पनौतीमा २२० घरसहितको ‘सीजी भिलेज’, यस्ता छन् विशेषता

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 21, 2021 | 03:43:52 PM मा प्रकाशित

laxmi  sunrise bank

काभ्रेको पनौतीमा सुन्दर ‘भिलेज’ निर्माण हुँदैछ । चौधरी ग्रुप अन्तर्गतको सीजी होल्डिङ्सले २२० घरसहितको ‘सीजी भिलेज’ बनाउन सुरु गरेको हो । १११ रोपनी क्षेत्रफलमा बन्दै गरेको भिलेज शहरको कोलाहलभन्दा टाढा, पर्यावरणीय दृष्टिले शान्त र स्वच्छ रहने दाबी गरिएको छ । 

सीजी भिलेज ‘वीकएण्ड होम’ अर्थात् बिदा मनाउन घरमा बस्ने अवधारणामा आधारित रहने बताईएको छ । बजार र शहरमा काम गर्ने व्यक्तिहरु हप्ताको एक वा दुई दिन बिदा बस्न घरमै आउन् भन्ने अवधारणामा हाउजिङ बनाउन लागिएको सीजीले बताएको छ ।

कस्ता बन्नेछन् घर ?

हाउजिङ परियोजनाभित्र ८ देखि १० प्रतिशत क्षेत्र खुला छोडिने छ । हरेक घरमा ४ वटा बेडरुम, एउटा हल र भान्छा कोठा रहनेछ । कम्तीमा पनि ४ आना जग्गामा बन्ने एउटा घर ३ तल्लाको हुनेछ ।

पूर्व र पश्चिम दिशामा फर्किएका घर २ हजार ३ वर्गफिटमा बन्ने र घरको ग्राउन्ड फ्लोरमा १३/१३ फिटको गाडी पार्किङ क्षमताको पार्किङ एरिया बन्नेछ । ग्राउण्ड फ्लोरमा नै लिभिङ रुम, डाइनिङ रुम, किचन र स्टोर हुनेछ ।

घरमा ४/६ को पाउडर रुम र २/८ को स्टोर रुम, १८ फिट लम्बाइ १० फिट चौडाइको लिभिङ एरिया र ९ फिट चौडाइ १३ फिट लम्बाइको भान्छा रहने कम्पनीले जनाएको छ । डाइनिङ एरिया १४ फिट लम्बाइ र १० फिट चौडाइको हुनेछ । 

घरको पहिलो तल्लामा ३ वटा बेडरुम हुनेछन् । एउटा कोठा १२ फिट लम्बाइ ९ फिट चौडाइको हुनेछ । बाँकी २ कोठा १३ फिट लम्बाइ र १० फिट चौडाइका हुनेछन् । पहिलो तल्लामा २ वटा बाथरुम रहेछन् । दोस्रो तल्लामा ९/१२ फिटको एउटा बेडरुम ४/६ को बाथरुम हुनेछ ।

‘अहिले हामीले रिटेल स्पेस भनेर पनि राखेका छौँ, यसमा पछि क्याफेहरु आउन पनि सक्छन्, रिटेल एरिया बिजनेश एरिया नै हो’ चन्दले भनिन्, ‘शहरमा बस्ने मानिसहरुले बुकिङ गरेको खण्डमा हामीले होलिडे होम्सको कन्सेप्ट अनुसार पनि घर बनाउने छौँ ।’ 

काभ्रेको पनौती बसपार्कबाट १.९ किलोमिटरको दूरीमा बन्दै गरेको सिजी भिलेजभित्र ठूला घर, चौडा सडक, खानेपानी र बिजुलीको प्रवन्ध हुनेछ ।

‘काठमाडौँमा जग्गा किनेर मानिसले घर बनाउन नसक्ने अवस्था आइसक्यो, डेभलपर्सले पनि काठमाडौँमा जग्गा किनेर हाउजिङ बनाउन सक्दैनन्’ सीजी होल्डिङ्सकी मार्केटिङ म्यानेजर प्रतिज्ञा चन्द भन्छिन्, ‘त्यसैले हामीले काठमाडौँबाट नजिकै सुविधा सम्पन्न हाउजिङ बनाउन पनौती रोज्यौँ ।’

मूल्य कति ?

कम्पनीले अहिले ४ आनाका प्लटको बुकिङ खुल्ला गरिसकेको छ भने ठूला प्लटको बुकिङ केही समयमै खुल्ने बताएको छ । 

‘अहिले हामीले बुकिङ खुल्ला गरेको ४ आना प्लटको हो, यसमा एउटा घरको सुरुवाती मूल्य १ करोड ७३ लाख रुपैयाँ छ’, सीजी होल्डिङ्सकी मार्केटिङ म्यानेजर प्रतिज्ञा चन्दले बिजपाटीसँग भनिन्, ‘२५ प्रतिशत घर बुकिङ भइसकेका छन्, बुकिङ भएका घर बनाउने काम पनि सुरु भईसकेको छ ।’ 

निर्माण सुरु भएका घर आगामी ३ वर्षभित्र बुकिङ गरेका व्यक्तिहरुलाई हस्तान्तरण गर्ने कम्पनीको लक्ष्य छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved