भीरकोट नगरपालिकामा 'म्याच फिक्सिङ', कार्यकर्तालाई जागिर खुवाउन नक्कली परीक्षा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2022 | 09:45:18 AM मा प्रकाशित

laxmi  sunrise bank

स्याङ्जाको भीरकोट नगरपालिकामा कांग्रेसका कार्यकर्ता सुजन अर्याललाई जागिर खुवाउने प्रयोजनका निम्ति 'नक्कली' परीक्षा लिइएको खुलेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पाचौं तहको रोजगार सहायक पद सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धमा भदौ २१ गते विज्ञापन गरिएको थियो भने हिजो (बुधवार) लिखित र प्रयोगात्मक परीक्षा लिइएको थियो ।



२४ घण्टा पनि नबित्दै निकालिएको नतिजा प्रकाशनमा नियोजित रूपमा भीरकोट ७ का अर्यालकै नाम सिफारिस गरिएको छ भने वैकल्पिकमा रविन तिमिल्सिना र रविन खाँणको नाम निकालिएको हो ।

अर्याल यसअघि भीरकोटमै अस्थायी जागिरे थिए । उनी अमीन पदमा कार्यरत रहेकै बेला स्थायी अमिन नियुक्त भएपछि अर्यालको जागिर खोसिएको थियो ।

उनी कांग्रेसका कार्यकर्ता भएकाले उनलाई 'केही समय बाहिर बस्नुस्, तपाईंलाई मिलाएर यहीं ल्याइन्छ' भन्ने आश्वासनसमेत दिइएको स्रोत बताउँछ ।

स्रोतका अनुसार उपमेयर भगवती रेग्मी र ७ का वडाध्यक्ष तारा अर्यालको विशेष पहलमा अर्याललाई जागिर खुवाइएको हो । भीरकोटमै प्राविधिक (घरजग्गा नाप्ने) शाखामा काम गरेका अर्यालको जागिर खोसिएपछि 'म्याच फिक्सिङ' गरेर रोजगार सहायक पदका लागि लिइएको परीक्षामा अर्याल नै सिफारिस भएका हुन् ।



तर नगरपालिकाका प्रशासन शाखा प्रमुख  रामप्रसाद खनालले विधि र प्रकृयाकै आधारमा परीक्षा संचालन गरिएको दाबी गरे ।

'स्थानीय तहमा प्राविधिक सहायक र रोजगार सहायक पदपूर्ति मापदण्ड निर्देशिकाकै आधारमा हामीले विज्ञापन गरेर परीक्षा लिएका हौँ,' खनालले बिजपाटीसँग भने ।

नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष दिपेन्द्र केसीले यसबारेमा आफूलाई कुनै जानकारी नभएको बताए । 'कर्मचारीतन्त्रको कुरा भएकाले मलाई यसबारेमा खासै थाहा हुँदैन,' केसीले बिजपाटीसँग भने, 'प्रशासनतिरै सोधेर जानकारी लिनुहोला ।'

परीक्षाका लागि आवेदन माग गरेपछि नै अर्याललाई जागिर खुवाउन नक्कली परीक्षा लिन लागिएको आंकलन स्थानीयले गरेका थिए ।

सामाजिक सञ्जाल फेसबूकमा समेत नगरपालिकाले पहिल्यै तय भएको व्यक्तिलाई जागिर खुवाउने प्रयोजनकै निम्ति परीक्षाको आयोजना गर्न लागिएको प्रतिक्रियाहरू आएका थिए ।

सोही आशंका पुष्टि हुने गरी अर्यालको नाम छनोट भएपछि स्थानीयहरू रुष्ट छन् ।

परीक्षा दिएकामध्ये एकजनाले आफ्नो नाम नखुलाउने शर्तमा बिजपाटीसँग भने, 'पहिल्यै सेटिङ रहेछ, हामीलाई बेक्कारमा दुख दिइयो । नगरपालिकालाई अहिले कार्यकर्ता भर्ती गर्ने अखडा बनाइएको छ । यसको उदाहरण देखिहाल्नुभयो नि ।'

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved