नेपाल मै बसेर विदेशी शिक्षा मोह: सम्बन्धन कै नाममा बाहिरियो डेढ अर्ब विदेशी मुद्रा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2022 | 12:49:53 PM मा प्रकाशित

laxmi  sunrise bank

विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका नेपालका कलेजहरूले वर्षेनी अर्बौं रुपैयाँ बाहिर पठाउने गरेका छन् । नेपालमा रहेका ८६ कलेजहरूले अमेरिकी डलर र ब्रिटिश पाउण्डमा वर्षकै अर्बौं रुपैयाँ बाहिर पठाउने गरेका हुन् । 

शिक्षा मन्त्रालयका अनुसार गत २०७७ को माघदेखि हालसम्म ३२ लाख ३२ हजार २ सय ८८ युएस डलर अर्थात करीब ४० करोड नेपाली रुपैयाँ बाहिरिएको छ । त्यस्तै ब्रिटिस पाउण्डमा बाहिरिएको रकम ६१ लाख ३३ हजार २८ पाउण्ड अर्थात ९३ करोड ७ लाख छ । अमेरिका, बेलायत, अष्ट्रेलिया, थाइल्याण्ड, न्युजिल्यान्ड, भारतलगायतका देशमा रहेका विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा खोलिएका कलेजहरूले पछिल्लो १५ महिनामा करीब डेढ अर्ब पठाएका हुन् । 

मन्त्रालयका अनुसार यस्ता कलेजले सम्बन्धन लिएका विश्वविद्यालयबाट सक्कल इन्भ्वाइस, कलेजहरूको कर चुक्ता प्रमाणपत्र, अडिट प्रतिवेदन, इन्भ्वाइसमा रहेको रकमको ५ प्रतिशत राजस्व दाखिला जस्ता कागजात देखाएर विदेशी विश्वविद्यालयमा पैसा पठाउन पाइन्छ । 

१० हजार डलर भन्दा कम इन्भ्वाइस भएको अवस्थामा सिधै सम्बन्धित विश्वविद्यालयको खातामा पैसा पठाउन सकिन्छ भने १० हजार डलर भन्दा बढी भुक्तानी गर्नुपरे राष्ट्रबैंकमार्फत गर्ने गरिन्छ । 

नेपालमा विदेशी मुद्रा संचितीमा चाप परेका समाचार विवरण सार्वजनिक भइरहेको अवस्थामा विदेशी सम्बन्धनका लागि बाहिरिने मुद्रा अर्बौं हुनु निराशलाग्दो पक्ष भएको विज्ञहरू बताउँछन् ।  

नेपालमा रहेका ८६ कलेजहरूले विदेशी पाठ्यक्रममा आधारित रहेर पठन-पाठन गराउने गर्छन् । यीमध्ये कतिपय कलेजहरू मापदण्डअनुसार संचालन भएका देखिदैनन् । 

यस्ता संस्थाहरू प्रत्येक पाँच वर्षमा नवीकरण हुनुपर्ने मापदण्ड छ । तर पछिल्लो डेढ वर्षयता कसैको पनि नवीकरण गरिएको छैन । 

मन्त्रालयले कोभिड १९ का कारण स्थलगत अनुगमन गर्न नभ्याएकाले नवीकरण गर्न नसकिएको जनायो । 'नवीकरणका लागि चाहिने सबै डकुमेन्ट मन्त्रालयमा आएको छ तर कोभिडका कारण हामीले अहिलेसम्म अनुगमन गर्न सकिएको छैन,' मन्त्रालयका एक उच्च अधिकारीले भने । 

बिना नवीकरण संचालन गर्न दिँदा कानून उल्लङ्घन हुँदैन ? भन्ने प्रश्नमा उनले भने, 'संचालनमा बाधा आउँदैन । उहाँहरूले आफ्नो तर्फबाट सबै प्रक्रिया पूरा गर्नुभएको छ । हामीले अब अनुगमन गरेर नवीकरण गरिदिन्छौं ।'

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved