तत्काल कति सम्भव छ इन्डक्सन चुल्होको प्रयोग ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 11, 2021 | 01:26:43 PM मा प्रकाशित

laxmi  sunrise bank

घटेको विद्युत महशुलले भान्छामा विद्युतीय चुल्होको प्रयोग बढाउने अपेक्षा गरिएको छ । विद्युत प्राधिकरणले २० युनिटसम्म बिजुली खपत गर्दा ३० रुपैयाँ सेवा शुल्क मात्रै लाग्ने व्यवस्था गरेपछि इन्डक्सन चुल्होको प्रयोग बढ्ने अनुमान गरिएपनि काठमाडौँमा भने तत्काल यो सम्भव देखिएको छैन ।

काठमाडौँमा हरेक घरमा भाडामा मानिसहरु बस्ने र उनीहरुले सिमित मात्रामा बिजुलीको पैसा तिर्ने भएकाले भाडामा बस्नेहरुले इन्डक्सन चुल्हो प्रयोग गर्ने अवस्था नरहेको डेरावाला सरोकार समाजका अगुवाहरु बताउँछन् । घरबेटीसँगै सगोलमा एउटै मिटरबाट बिजुली प्रयोग गर्दै आएकाहरुले कुनैपनि हालतमा इन्डक्सन चुल्हो राख्न नसक्ने उनीहरुको भनाई छ ।

‘सवा मिटर’ राखेर बिजुली उपभोग गर्दै आएकाहरुले पनि तत्कालै विद्युतीय चुल्हो नै प्रयोग गर्छन् भन्ने देखिएको छैन । उद्यपी, घरबेटी तथा घर नै भाडामा लिएर त्यही बस्ने र त्यही पेशा व्यवसाय सञ्चालन गर्नेहरुले पनि इन्डक्सन चुल्हो प्रयोग गर्न थालिसकेका छन् ।

काठमाडौँमै पनि तत्काल सम्भव छैन इन्डक्सन चुल्हो 

२ वर्ष भन्दा अगाडी बनेका घरमा जोडिएको विद्युतीय संरचना तथा पूर्वाधार इन्डक्सन चुल्हो मैत्री नरहेको प्राविधिहरु नै बताउँछन् । पूराना घरमा रहेका विद्युतीय उपकरणले इन्डक्सन चुल्होले खपत गर्ने विद्युतको आपुर्तिलाई थेग्न नसक्ने र फलस्वरुप चाँडै त्यस्ता सामान जल्ने खतरा रहेको प्राविधिहरुको बुझाई छ ।

काठमाडौँकै पुराना घरमा १५ एम्पिएरको मात्रै एमसीबी राखिएकाले डबल बर्नरको इन्डक्सन चुल्हो राख्न सम्भव नहुने विद्युतीय प्राविधिकहरु बताउँछन् । एउटा मात्रै बर्नर भएको इन्डक्सन चुल्हो प्रयोग गर्न पनि १५ एम्पिएरको एमसीबी आवश्यक हुन्छ । एउटा मात्रै बर्नर भएको इन्डक्सनले १२ सयदेखि १८ सय वाटसम्म विद्युत खपत गर्छ । एउटाभन्दा बढी बर्नर भएको इन्डक्सन प्रयोग गर्दा विद्युतको खपत स्वतः बढ्छ । जसका लागि ५० एम्पिएरको एमसीबी चाहिन्छ ।

नयाँ बनेका घरमा ३० एम्पिएरको एमसीबी राखिएको छ भने २ वटा भान्छामा इन्डक्सन चुल्हो प्रयोग गर्न सकिन्छ । तर, एउटै घरमा २ भन्दा बढी भान्छा भएको अवस्थामा इन्डक्सन चुल्हो प्रयोग गर्न सकिन्न ।

जसका कारण तत्कालै इन्डक्सन चुल्होको प्रयोग सम्भव देखिँदैन । 

गाउँमा त झन ५ एम्पिएरका एमसीबी

गाउँमा त अझ निकै कमजोर क्षमताको एमसीबी जडान गरिएको हुन्छ । ग्रामीण भेगका अधिकांश ठाउँमा ५ एम्एिरको एमसीबी राखिएका छन् । 

जबकि, एउटा इन्डक्सन चुल्हो मात्रै प्रयोग गर्दा पनि ५ एम्पिएर विद्युत खपत गरिदिन्छ । यदि, गाउँमा इन्डक्सन चुल्हो बाल्ने हो भने त्यो समयमा अन्य विद्युतीय उपकरण त परै जावस्, बिजुलीका बल्भ समेत बल्न सक्दैनन् ।

यति मात्रै नभई घरभित्रको वायरिङको गुणस्तरले समेत यसमा प्रभाव पार्ने भएकाले अब बन्ने घरमा ३० देखिमाथि क्षमता भएका एम्पिएरसँगै गुणस्तरीय वायरिङ नगरी अहिलेकै संरचनामा इन्डक्सन चुल्होको प्रयोग सम्भव देखिँदैन ।

तर, ग्याँस र पेट्रोलीयम पदार्थलाई विस्थापन गर्दै बिद्युतको खपत बढाउन सोही अनुसारको संरचना तयार गर्दै लैजानुपर्ने विज्ञहरुको सुझाव छ । यसले शहरको प्रदूषण घटाई व्यापार घाटासमेत ‘साइज’मा ल्याउने अनुमान हुँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved