किन मासिँदै गए गौँथली र परेवा ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 25, 2021 | 11:17:06 AM मा प्रकाशित

laxmi  sunrise bank

गाउँ घरमा जल, जमिन र जंगल जस्तै आकर्षणका पाटामध्येमा चराचुरुङ्गी पनि पर्छन् । तर, अहिले गाउँमा गौँथली र परेवा भेटिन छोडेको छ । एक दशक अगाडीसम्म घरैपिच्छे हुने परेवा अहिले काठमाडौँमा मात्रै देख्न पाइन्छ । राजधानीमा भने परेवा पालिएका होइनन् । छोडिएकाहरुको बथान बनेको मात्रै हो ।

तर, गाउँमा भने घरमा आफैँ गुड बनाएर बस्ने गौँथली र घरका कुना कुनामा गञ्ज (घार) बनाएर राखिने परेवा करिब करिब मासिएका छन् । सहकालका प्रतीक मानिने परेवा र गौँथली देख्न छोडिएपछि वातावरण अध्येताहरु चिन्तित बनेका छन् ।

किन मासिए ?

मानबस्तीको बाक्लो विस्तार, सिमेन्ट प्रयोग गरेर बनाईने पक्की घर, शहरी रहनसनको ग्रामिण भेगमा प्रवेश, चरन क्षेत्रको अभाव जस्ता कारणले गौँथली र परेवाले बासस्थान फेरेको पर्यावरण अध्येता चन्द्रमणी सापकोटाको अनुभव छ । 

‘परेवा र गौँथली भनेका घर घरमा बस्ने चराहरु हुन्, तर अहिले बनेका घरहरु  परेवा र गौँथलीमैत्री छैनन्’ उनी भन्छन्, ‘बासस्थान र चरणक्षेत्र मासिँदै जानु नै गौँथली र परेवा लोप हुनुको प्रमुख कारण हो ।’

गौँथली र परेवाको महत्व के ?

धार्मिक र परम्परागत मान्यताअनुसार गौँथलीलाई मार्नु त के छुन पनि हुँदैन भन्ने गरिन्छ । परेवा शान्तिको प्रतीक मानिन्छ । सारांशमा भन्ने हो भने परेवा र गौँथली सहकालका प्रतीक मानिन्छन् । कुनै समयमा चिठ्ठी पत्र आदानप्रदानमा समेत परेवाको प्रयोग गरिन्थ्यो भन्ने इतिहास छ ।

गौँथलीले गुँड लगाएको घर र परेवा पालिएको घरमा अनिकाल लाग्दैन, अन्न बेसाउनु (किन्नु) पर्दैन भन्ने मान्यता थियो । तर, अहिलेको पुस्ता यी कुरा स्वीकार गर्न तयार छैन । बरु धेरै पैसा आउने र विदेशीहरुले औषधि बनाउन लैजाने भन्दै गौँथलीको शिकार पनि हुन थालेको छ । यसबारे वातावरण संरक्षण अभियान्ताहरु चिन्तित छन् । 

गौँथली जोगाउन अभियान

सरकारी स्तरबाट कुनै पहल नभएपनि वातावरण संरक्षण अभियान्ताहरुको पहल र सुझावका आधारमा केही ठाउँमा गौँथली जोगाउने अभियान सुरु भएको छ । प्राकृतिक चिकित्सालय मानिने म्याग्दीको बेनी नगरपालिका–४ तातोपानी कुण्ड क्षेत्रमा गौँथली जोगाउने अभियान थालिएको हो । 

कुण्डमा स्नान गर्न पुग्ने धर्मावलम्बी तथा पर्यटकहरु गौँथलीप्रति आर्कषित भएको देखेपछि तातोपानी कुण्ड व्यवस्थापन समिति र सो क्षेत्रका होटल व्यवसायीहरुले ‘गौँथली जोगाऊँ’ अभियान सुरु गरेका हुन् । मानवीय क्रियाकलापकै कारण लोप हुने अवस्थामा पुगेको गौँथलीलाई संरक्षणका लागि अहिले घरघरमा किरा फट्याङ्ग्रा आदि मार्न विषादी प्रयोग गर्न छोडिएको छ । 

घरका दलिन, दलानको माथि पट्टि सुरक्षित ठाउँ, मूल ढोकाको अगाडी आकर्षक गुँड बनाएर बस्ने गौँथलीको ‘चिरबिर चिरबिर’ र घरका कुनामा गुँड बनाएर राखिने परेवाको ‘माकुरकुर माकुरकुर’ इतिहास बन्ने खतरा बढ्दै गएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved