नेपालमा कसले लगाउँदैछन कोरोनाको पहिलो खोप ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2021 | 01:09:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा कोरोना विरुद्धको पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सकहरुले लगाउने भएका छन् । अस्पतालका निर्देशक डा.सागर राजभण्डारी र अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले क्रमश: पहिलो र दोस्रो खोप लगाउने भएका हुन् ।

प्रवक्ता बास्तोलाले अग्रपंक्तिमा बसेर काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई खोप लगाउन प्रोत्साहन गर्न र सकारात्मक सन्देश दिन पहिलो  खोप लगाउन लागेको बताए । नेपालमा खोपको प्रभावकारितामा प्रश्न उठ्नसक्ने भन्दै दुई डाक्टरलाई पहिलो खोप लगाएर देशभर एकैसाथ खोप अभियान सुरु गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

दुई डाक्टरलाई पहिलो खोप लगाएर भोली (बुधबार) बिहान १० बजे प्रधानमन्त्री केपीशर्मा ओलीले एकैसाथ खोप अभियान उद्घाटन गर्ने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  अभियानको उद्घाटन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, त्रिवी शिक्षण अस्पताल र एपीएफ अस्पतालबाट एकसाथ हुने भएको छ । 

भारत सरकारले नेपाल सरकारलाई अनुदान स्वरुप दिएको कोरोना विरुद्धको खोप सातै प्रदेशको भण्डारणमा पु्याईएको छ । मन्त्रालयले भारत सरकारले दिएको खोप पहिलो चरणमा जिल्ला अस्पताल र ठूला अस्पतालमा अग्रपंक्तिमा बसेर काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी, सरसफाइकर्मी र सुरक्षाकर्मीलाई निःशुल्क रूपमा लगाउने तयारी गरेको छ । 

पहिलो चरणमा मन्त्रालयले प्रदेश नम्बर १ मा ९६ हजार, २ मा ३४ हजार, बाग्मती प्रदेशका ७६ हजार, गण्डकी प्रदेशका ४० हजार, लुम्बिनी प्रदेशका ८८ हजार, कर्णाली प्रदेशका १२ हजार र सुदूरपश्चिम प्रदेशका १६ हजारगरी सातै प्रदेशका ३ लाख ६२ हजार मानिसलाई खोप लगाईनेछ । 

प्रदेश सरकारले खोप लगाउने सबैको नामावली संकलन गरेर भोलीबाट खोप लगाउने तयारी गरेको छ । सरकारले १५ वर्ष मुनिका बालबालिकामा, दिर्घ रोग भएका र अक्सिजन लिइरहेका बिरामीलाई उक्त खोप नलगाउन आग्रह गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved