मिटरब्याजीले निम्त्याएको गम्भीर सामाजिक अपराध : पैसा हुनेको सर्वस्व लुटिने, नहुनेसँग यौन प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2022 | 10:49:14 AM मा प्रकाशित

laxmi  sunrise bank

गत भदौ ४ गते महोत्तरी जिल्ला प्रहरी कार्यालयले मिटरब्याजी अनुरुद शाहलाई पक्राउ गर्यो । गत डेढ वर्षदेखि शाहविरुद्ध ५० हजारको नौ लाखसम्मको कागज बनाएको, कतिपयको १२ गुणा बढीको कागज बनाएको, दर्जनौंको थातथलो हडपेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो ।

उनीविरुद्ध परेको एक उजुरीले प्रहरीसमेत चकित भयो । श्रीमान् विदेश भएकी एक महिलाले दिएको उक्त उजुरीमा शाहले ब्याजको बदलामा यौन प्रस्ताव गरेको उल्लेख थियो । उक्त उजुरीबारे केन्द्रमा रिपोर्टिङ भएपछि थप शक्ति लगाएर शाहलाई खोज्न प्रहरी कार्यालय महोत्तरीलाई निर्देशन गएको थियो ।

आफूविरुद्ध उजुरी परेको थाहा पाएपछि फरार भएका शाहलाई प्रहरीले पक्राउ गर्यो । उनीसँगै प्रहरीले उनको ससुराली घरबाट ७१ लाख ४४ हजार ३५० रुपियाँको ९ थान कपाली तमसुकसमेत बरामद गर्यो । शाहले महोत्तरी र धनुषासहित पूर्वको झापा जिल्लासम्मका मानिससँग मिटर ब्याजको कपाली तमसुक गराउने गर्दथे ।

प्रहरी नायब उपरीक्षण चन्देश्वर यादवले मिटरब्याजी शाह अहिले प्रहरी हिरासतमै रहेको र केही दिनमा अदालत लैजाने तयारी गरेको जानकारी दिए । 'उनको नाममा १४ भन्दा बढी उजुरी परेको थियो,' यादवले बिजपाटीसँग भने, 'अब केही दिनमा सरकारी वकिलमार्फत अदालत लैजाने तयारी हुँदैछ ।'

गत असारको दोस्रो साता पश्चिम नवलपरासी प्रहरीले दुई जना मिटरब्याजीलाई पक्राउ गर्यो । उनीहरूविरुद्ध ऋण दिएर त्यसको कैयौं गुणासम्म मूल्य पर्ने जग्गा हडपेको उजुरीहरू परेको छ ।

प्रतापपुर गाउँपालिका बेलाटारीका जगदीश बानियाँ र लालबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेर छानबिन गरिरहेको छ । सोही केससँग सम्बन्धित सुनिल बानियाँ भने फरार रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी भोजराज पाण्डेले बिजपाटीलाई बताए ।

'ऋण दिने र त्यसका लागि जग्गा दृष्टिबन्धक राख्ने, अनि पछि दिएको ऋण असुल भइसकेपछि पनि पहिला बन्धक राखिएको जग्गा राजीनामा गरेर लिने जस्ता कामहरू उनीहरूबाट भएको देखिएको छ,' पाण्डेले भने, 'अहिलेपनि उनीहरूको अनुसन्धान भइरहेको छ । छिटै अदालतमा पेश गर्दैछौं ।'

माथि उल्लेख गरिएका घटनाहरू केही प्रतिनिधि घटना मात्र हुन् । मिटरब्याजीका कारण आफ्नो उठीबास लाग्ने भएपछि विगत केही महिनादेखि पीडितहरूले देशका विभिन्न ठाउँहरूमा प्रदर्शनसमेत गर्न थालेका छन् ।

एक साता अगाडी मिटरब्याज पीडितहरूले काठमाडौँको माइतीघरदेखि बालुवाटारसम्म 'किसान-मजदुर मार्च' समेत गरेका थिए । मिटर ब्याजीलाई कारबाहीको माग गर्दै उनीहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्नसमेत पुगेका हुन् ।

मिटरब्याज दोषीहरूलाई तत्काल पक्राउ गर्न, पक्राउ परेकाहरूलाई धरौटीमा छुट्न नदिन र मिटरब्याजीहरूले आफूहरूसँग असुलेको पैसा फिर्ता गरिदिन माग गर्दै उनीहरूले आन्दोलन गरेका थिए । मिटरब्याजीविरुद्ध सिराहा, जनकपुर, सप्तरी, महोत्तरीलगायतका जिल्लाहरूमा पनि पीडितहरूले आन्दोलन जारी राखेका छन् ।

मिटरब्याज प्रकरणमा राजनीतिक नेतृत्वदेखि प्रहरीका उच्च पदस्त अधिकारीहरू पनि मुछिएको विभिन्न तथ्यहरूले देखाएका छन् । 

मिटरब्याजी विरुद्ध यी र यस्ता उजुरीहरू देशैभर परेका छन् । देशैभर उजुरी पर्न थालेपछि गृह मन्त्रालयले सहसचिव डा. भिष्मकुमार भुसालको संयोजकत्वमा गत साउनको अन्तिम साता ६ सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान ब्यूरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप– अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा सदस्य रहेका छन् ।

कार्यदलको सदस्य सचिव नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा कार्यरत नायब उपरीक्षक रोशन खड्कालाई तोकिएको छ ।

संयोजक भुसालले गम्भिर सामाजिक अपराधका रुपमा मौलाएको मिटरब्याजी अपराधसम्बन्धी समस्याको समाधान निकाल्न विभिन्न पक्षसँग भेटघाट र छलफल गरिरहेको बताएका छन् । कार्यदल बनेको एक महिना पुगेको छ भने प्रतिवेदनतयार भइसकेको छ ।

प्रतिवेदन तयार गर्न कार्यदल देशका विभिन्न ठाउँहरूमा पुगेको थियो । कार्यदल संयोजक भुषालले भने, 'मिटरब्याज समस्या समाधानका लागि कतिपय ठाउँहरूमा मेल-मिलाप भएको छ भने कतिपयका प्रमाण नपुग्ने हुँदा पीडितले न्याय नपाउने अवस्था आउनसक्नेतर्फ पनि ध्यान दिनुपर्ने हुन्छ ।'

मिटरब्याजी गम्भिर प्रकृतिको सामाजिक अपराध भएको बताउँदै उनले यस्ता गतिविधि रोक्न अपनाउनुपर्ने नीति प्रतिवेदनमा समेटिएर आउने बताए । आगामी दिनमा मिटरब्याजी सम्बन्धि थप अपराध पनि हुन नपाओस् भन्ने विषयमा आफूहरू गम्भीर रहेको भुसालको भनाइ छ ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved