काठमाडौँबाट राजधानी सार्ने विषय जनयुद्ध ताका निकै चर्चित थियो । तर, २०६२/०६३ को जनआन्दोलनपछि यो विषयले खासै चर्चा पाउन छोडेको छ । पहिलो संविधानसभा निर्वाचन २०६४ पछि त उच्च तहका राजनीतिक नेतृत्वहरु यसबारे खुलेर बोलेको सुनिन छोडेको छ ।
यही बीचमा मंगलबार एकाएक पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको संघीय राजधानी ‘काठमाडौँ उपत्यका भन्दा बाहिर सारौँ’ भन्ने अनौपचारिक प्रस्तावको वीजारोपण गरेका छन् । उनको भनाईले राष्ट्रिय स्वरुप लिन्छ या लिँदैन त्यो अलग कुरा भएपनि काठमाडौँमा बढ्दो प्रदूषणका कारण राजधानी सार्नै पर्ने अवस्था आईसकेको सामाजिक अभियान्ताहरु बताउँछन् ।
एकताका नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले काठमाडौँबाट राजधानी दाङ सार्न उपर्युक्त हुने बताएका थिए । त्यसपछि कसैले यसबारेमा बोलेका छन् भने जनयुद्धका समयमा प्रचण्ड र हाल आएर बाबुराम नै हुन् । अन्य नेताले काठमाडौँका नेवार समुदायसँग लड्न नसक्ने भएकाले यसबारे बोल्ने आँट गर्न पनि नगर्ने कतिपयको विश्लेषण छ ।
किन सार्नपर्छ राजधानी ?
विकेन्द्रीकरणको सिद्धान्त अनुसार अहिले नेपालमा ७ प्रदेशका आ–आफ्ना राजधानी छन् । तर, शहरको रुपमा स्थापित भईसकेका ठाउँलाई राजधानी बनाइँदा अन्य अविकसित ठाउँहरु पुनः पछाडी नै पर्ने निश्चित प्रायः छ ।
काठमाडौँ दिनप्रतिदिन मानव बस्तीका लागि अयोग्य शहरको रुपमा रुपान्तरण हुँदैछ । पौष २० गते सोमबार र २१ गते मंगलबार विश्वका ५० शहरमध्ये काठमाडौँ प्रदूषित शहरको पहिलो नम्बरमा उक्लियो । यसपछि यहाँको साँघुरो भुगोल र उच्च जनसंख्याका कारण प्रदूषण बढिरहेको भन्दै विज्ञले सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गरे ।
सरकारी अधिकारीहरुले सर्वसाधारणलाई सुरक्षित रहन अनुरोध गरेपनि पर्यावरण क्षेत्रका विज्ञले भने अबको केही वर्ष भित्रै काठमाडौँ मानिस बस्नै नसक्ने शहर बन्ने चिन्ता व्यक्त गरे । उनीहरुले मूलुक संघियतामा गईसकेको भएपनि काठमाडौँ केन्द्रित रोजगारीका अवसरहरु अन्यत्र नहुँदा देशैभरका मानिसहरु काठमाडौँ केन्द्रित हुन बाध्य भएकाले हरेक ५०/५० वर्षमा राजधानी सार्नुपर्ने सुझाव पनि दिएका छन् ।
‘राजधानी सार्नुको विकल्प छैन’
वातावरण संरक्षण अभियन्ता चन्द्रबहादुर कार्की संसारभर प्रदूषणको स्तरलाई लिएर लगातार चिन्ता व्यक्त भईरहेपनि प्रदूषण नियन्त्रण गर्न कुनै ठोस कदम नउठाइनु दुःखद भएको बताउँछन् । अभियान्ता मोहन लामा रुम्बाले फेसबुकमा लामो स्टाटस लेख्दै राजधानी पायक पर्ने स्थानमा सारिनु नै उत्तम विकल्प भएको उल्लेख गरेका छन् ।
‘काठमाडौँ दिनहुुँ दिन निस्सासिएर मर्दैछ, यहाँको जल जमीन जंगल हावापानी मानव मानवीय सम्पदा इतिहास सभ्यता सबै कंक्रीटको जंगलमा रुपान्तरण हुँदैछ’ रुम्बाले लेखेका छन्, ‘केही बर्ष भित्र यो मानवको लागि बस्न अयोग्य मृत शहरको रुपमा परिणत हुने संघारमा छ तर पनि कोही बोल्दैन !’
‘मूलुकको नीतिनिर्माता बुद्धिजीवी, पत्रकार, साहित्यकार, योजनाकार सबै दैनिकी घण्टौं जाममा परेकै छ, पानीको समस्या तिनलाई पनि परेकै छ, प्रदुषणको प्रकोप तिनले पनि झेल्दै छ, १५ मिनेटमा पुग्नुपर्ने ठाउँमा एक घण्टा अगाडि हिंड्ने गर्नु परेकै छ तर पनि दिनहुुँ झेलिरहेको समस्याको बारेमा न कोही बोल्छ न कोही लेख्छ न कुनै चिन्ता गर्छ आखिर किन होला ?’ रुम्बाले प्रश्न गरेका छन् ।
‘उपत्यका जोगाउने हो भने यहाँको बागमती सभ्यता जोगाउने हो भने राजधानी सार्नु बाहेक मैले दीर्घकालीन समाधानको बाटो देखेको छैन’ रुम्बा भन्छन्, ‘वर्षेनी अर्काको घरको भित्ता फोर्दै चार हात फराकिलो बनाउँदै उपत्यकावासीलाई सुकुम्बासी तुल्याउँदै कहिले सम्म चल्ला र ?’