फेरी कडा लकडाउन गर्ने प्रस्तावको उद्योगी व्यवसायीद्वारा चर्को विरोध

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 18, 2020 | 03:02:14 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना संक्रमित बढेको भन्दै यहाँका जनप्रतिनिधिले काठमाडौं उपत्यकामा कडा लकडाउनको माग गरेपछि सर्वसाधारणमा एक प्रकारको त्रास फैलिएको छ। तिहारपछि उपत्यका फर्किने र आफ्नो पहिलेको दैनिकीलाई निरन्तरता दिने योजना बनाईरहेका उपत्यका बाहिरका मानिसहरु समेत लकडाउनको यो मागले त्रसित भएका छन्। 

मङ्सिरमा कडा लकडाउन गर्न स्थानीय जनप्रतिनिधिको मागलाई लिएर सरकारी अधिकारी, विज्ञबाट मिश्रित प्रतिक्रिया आएपनि नीजि क्षेत्र भने आक्रोशित भएको छ । लामो समयको लकडाउन थेगेको अर्थतन्त्र अब थेग्नै नसक्ने गरी थला पर्न लागेको भन्दै आर्थिक गतिविधि नरोक्न नीजि क्षेत्रले माग गरेको छ । गत चैत्र ११ देखि लागू भएको लकडाउन पूर्ण पालना गरेको र अब पनि सोही विधि अपनाए आफूहरुलाई मान्य नहुने नीजि क्षेत्रका संघ संस्थाहरुको चेतावनी छ । 

लकडाउन खुलेपछि आर्थिक गतिविधि केही चलायमान हुँदै गएकाले यसलाई रोक्ने प्रयास गरिए ठूलो आर्थिक क्षति ब्यहोर्नुपर्ने उनीहरुको तर्क छ । उद्योगी, व्यवसायीहरुले लकडाउन नै कोरोना भाइरसको संक्रमण फैदन नदिने अन्तिम विकल्प नभएको बताउँदै आएका छन् । तिहारअघि कोभिड -१९ सङ्कट व्यस्थापन सञ्चालन केन्द्र सीसीएमसीको निर्देशक समितिसँग उपत्यकाका सबै मेयरले छठ सकिएलगत्तै लकडाउन गर्न माग गरेका थिए।

‘मजदूरको पेट पालिनुपर्छ’

शेखर गोल्छा 

वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघ

सरकारपछिको सबै भन्दा ठुलो संरचना भएको निजि क्षेत्रका उद्योगी  तथा व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा विश्व स्वास्थ्य संगठनले तोकेका स्वास्थ्य मापदण्ड पालना गराएर सबै किसिमका उद्योग व्यवसायहरु चल्न दिनुपर्ने बताउँछन् ।

अब लकडाउनको हल्ला फैलाएर चलायमान हुँदै गरेको आर्थिक गतिविधि रोक्दा अनौपचारिक क्षेत्रमा काम गर्ने मजदूर र श्रमिकको घरमा चुल्हो नबल्ने उनको भनाई छ ।

‘अहिले संक्रमणको दर घट्दो क्रममै रहेको देखिएको छ, अझै परीक्षणको दायरा बढाउनुपर्छ, उद्योग र व्यापार चल्नुपर्छ’ वरिष्ठ उपाध्यक्ष गोल्छाले भने, ‘खासगरी अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुको दैनिकी गुजारा चलाउनका लागि पनि अब लकडाउन हुनुहुँदैन ।’

काठमाडौं उपत्यकामा फेरी कडा लकडाउन गर्ने बिषयमा मिश्रित प्रतिक्रिया

'लकडाउनको थेग्न सकिदैन' 

सतिस मोर

अध्यक्ष, नेपाल उद्योग परिसंघ

उद्योगीहरुको छाता संगठन नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोरले लकडाउनको विकल्प टिकाउ नहुने बताउदै जनप्रतिनिधि तथा सरकारी अधिकारिको प्रस्तावको बिरोध गरेका छन्। 

विश्व स्वास्थ्य संगठन ले तोकेका स्वास्थ्य संग सम्बन्धित मापदण्डलाई कडाईका साथ लागू गरेर आर्थिक क्षेत्र चलायमान बनाउनुपर्ने उनको सुझाव छ। मेयर र सरकारी अधिकारिले प्रस्ताव गरेझैं काठमाडौं उपत्यकामा मात्र नभई नेपालमा कहीं पनि अब लकडाउन थेग्न नसकिने उनको भनाई छ। 

'रोगले भन्दा भोकले मर्न थालिसके, लकडाउन समाधान हुदै होइन' अध्यक्ष मोरले भने, परराष्ट्र, अर्थ लगायतका सरकारी निकायसँग भेटेर नै लकडाउन समाधान होइन, चलायमान अर्थतन्त्रको विकल्प छैन भनेका छौं । '


‘लकडाउन विकल्प हुँदै होइन’

राजेशकाजी श्रेष्ठ

अध्यक्ष 

नेपाल चेम्बर अफ कमर्श

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ पनि लकडाउनको हल्लाले व्यवसायीहरु आजित भईसकेको बताउँछन् । छिमेकी देश भारतलै लकडाउनको विकल्प छाडेर सामान्यतर्फ फर्किरहेको यथार्थलाई बिर्सिएर काठमाडौं उपत्यकामा कडा लकडाउन गर्नुपर्छ भन्ने माग राख्नु सरासर गलत भएको उनको भनाई छ। 

कोरोना लागेर निको हुनेहरुको संख्या बढिरहेको बेला निश्चित मापदण्ड बनाएर अवस्था सामान्य बनाउनुपर्ने बेलामा यस्तो प्रस्ताव गरिंदा व्यवसायी मात्र नभई सर्वसाधारण समेत आजित भएको उनको भनाई छ। 

'सरकारले न श्रमिकलाई तलब दिने हो, न बैंकले व्यवसायीलाई ब्याज मिनाहा गर्दिने हो, अहिलेको कठिन अवस्थामा फ्रन्ट लाइनमा काम गर्ने व्यवसायीहरुले लकडाउन विकल्प होइन भनिरहेका छन्' उनले भने, 'कोरोनासँगै जिउन सिक्दै अगाडी बढ्नुपर्छ, अर्थतन्त्र चलायमान बनाउनुको विकल्प छैन। '

'कोभिड १९ का कारण ज्यान जोगाउन आफ्नो देश आएका नागरिक समेत श्रम र ज्यालादारीको लागि भारत फर्किसकेका छन्, यस्तो यथार्थलाई बिर्सिएर कसैले लकडाउन गर्नुपर्छ भन्ने प्रस्ताव गर्छ भने व्यवसायीलाई त्यो स्वीकार्य हुदैन' उनले भने। 


'लकडाउन भए अब छाक टार्न गाह्रो हुन्छ' 

कृष्ण प्रसाद दुलाल

अध्यक्ष 

अटोमोवाइल्स एसोसियसन अफ नेपाल (नाडा)

गाडी व्यवसायीहरुको छाता संगठन अटोमोवाइल्स एसोसियसन अफ नेपाल नाडा का अध्यक्ष कृष्ण प्रसाद दुलालले अर्थतन्त्र चलायमान भएन भने बिहान साँझको छाक टार्न गाह्रो हुने भन्दै लकडाउन अब थेग्न नसकिने बताए। 

उनले भने, 'लकडाउन विकल्प होइन रहेछ भन्ने कुरा पुष्टि भईसक्यो  त्यही भएर हामि व्यवसायी अब लकडाउन स्वीकार गर्न तयार छैनौं, सरकारले पनि बुझ्नु पर्छ यो लकडाउन गर्ने बेला होइन।'


'लकडाउन अन्तिम विकल्प होइन' 

उमेश प्रसाद सिंह

कार्यवाहक अध्यक्ष 

नेपाल घरेलु तथा साना उद्योग महासंघ

साना तथा मझौला प्रकृतिका उद्योगी तथा व्यवसायीहरुको छाता संगठन नेपाल घरेलु तथा साना उद्योग महासंघले पनि लकडाउन गर्ने प्रस्तावको बिरोध गरेको छ। महासंघका  कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले लकडाउन अन्तिम विकल्प नभएको बताए। 

'लकडाउन गर्ने अनि हात बाँधेर बस्ने सरकारको रवैया ठिक भएन, उनले भने, '४ महिना लकडाउन सहेर बस्यौं तर त्यसको उपलब्धि के भयो सरकारले पनि त्यसको जवाफ दिनुपर्यो। '

निश्चित तयारीको लागि लकडाउन गरिने भएपनि सरकारले लकडाउन मात्रै गर्ने तर रोकथाम तथा नियन्त्रणको लागि पर्याप्त परिक्षण पनि नगर्ने परिपाटी भएकाले लकडाउन समाधान नभएको उनको तर्क छ। 

एकातर्फ लकडाउन गर्ने अर्को तर्फ उद्योग व्यवसायीबाट कर पनि उठाउने सरकारको दोहोरो व्यवहारले उद्योगी व्यवसायीलाई टर्चर भएको भन्दै मेयर र जनप्रतिनिधिले गरेको लकडाउनको प्रस्ताव गलत भएको उनले बताए। 


लकडाउनको सिफारिस गर्नु गलत 

विनायक शाह

उपाध्यक्ष

होटल एशोसियशन अफ् नेपाल (हान)

होटल एशोसियशन अफ् नेपाल (हान) का उपाध्यक्ष विनायक शाहले जनप्रतिनिधि र सरकारी अधिकारिले कडा लकडाउन गर्नुपर्ने प्रस्ताव गरेकोमा आपत्ति जनाएका छन्। अर्थतन्त्र चलायमान नहुँदा उद्योग व्यवसाय धरासायी भएको अवस्थामा फेरी लकडाउन गर्ने प्रस्ताव गैरजिम्मेवार भएको उनको भनाई छ। 

पर्यटनमन्त्रीले सामान्यीकिकरण गर्ने भनिसकेको अवस्थामा जनप्रतिनिधि र सरकारी अधिकारिबाट यस्तो प्रस्ताव आउनु गलत भएको भन्दै उपाध्यक्ष शाहले लकडाउन विकल्प नभएको बताए। 

'खान नपाएकालाई टुँडिखेलमा खाना खुवाउँदा बिरोध गर्ने अनि आफुले पनि अप्ठ्यारामा परेकालाई नहेर्ने नगरपालिकाले अब हामीलाई हेर्छ भन्ने आश छैन' उनले भने, 'त्यसैले हामीलाई लकडाउन अब स्वीकार्य छैन। '

स्थानीय करमा छुट पनि नदिने, घरभाडा, बिजुली बत्तिको बिल, जस्ता कुनै पनि कुरामा राहत नदिने मेयरले लकडाउनको प्रस्ताव गर्नु सरासर गलत भएको उनको भनाई छ। 


'अर्थतन्त्र चलायमान बनाउनुको विकल्प छैन'

रुपेश जोशी

कोषाध्यक्ष 

वायु सेवा संचालक संघ नेपाल

वायु सेवा संचालक संघ नेपालका कोषाध्यक्ष तथा बुद्द एयरका बजार निर्देशक रुपेश जोशीले सरकारले यसअघि गरेको लकडाउनले खान नपाउने बनाउनुको बाहेक अरु कुनै उपलब्धि नभएकाले फेरी लकडाउन गर्नुको कुनै अर्थ नभएको बताए। 

सरकारले ६ महिना लकडाउन गर्दा भेन्टिलेटर पनि नथपिएको, आइसीयु पनि नथपिएको र पूर्वाधार थप्ने लगायतका कुनै पनि काम नभएकाले फेरी लकडाउन गर्नुको औचित्य पुष्टि हुनुपर्ने उनले बताए। 

लकडाउन गर्दा कोरोना हराउँछ भन्ने कुनै ग्यारेन्टी नभएकाले प्रोटोकलको पालना गराएर अर्थतन्त्र चलायमान बनाउनुको विकल्प छैनु उनले भने, फेरी लकडाउन गरेर अब रोगले होइन भोकले मरिन्छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved