‘नेकपा विभाजनले बढायो रक्सीको व्यापार’

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 01, 2021 | 12:46:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आएको बिग्रहले नेताहरु देश दौडाहामा निस्किरहेका छन् । यसको प्रत्यक्ष प्रभाव मदिराको खपतमा देखिएको छ । नेपाली काँग्रेस र नेकपाको प्रचण्ड–माधब समूहले दिनहु काठमाडौँ र बाहिरी जिल्लामा आन्दोलन गरिरहेको छ । प्रधानमन्त्री समेत रहेका केपी ओली समूह पनि शक्ति प्रदर्शनमा उत्रिएको छ । माघ २३ गते काठमाडौँमा २ लाख जनता उतार्ने ओली समूहको दाबी छ ।

जनता समाजवादी पार्टी पनि आफ्नै हैसियत अनुसार सडकमा देखिएकै छ । राजनीतिक अस्थिरतासँगै सडक आन्दोलन सुरु भएपछि मदिराको व्यापार भने अप्रत्याशित रुपमा फस्टाएको छ । कोरोना भाइरसका कारण लकडाउन हुँदा मदिरा पसल खोल्न दिईएको थिएन । दशैँ तिहार जस्ता चाडको समयमा पनि खस्किएको मदिराको व्यापार अहिले भने ह्वात्तै बढेको छ । 

मासिक खपत नै ३० लाख ५० हजार लिटर

‘अहिले नेताहरु काठमाडौँ केन्द्रित आन्दोलनमा होमिएका छन्, देशभरीबाट नेता कार्यकर्ता काठमाडौँ आउन थालेका छन्’ त्रिपुरेश्वरका एक मदिरा व्यवसायी भन्छन्, ‘नेता भेट्न कार्यकर्ताहरु काठमाडौँ आउँदा हाम्रो व्यापार धेरै नै फस्टाएको छ । काठमाडौँ बाहिर पनि लकडाउनको तुलनामा अहिले व्यापार राम्रै छ भन्छन् साथीहरु ।’

अघिल्लो महिनाको तुलनामा पछिल्लो एक महिनामा रक्सीको खपत ३ लाख लिटरले बढेको छ । यसअघि लकडाउनपछि काठमाडौँमा एक महिनामा सबैभन्दा धेरै रक्सीको खपत भनेको २७ लाख ५० हजार लिटर थियो । तर, अहिले ३० लाख ५० लिटर खपत हुन थालिसकेको छ । योमध्ये नेपाली मदिराको माग पनि शन्तोषजनक नै रहेको व्यापारी बताउँछन् । तर मदिरा उत्पादकहरु भने विदेशी रक्सीका कारण नेपालमै बन्ने वाइन र वियरको माग नबढेको गुनासो गर्छन् । विदेशी ह्वीस्की रमको बजार माग अत्याधिक बढेको छ ।

‘जाडोमा प्राय सबैले रम मन पराउँछन्, तातोपानी मिसाएर रम खान चाहने धेरै हुन्छन्’ काठमाडौँको बसुन्धरास्थित एक मदिरा व्यापारी भन्छन्, ‘हामीले होटल तथा नाइट क्लबहरुमा सप्लाई गर्छौ, उताबाट आएको जानकारी अनुसार रम र भोड्काको माग धेरै छ । जाडोले गर्दा वियरको माग अलि कम छ ।’

लकडाउन अघि भने काठमाडौँमा मासिक करिब ३४ देखि ३६ लाख लिटर रक्सी खपत हुँदै आएको थियो ।

‘कति चाँडै व्यापार पूरानै अवस्थामा फर्कियो ?’

मदिरा व्यापारीहरु कोरोनापछि यति छिट्टै व्यापारले लय समात्नेमा आशंकित थिए । तर, उनीहरुको आशंकालाई गलत सावित गर्दै व्यापार गत वर्षको माघ महिनाकै अवस्थामा फर्कियो । यसले देशभरका मदिरा व्यवसायीहरु उत्साहित भएका छन् ।

नेपाल मदिरा व्यवसायी महासंघ मुख्य शहरहरुमा राजनीतिक सभा समारोह हुँदा मानिसको चहलपहल बढिरहेको र यसले आफूहरुको व्यापारमा राहत मिलेको बताउँछ । ठूला भनिने शहरमा मानिसको आवतजावत बढ्न थालेपछि व्यापार बढेको तर ग्रामिण क्षेत्रमा भने अझै पनि हालत उस्तै रहेको महासंघको बुझाई छ । 

‘वाइन महँगो हुँदा उपभोक्ता विदेशी रक्सी तिर मोडिए’

स्वदेशी वाईनमा अन्तशुल्क थप गर्दा पारखीहरु विदेशी रक्सी तिर मोडिएको मदिरा उत्पादकहरुको बुझाई छ । अन्तशुल्क बढ्दा वाइन महँगो हुन गएको र ‘महँगो पैसा तिरेपछि त विदेशी रक्सी नै खाउँ’ भन्ने उपभोक्ताको मानसिकताका कारण नेपाली मदिराको माग खासै नबढेको मदिरा उत्पादक संघका अध्यक्ष रवी केसी बताउँछन् । 

नेपालमा वार्षिक १ अर्ब ५० करोडको विदेशी रक्सी आयात हुँदै आएको छ ।

मदिराको व्यापार बढ्नुमा संसद विघटन विरुद्द र बचाउमा सडकमा हुने आन्दोलनलाई कारण देखाईउपनि यसो हुनुमा मूल कारण भनेको नेकपाको बिग्रह नै भएको व्यापारीहरु बताउने गर्छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved