
 2mb (1).gif)
मंगलबार काडमाडौँस्थित चिनियाँ दूतावासले चीनमा बनेको कोरोना विरुद्दको खोप लगाउनेलाई मात्रै चीनमा भ्रमणको लागि भिसा दिईने भन्दै विज्ञप्ति जारी गर्यो । तर, रमाइलो कुरा के छ भने अहिलेसम्म नेपालमा चिनियाँ खोप आईपुगेको छैन । यस्तो अवस्थामा चिनियाँ दूतावासले किन यस्तो विज्ञप्ति निकाल्यो भन्ने विषय अहिले पनि रहस्यमै छ ।
तर, स्वास्थ्य क्षेत्र र कुटनीतिका जानकारहरु भने नेपालले अनुदानमा पाएको कोरोनाको खोप अपुग हुने देखेर चीनले आफ्नो देशमा विकास भएको खोपलाई नेपालले किन्नै पर्ने बाध्यता सिर्जना गर्न यस्तो उपाय अपनाएको हुन सक्ने आँकलन गरेका छन् । तर, कसैले पनि चीनको रणनीति यहीँ नै हो भनेर किटान गर्न सकेका छैनन् ।
अर्को रहस्यको उद्घाटन
चीनले २ हप्ता अगाडी सिनोफार्मले विकास गरेको ८ लाख डोज कोभिड भ्याक्सिन नेपाललाई अनुदानमा उपलब्ध गराउने घोषणा गरेको थियो । तर, अहिलेसम्म उक्त खोप नेपाल नआउनुमा चिनियाँ पक्षको नभई नेपाल सरकारकै कमजोरी भएको पाईएको छ ।
चीनले अनुदानमा दिने घोषणा गरेको खोप लिन बोलाएको दुईसाता भइसक्दा पनि नेपालकै कारणले उक्त खोप आउन नसकेको पाईएको हो । तर, नेपाल पक्ष (स्वास्थ्य मन्त्री हृदयश त्रिपाठी) ले केही दिनअघि एक टेलिभिजन अन्तरवार्तामा आफूहरुले ल्याउन चाहेको र प्रक्रिया भर्खर सुरु भएको भन्दै बचाउ गरेका थिए । बरु, उनले कोरोनाको खोप अभाव नहुने दाबी गर्दै अभाव हुँदैछ भनेर लेख्ने पत्रकारलाई निबन्ध लेखकको संज्ञा दिन भ्याए ।
नेपालले किन ल्याउन सकेन भन्ने जिज्ञासामा स्रोत भन्छ, ‘चीनले अनुदानमा दिने घोषणा गरेको खोप ल्याउन नेपाल सरकारले प्लेन चार्टड गर्नुपर्ने रहेछ, नेपालले प्लेन चार्टड गर्न नसक्दा अहिलेसम्म खोप आएको छैन ।’
स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका प्रमूख डा. भिमसिंह टिंकरीले पनि विमान चार्टड गर्न नसक्दा खोप ल्याउन नसकिएको स्वीकार गरिसकेका छन् ।
निगमसँग भाडादर माग
चिनियाँ खोप आयात गर्न नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सँग विमान भाडादर माग गरिएको छ । निगमले १ करोड ८० लाख रुपैयाँ लाग्ने भन्दै स्वास्थ्य मन्त्रालयलाई अनुमानित भाडादर उपलब्ध गराईसकेको छ ।
निगमबाट भाडादर पाएपछि स्वास्थ्य मन्त्रालयले फागुन २९ गते अर्थ मन्त्रालयमा बजेट निकासाको अनुरोध गर्दै पत्र पठाएको बुझिएको छ । अर्थले मन्त्रिपरिषदबाट रकम निकासाको निर्णय गराउनुपर्ने र त्यसका लागि मन्त्रिपरिषदमा लैजाने प्रस्ताव तयार भईरहेको उत्तर दिएको छ । अहिलेसम्म मन्त्रिपरिषद् बैठकबाट यस सम्बन्धि निर्णय भइसकेको छैन ।
प्रतिडोज ४८ डलर
चीनरले अनुदानमा दिन लागेको सिनोफार्मको खोप प्रतिडोज ४८ डलर पर्छ । यो खोप पनि भारतले अनुदानमा दिएको कोभिसिल्ड जस्तै दुई मात्रामा लगाउनु पर्छ ।
तर कोभिसिल्डभन्दा सिनोफार्मको खोप महंगो पर्ने र चीनले ८ लाख डोज मात्रै अनुदानमा दिने भएकाले के गर्ने भन्ने अन्यौलनमा स्वास्थ्य सेवा विभाग छ ।
विभागले अनुदानमा उपलब्ध हुने ८ लाख डोज ल्याउने र उक्त ८ लाख डोज ४ लाख नागरिकलाई लगाउने विकल्प सोचेको छ । स्रोतका अनुसार अनुदान स्वीकार गर्ने र थप भने आफूले खरिद नगर्ने मनस्थितीमा स्वास्थ्य मन्त्रालय छ ।