देखाउने र मेशीनरीको भ्यालुएशन आफूखुशी गरेर उनले घाटा कम देखाउने गरेका छन् । 

‘फिजिकल भेरिफिकेशन छैन, जिएम आफैँले गुण नियन्त्रण र आन्तरिक लेखा परीक्षकलाई राखेर एउटा समिति बनाउँछन्, त्यही समितिले जिएमले भने अनुसार नै रिपोर्ट निकाल्छ र स्टक बढी देखाइन्छ’ स्रोतले भन्यो, ‘वर्षौ पूराना मेशिनको भ्यालुएसन मूल्य ४ वर्षदेखि एउटै छ ।’

हेटौँडा सिमेन्ट उद्योगको मकवानपूरको भैसै, धादिङको जोगिामारा, मकवानपूरकै ओखरे र मझुवामा खानी छन् । यी खानीमा प्रयोगका लागि राखिएका मेशिनरी औजारको मूल्य ४ वर्षदेखि यथावत राखेर घाटा कम देखाउने तर, क्षमता अनुसार उत्पादन नगर्ने महाप्रवन्धकको नियत नै देखिएको छ ।

एक बोरा सिमेन्टको लागत ९ सय

महाप्रवन्धक सिंहकै आदेशमा हेटौँडा सिमेन्टको एक बोराको उत्पादन लागत ९ सय रुपैयाँ देखाईएको छ । जबकी, बजारमा नीजि क्षेत्रका सिमेन्ट उद्योगले उत्पादन लागत अधिकतम ५७५ रुपैयाँसम्म हुने बताउँदै आएका छन् । उद्योग विभागले केही समय अगाडी गरेको अध्ययनले पनि एक बोरा ओपीसी सिमेन्टको उत्पादन लागत ५५० रुपैयाँ हुने देखाएको थियो । शिवम् सिमेन्टको भने उत्पादन लागत प्रतिबोरा ६ सय रुपैयाँ छ । 

तर, सरकारी उद्योगले नै प्रतिबोरा ९ सय रुपैयाँ लागत देखाएपछि उद्योग विभाग नै आश्चर्यमा परेको छ । यसको कारणमा भने महाप्रवन्धक सिंह कर्मचारीले काम नगर्दा यस्तो हुने गरेको बताउँदै आएका छन् । 

क्षमताको २९ प्रतिशत मात्रै उत्पादन

मूल्यका कारण बजारमा प्रतिस्पर्धा गर्न नसकिरहेको हेटौँडा सिमेन्टको उत्पादन क्षमता पनि महाप्रवन्धक सिंहले कमजोर बनाउँदै लगेका छन् । गत आर्थिक वर्ष २०७६/०७७ मा उद्योग जम्मा २९ प्रतिशत मात्रै चलेको छ । कोरोनाका कारण देखाउँदै उद्योग नचलेको देखाईएपछि प्रत्येक दिन ७५० मेट्रिक टन सिमेन्ट उत्पादनको क्षमता भएको उद्योगले एक दिनमा २१७ टन मात्रै उत्पादन गर्न सक्यो ।

तर, अहिले उद्योग मन्त्री, उद्योग सचिव लगायतलाई भेटेर महाप्रवन्ध सिंह बजारमा नीजि क्षेत्रबाट चलिरहेका सिमेन्ट उद्योगको क्षमता अनुसार प्रत्येक दिन ६ हजार मेट्रिक टन बनाउने दौडमा महाप्रवन्धक छन् । 

‘अहिले ७५० मेट्रिक टन त उत्पादन गर्न नसकिरहेको उद्योगले एकैदिनमा ६ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्न सक्छ भन्ने आधार के ?’ स्रोतले प्रश्न गर्यो, ‘अहिले पूर्ण क्षमतामा चलाउन के ले रोक्यो ? क्षमता बढाएको देखेर पैसा कमाउने बाहेक महाप्रवन्धकको अरु कुनै स्वार्थ छैन ।’

नेकपा (ओली समूह) का नेता महेश बस्नेत उद्योगमन्त्री भएका बेला सिंहलाई हेटौँडा सिमेन्टमा लगिएको थियो । उनी यसअघि पहिलो कार्यकाल महाप्रवन्धकको रुपमा जागिर सकेर यम कुमारी खतिवडा उद्योग मन्त्रालयमा सचिव रहेको मौका छोप्दै पुनः अर्को कार्यकालको लागि महाप्रवन्धक बने । अहिले दोस्रो कार्यकालको दोस्रो वर्षमा उनी महाप्रवन्धकको भूमीका छन् ।

स्रोतले भने अब एक वर्ष बाँकी कार्यकालको अवधिमा सिंहले उद्योगको अस्तित्व नै गुमाउने हुन् कि भन्ने खतरा पैदा भएको बताएको छ । राष्ट्रिय सतर्कता केन्द्रले गत वर्षको माघमा गरेको विस्तृत अध्ययनले पनि उद्योगका महाप्रवन्धक सिंहले करारमा कर्मचारी भर्ना गर्दा र सिमेन्टलाई चाहिने मेशिन खरिद गर्ने नाममा ठूलो आर्थिक अनियमितता गरेको देखाएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved