पर्यटन बोर्डका सीईओको इतिवृतान्तः घुस खुवाएर ठेक्का लिनेदेखि भ्रष्टाचारीको सम्पत्ति लुकाउनेसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2021 | 12:56:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्यटन बोर्डका सीईओ डा. धनञ्जय रेग्मी २ दिनदेखि चर्चामा छन् । विदेशबाट फर्किदा बढी रक्सी ल्याएको पाईएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत भन्सार विभागका नासुले रोक्न खोज्दा हातपात गरेका कारण उनी चर्चामा छन् ।

नियमले दिएको भन्दा बढी रक्सी बोकेर आएका उनलाई ५ हजार जरिवानासहित बढी रक्सी जफत गरिएको छ । लण्डनमा आयोजना भएको वर्लर्ड ट्राभल मार्टमा सहभागी भएर फर्किएका रेग्मीले ल्याएको ६ बोतलमध्ये ४ बोतल रक्सी जफत गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले उनलाई ३ दिने स्पष्टीकरण सोधेको छ ।

भ्रष्टाचारीसँग काँध जोडिएका रेग्मी 

डा. रेग्मी पर्यटन बोर्डको सीईओ बन्न कुनैपनि ‘क्राईटेरिया’ नपुग्ने व्यक्ति हुन् भन्ने त्यतिबेला नै चर्चा भएको थियो । तर, तत्कालिन सरकारले उनलाई नै बोर्डको सीईओ बनाएको थियो । सीईओ बन्न १० वर्ष पर्यटनको क्षेत्रमा लगातार काम गरेको हुनुपर्ने भनिएपनि रेग्मीसँग पर्यटनको क्षेत्रमा काम गरेको अनुभव थिए । उनी गाडी व्यवसायीको नामले चिनिन्थे ।

व्यवसायीका रुपमा पनि उनको छवि राम्रो छैन । भ्रष्टाचारी प्रमाणित भएका व्यक्तिहरुसँग निरन्तरको उठबस र उनीहरुको कालो धनलाई घरजग्गामा लगानी गरेर सुरक्षित राखिदिने गरेको आरोप रेग्मीलाई लाग्दै आएको छ ।

कर फस्र्यौट आयोगका तत्कालिन सदस्यसचिव चुडामणी शर्मासँग मिलेर करोडौँ रुपैयाँ कुम्ल्याएको आरोप पनि डा. रेग्मीमाथि लागेको छ । चुडामणी शर्मासहित अन्य ३ जना विरुद्ध १ अर्ब ३३ लाख भ्रष्टाचारको मुद्दा दायर भएको थियो । शर्मासँग विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

शर्मासँग मिलेर उक्त विषयमा पनि रेग्मीले ठूलो लाभ लिएको स्रोतको दाबी छ । यति मात्रै नभई, एनसेललाई लाभकर छुट दिलाउने मुख्य योजनाकार मानिने चुडामणीले सम्पत्ति सुरक्षित राख्न ठूलो हिस्सा रेग्मीलाई दिएको दाबी पनि स्रोतले गरेको छ ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा यो मुद्दा अझै तामेलिमा छ ।

ललितपुर नापी कार्यालयमा उनका नातेदार पर्ने नारायण रेग्मी हाकिम हुँदा नारायण रेग्मीले गलत बाटोबाट आर्जन गरेको सम्पत्ति व्यवस्थापन पनि धनञ्जय रेग्मीले नै गर्दै आएको बताइन्छ । जग्गा कारोबारीलाई ‘प्लानिङ’को अनुमति दिने क्रममा ४ आना जग्गा (घडेरी) लिने र त्यो बेचेर अर्कोतिर धनञ्जय रेग्मीको नाममा जग्गा जोड्ने गरेको पनि खुलेको छ ।

यसको प्रमाण धापाखेलस्थित सुमेरु अस्पताल छेउमा रहेको धनञ्जय रेग्मीको नाममा रहेको १२ आना जग्गा भएको स्रोत बताउँछ । उक्त जग्गामा नारायण रेग्मीको पैसा रहेको र जग्गाधनी पूर्जा भने धनञ्जय रेग्मीको नाममा रहेको स्रोतले बताएको छ । 

घुस खुवाएर ठेक्का

पर्यटन बोर्डमा उनले आफूखुशी खर्च गर्दै आएका छन् । कोरोनाका कारण खर्च कटौतीका लागि भन्दै फर्निचर लगायतका सामान नकिन्न पर्यटन मन्त्रालयले पठाएको परिपत्र विपरित उनले ३० लाख रुपैयाँको सामान आफन्तको फर्निचरबाट किनेर ल्याएको पनि स्रोतले बताएको छ ।

सार्वजनिक खरिद ऐनविपरित उनले ४ करोड रुपैयाँ बिना टेण्डर ‘रिसर्च’ लागि भन्दै त्रिभुवन विश्वविद्यालयको भूगोल विभागबाट लिएको पनि खुलेको छ । विभागका प्रमुखसहित कर्मचारीलाई घुस दिने भन्दै उनले बिना कुनै टेण्डर ४ करोडको परामर्शको काम लिएको स्रोतले बताएको छ ।

उनी बोर्डको सीईओ भएपछि आफ्नो व्यक्तिगत कम्पनी पनि चलाउँदै आएका छन् । उनले आफ्नो कम्पनीको चेकमा अझै पनि ‘साइन’ (हस्ताक्षर) गर्ने गरेको बोर्डकै कर्मचारी बताउँछन् । जबकी, स्वार्थ बाँझिने सिद्धान्त अनुसार उनले त्यसो गर्न मिल्दैन ।

‘समग्रमा बोर्डका हालका सीईओ धनञ्जय रेग्मी अराजक र उदण्ड मान्छे हुन्’ स्रोतले भन्यो, ‘पर्यटनतिर पटक्कै ध्यान छैन, त्यहाँका पूराना कर्मचारीले यसो अलिअलि गर्नुभएको छ, उहाँले त केही नै गर्नुभएको छैन । मै हुँ भन्ने घमण्डी स्वभाव छ, पैसा भएपछि जे पनि हुन्छ भन्ने घमण्ड छ उहाँमा ।’


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved