बिजुलीका खम्बामा कोठा र फ्ल्याटको विज्ञापनः मर्कामा भाडावाल, तनावमा घरबेटी !

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 18, 2021 | 12:55:06 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोनाका कारण मूलुक लकडाउन हुँदा मानिसहरुले धमाधम काठमाडौँ छोडे । त्यसपछि करिब दशैँसम्म मानिसहरु काठमाडौँ फर्किने आँट गरेनन् । दशैँ मनाएर काठमाडौँ फर्किएकाहरु पनि आफ्नो पूरानो कोठामा नगई नयाँ कोठा लिएर बस्न थाले । पूरानो कोठामा थोरै सामान र भाडा लाख बढी नाघेपछि सर्वसधारणले पहिलाकै कोठामा बस्ने आँट गर्न सकेनन् । 

‘यो एक किसिमले डेरामा बस्नेहरुको फट्याई नै हो’ काठमाडौँ टोखाका एकजना घर धनीले भने, ‘तर एकतर्फी मात्रै हेरेर पनि भएन, कोठाको भाडा एक दुई महिनाको छुट दिँदा पनि ६० हजारदेखि एक लाख पुगिसकेको छ । काम छैन, बिचरा उसले कसरी तिर्न सकोस् ।’

असोजसम्म काठमाडौँ उपत्यकाका आवासीय र कमर्शीयल भवन खाली हुने क्रम नै चल्यो । तर अहिले व्यवस्थापकहरुले केही घाटा खाएरै भएपनि भाडामा लगाउने काम गरिरहेका छन् । बिजुलीका खम्बा, सडकका वाल जताजतै ‘घर भाडामा छ’, ‘फ्ल्याट खाली छ’, ‘टू–लेट’ ‘सटर खाली छ’ लेखेर विज्ञापन भईरहेको छ । यसरी विज्ञापन गर्नुपर्ने बाध्यता मंसिरदेखि भने क्रमशः घट्दो क्रममा छ ।

अहिले के छ अवस्था ?

लकडाउनका कारण रोजगारी गुमाएकाहरु काठमाडौँ फर्किएपनि आफैँ कोठा लिएर बस्न सक्ने अवस्था नहुँदा धेरैले फ्ल्याट सेयर गरेर बस्न थालेका छन् । जसका कारण अहिलेसम्म पनि एउटै परिवारले एउटा फ्यालट वा २ देखि ३ वटासम्म कोठा लिने आँट गर्न नसक्दा कोठा वा फ्ल्याटको माग कम नै छ ।

नेपाल रियलस्टेट अर्गनाइजेशनका महासचिवसमेत रहेका प्रोपर्टी २४७ का सञ्चालक विनोद सुवेदी अहिले बिजुलीका खम्बा र वालहरुमा कोठा भाडा, फ्याट खाली, सटर खाली जस्ता विज्ञापन देखिनुमा रियलस्टेट व्यवसायीकै कमजोरी भएको स्वीकार गर्छन् । घर धनीले नयाँ डेरावाल पाउन नसकिरहेको अवस्थामा ‘प्रोफेशनल’ भनिएका एजेन्सीहरुले आवश्यकता पूरा गरिदिन नसक्दा उनीहरुले यसरी विज्ञापन गर्नुपरेको उनको भनाई छ ।

‘अहिले हामीले जे जति इफोर्ट लगाएर काम गरिरहेका छौँ, यो पर्याप्त रहेनछ भन्ने हिसाबले बुझ्नुपर्छ’ उनी भन्छन्, ‘हामीले प्रोफेशनालिजम् बढाउन एकदम जरुरी देखियो, यसका लागि गभरमेन्टले पनि सपोर्ट गर्नुपर्छ ।’

खाली कोठा वा फ्ल्याटका बिक्रि नभएपछि वा पहिला बसेकाहरुले छोडेर हिडेपछि अहिले घरधनीहरुसँग बार्गेनिङ गरेर सस्तो दरमा भाडामा लिनेहरु बढेको कतिपयको बुझाई छ ।

इन्क्वाईरी बढ्या छ

अहिले घर धनीहरु पनि आफ्नो खाली कोठा, फ्ल्याट, सटर भाडामा लगाईदिन भन्दै एजेन्सीहरुकोमा पुग्ने क्रम बढेको छ । मुख्य बजार, मुख्य सडक र सुविधायुक्त लोकेशनका घर धनीहरु पहिला आफ्नो कोठा भाडामा लगाइदिनुपर्यो भन्दै खासै आउँनथे । तर अहिले त्यस्ता लोकेशनका मानिसहरु पनि आउने गरेको सुवेदीको अनुभव छ ।

‘रियलस्टेट कारोबार बढेको छ’ उनी भन्छन्, ‘ठूला ठूला र महँगा कमर्शियल प्रपोर्टीहरु पनि अहिले आइरहेका छन् ।’

बाटो बाटोमा हुने विभिन्न खाले विज्ञापनले डेरामा बस्नेहरुलाई लोभ्याएको छ । त्यही लोभमा उनीहरु ठगिन वा फस्न पनि सक्नेतर्फ कसैले ध्यान नदिनु दुःखद भएको डेरावाल सरोकार समाजका पदाधिकारीहरु नै बताउँछन् । त्यसो त रियलस्टेट व्यवसायलाई व्यवस्थित बनाउनुपर्छ भनेर सरोकारवालासँग छलफल र बहसमा भने उनीहरुले भाग लिएको देखिँदैन ।

घरधनी पनि तनावमा 

लकडाउनका कारण भाडामा बसेका व्यवसायीहरु सटर छोडेर हिडेपछि घरधनी भने तनावमा छन् । विशेषगरी महँगा व्यापारिक एरियका घरधनीहरु यतिबेला विचल्लिमा छन् । ठमेल जस्ता पर्यटकीय शहरका घरधनीले तत्काल भनेजति घरभाडा उठाउन नसक्ने भएपछि कतिपयले घर नै बिक्रिका लागि राखेका छन् । अहिले घरभाडाको दर औसतमा २० प्रतिशतको हाराहारीमा घटेको छ । 

चैत वा बैशाखमा घर गएकामध्ये केही मात्रामा साउन र भदौ महिनामा मानिसहरु काठमाडौँ नफर्किएका होइनन् । यस वर्षको दशैँ कार्तिक महिनामा परेकाले भदौ र असोजमा केही काम गर्ने र दशैँका लागि केही पैसा लिएर फर्किने मनशायले काठमाडौँ आएकाहरुलाई घरबेटीले ‘कोरोना ल्याएको हुनसक्छ’ भन्दै बस्न नदिएपछि त्यसको प्रभाव अहिलेसम्म देखिँदै आएको रियलस्टेट व्यवसायीहरु नै स्वीकार गर्छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved