सुन तोलाको ७० देखि ७५ हजारसम्म झर्न सक्छ !

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 06, 2021 | 12:40:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली बजारमा सुन चाँदीको भाउको ओरालो यात्रा सुरु भएको छ । केही दिनदेखि निरन्तर रुपमा घट्न थालेको सुनको भाउ अहिले झण्डै १० महिना अगाडीको हाराहारीमा आईपुगेको छ ।

गत वर्षको आजकै दिन अर्थात् फागुन २२ गते नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ८० हजार ७ सय रुपैयाँ थियो । आज ८५ हजार ६ सय रुपैयाँ छ । यो हिसाबमा हेर्दा गत वर्षको तुलनामा तोलामा ४ हजार ९ सय रुपैयाँ मात्रै सुनको भाउ महँगिएको देखिन्छ ।

तर, सुनको भाउ यति महँगो हुनु भनेको नेपालीको क्रयशक्ति भन्दा धेरै बाहिर भएको सुनचाँदी व्यवसायीहरु नै बताउँछन् ।

कति घट्ला ?

कोरोनाका कारण विश्व बजारमा मानिसहरु सेयर बजारमा मात्रै लगानी गर्न आकर्षित भएका थिए । तर, अहिले कोरोनाको खोप लगाउने अभियान नै विश्वभरी सुरु भएकाले मानिसहरु सेयर बजार बाहेकका लगानीका क्षेत्रमा लगानी गर्न थालिसकेकाले सुनको भाउ विश्व बजारमा नै ओरालो लाग्न सुरु भएको छ । 

आजको मूल्य अनुसार अन्तराष्ट्रिय बजारमा सुनको भाउ १७ सय १ अमेरिकी डलर प्रति औँसमा कारोबार भईरहेको छ । यो मूल्य घट्दो क्रममा छ । यसले नेपाली बजारमा पनि स्वतः प्रभाव पार्ने भएकाले नेपालमा पनि सुनको भाउ अझै घट्ने अनुमान गरिएको छ । 

विश्व बजारमा १६ सय डलर प्रति औँससम्म सुनको भाउ झर्ने देखिएकाले नेपाली बजारमा ७० देखि ७५ हजार रुपैयाँ प्रतितोलासम्म सुनको भाउ ओरालो लाग्न सक्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारी नै बताउँछन् । 

घट्नुको कारण के ?

सेयर बजारबाट नाफा कमाएर जग्गा वा सुनमा लगानी गर्ने विश्वव्यापी परम्परा भएकाले मानिसहरु अहिले पनि त्यसै गरिरहेका छन् । जसका कारण सुनको भाउ घटिरहेको छ । 

अर्को भनेको , कच्चा तेल उत्पादन गर्ने देशहरुले स्टक राख्ने क्रम अझै जारी राखेकाले अमेरिकालाई थप दबाब सिर्जना भएको छ । यसले गर्दा पनि मानिसहरु सुनका गहना जोड्न थालेका छन् । 

अन्तिम भनेको चाहिँ, कोरोनाको त्रास कम भएरै सुनको भाउ घट्न थालेको हो । कोरोनाको खोप लगाउने र कुन देशको खोप राम्रो भन्ने शक्ति राष्ट्रहरु प्रतिस्पर्धा नै चलेकाले अहिले सुनसँगै अन्य अन्तराष्ट्रिय व्यापार क्रमशः सुध्रिँदै गएको विज्ञहरु बताउँछन् । 

व्यवसायी र उपभोक्ता दुबैलाई राहत

गत साउन २१ गते सुनको पहिलोपटक तोलाको १ लाख नाघेको थियो । रेकर्ड तोड्ने क्रममा सो दिन नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख १ हजार ४ सय पुगेको थियो । साउन २३ गते भने तोलाकै १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेर सुनको भाउले हालसम्मका सबै रेकर्ड तोड्यो ।

अहिले ८५ हजार ६ सयमा झर्नु भनेको व्यवसायी र उपभोक्ता दुबैका लागि राहत भएको व्यवसायीहरुको बुझाई छ । बिबाहको लगन भएका महिनामा समेत सुनको कारोबार सुस्त हुँदा व्यवसायीहरु निराश थिए । तर, अहिले क्रमशः भाउ पनि घट्दो क्रममा रहेकोले माग पनि बढिरहेको छ । माग बढेकै कारण लकडाउनको अवधिमा सरकारले सुन आयातमा लागू गरेको कोटा प्रणाली हटाउन व्यवसायीले माग गर्दै आएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved