मेडिकल शिक्षामा ‘सिण्डिकेट’: ९ वटा मेडिकल कलेज ४ जनाको ‘कब्जा’मा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 16, 2022 | 01:36:10 PM मा प्रकाशित

laxmi  sunrise bank

अहिले मेडिकल कलेजले विद्यार्थीबाट बढी शुल्क लिने गरेको विषय पुनः चर्चामा छ । नेपालका सबैभन्दा ठूला मेडिकल कलेज व्यवसायी डा. सुनिल शर्मामाथि यही विषयमा विवाद हुँदा सिंहदरबारभित्रै कालोमोसो पनि दलिएको छ । 

तर, मेडिकल शिक्षा किन महँगो र आम सर्वसाधारणका सन्तानको पहुँचभन्दा किन टाढा गईरहेको छ भन्ने बहस भने पटक्कै भएको छैन । विद्यार्थी संगठनलाई राजनीतिको मुद्दा बनिरहने मेडिकल शिक्षा निजी क्षेत्रका मेडिकल कलेजले सरकारी मेडिकल कलेज सरहकै शुल्कमा पढाउन नसकिने बताउँदै आएका छन् । 

यसैपनि नेपालको मेडिकल कलेजमा सिमित व्यक्तिहरुको मात्रै लगानी छ । जसका कारण सिर्जना भएको ‘एकाधिकार’मा स्वास्थ्य मन्त्रालय वा शिक्षा मन्त्रालयले लगाम लगाउन सक्ने अवस्था छैन ।

कुन मेडिकल कलेजका साहू को ?

डा. सुनिल शर्मा नै हालसम्म देखिएका मेडिकल कलेज सञ्चालकमध्ये सबैभन्दा ठूला सञ्चालक हुन् । उनी ३ वटा मेडिकल कलेजका प्रमुख शेयरधनी छन् ।

बिराटनगरका स्थायी बासिन्दा डा. शर्मा सुरुमा बिराटनगरको नोबेल मेडिकल कलेजका प्रमुख शेयरधनी थिए । तर, गत वर्ष करिब १ वर्षकै अवधिमा डा. शर्माले काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज र नेपालगञ्ज मेडिकल कलेजको मुख्य शेयर हिस्सा खरिद गरे ।

डा. शर्मा अहिले ३ वटा मेडिकल कलेज चलाईरहेका छन् । 

वीरगञ्जका बसुरुद्धिन अन्सारी पनि २ वटा मेडिकल कलेजका मालिक छन् । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज चलाउँदै आएका अन्सारीले करिब २ वर्ष अगाडी काठमाडौँस्थित नेपाल मेडिकल कलेजको प्रमुख शेयर खरिद गरे । उनी अहिले मुख्य शेयर हिस्सासहित २ वटा मेडिकल कलेज चलाउँदै आएका छन् ।

स्याङ्जा काँग्रेसका नेता खुमा अर्याल पोखराको गण्डकी मेडिकल कलेज र भैरहवाको युनिभर्सल मेडिकल कलेजका सञ्चालक छन् । 

बुटवलका व्यवसायी गोपाल पोखरेलले पनि पाल्पाको लुम्बिनी मेडिकल कलेज ररुपन्देहीको देवदह मेडिकल कलेज चलाईरहेका छन् ।

३ जना सक्रिय राजनीतिमा

माथि उल्लेख गरिएका ९ वटा मेडिकल कलेजको स्वामित्व जम्मा ४ जना व्यवसायीको हातमा छ । यी ४ जनामध्ये ३ जना प्रत्यक्ष राजनीतिमा संलग्न छन् । डा. सुनिल शर्मा र बसुरुद्धिन अन्सारी २०७४ सालमा प्रतिनिधिसभा सदस्यका लागि चुनाव नै लडेका थिए । डा. शर्मा काँग्रेस र अन्सारी एमालेबाट चुनाव लडेका भएपनि दुबै पराजित भएका थिए ।

अर्का मेडिकल कलेजका सञ्चालक खुमा अर्याल पनि काँग्रेसको राजनीतिमा प्रत्यक्ष संलग्न छन् । २०७४ सालमा उनले पनि चुनाव लड्न चाहेका थिए । तर, स्याङ्जाको क्षेत्र नम्बर २ बाट गोपालमान श्रेष्ठले टिकट पाए । काँग्रेस राजनीतिमा शीर्ष स्थानमै रहेका गोपालमान एमालेकी पद्मा अर्यालसँग पराजित भए ।

यसरी, ठूला राजनीतिक दलको संक्रिय भूमीकामा रहेकाहरुले नै मेडिकल कलेज चलाउँदै आएका छन् । यसबाट पनि मेडिकल कलेजका सञ्चालकले जति नै बढी शुल्क लिएपनि उनीहरुले राजनीतिक संरक्षण पाउँछन् भन्ने अनुमान हुने गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved