बिजुली प्रयोग गरेर बन्छ ‘गुड ब्रिक’ इट्टाः ५ दिनमै तयार, मूल्य पनि आधा जस्तो

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 11, 2021 | 12:51:15 PM मा प्रकाशित

laxmi  sunrise bank

हामीले भट्टामा पोलेर बनाएका इँट्टा प्रयोग गर्दै आएका छौँ । तर, अब प्रविधिको विकाससँगै भट्टामा पोलेर मात्र नभई विद्युतीय प्रविधिबाट इँट्टा बनाउन थालिसकिएको छ । नेपालमा पनि ‘गुड ब्रिक सिस्टम’ (असल इँट्टा पद्धति) भित्रिसकेको छ ।

इन्नोसियसआर नेपाल प्रा.ली.ले वायु प्रदूषणरहित दक्षिण कोरियन प्रविधि भित्र्याएको हो । यस प्रविधि अन्तर्गत इँट्टालाई पोल्नुको सट्टा स्वयल स्टेवीलाइजर, माटो र सिमेन्ट स्वचालित प्रविधि प्रयोग गरी ५–७ दिनमै प्रयोग योग्य बनाईन्छ ।

२ वर्ष लगाएर सम्भाब्यता अध्ययन

सन् २०१८ मा नेपाल भित्रिएको यस प्रविधिले २ वर्ष सम्भाव्यता अध्ययन गरेको छ । देशका १५ सय भन्दा बढी स्थानको माटो र भूगोल समेतको अध्ययन पश्चात बल्ल उत्पादन सुरु भएको हो ।

कम्पनीका सेल्स म्यानेजर दिपेश खनालका अनुसार २ वर्ष गरिएको सम्भाब्यता अध्ययन मा समावेश देशका १५ सय बढी ठाउँमध्ये ९५ प्रतिशत बढी ठाउँको माटो यो प्रविधिबाट इँट्टा बनाउन योग्य पाईएको छ । उनका अनुसार नेपालको हरेक क्षेत्रमा यस पद्दतिबाट इँट्टा उत्पादन गर्न सकिन्छ ।

हरेक सिजन उत्पादन

इन्नोसियसआरले भित्र्याएको प्रविधि अनुसार इँट्टा बनाउन कुनै एक सिजनमा मात्रै भर पर्नु पर्दैन । हिउँदमा मात्रै हुँदै आएको इँट्टाको उत्पादन अब बाह्रै महिना गर्न सकिने भएको छ ।

आवश्यकताका आधारमा धेरै र थोरै परिमाणमा उत्पादन गर्न मिल्ने र जुनसुकै सिजनमा उत्पादन गर्न सकिने भएकाले यो प्रविधि लोकप्रीय बन्नेमा इन्नोसियसआर विश्वस्त छ ।

कसरी बन्छ नपोली बनाइने इँट्टा ?

कोइला बालेर पोलेर तयार भएको इँट्टा प्रयोग गर्दै आएको हाम्रो समाजले प्रविधिलाई झट्ट विश्वास गर्ने अवस्था अझै पनि विकास भईसकेको छैन । तर, इन्नोसियसआरले बनाउने इँट्टामा ‘स्वयल स्टेवीलाइजर’ प्रयोग गरिएको हुन्छ । यसले २८ दिन लगाएर पोलेर तयार पारिएको जस्तो इँट्टा ५–७ दिनमै तयार पार्छ । 

इन्नोसियसआरले बनाउने यस्तो इँट्टामा माटो, सिमेन्ट र स्वयल स्टेवीलाइजरको उचित अनुपातमा प्रयोग गरिन्छ । स्वयल स्टेवीलाइजर भनेको माटो र सिमेन्टलाई जोडेर मजबुत बनाउने सेतो रङ्गको पदार्थ हो ।

स्वयल स्टेवीलाइजरले इँट्टामा प्रयोग भएको माटो र सिमेन्टलाई बलियोसँग एक अर्कामा जोड्ने काम गर्छ । हाल यसको उत्पादन कोरियामा इन्नोसियसआर आफंैले गरिरहेको छ र नेपालमा हालका लागि स्वयल स्टेवीलाइजर कोरिायबाटै आयात हुन्छ । कम्पनीले निकट भविष्यमा यो कच्चा पदार्थ नेपालमै उत्पादन गर्ने लक्ष्य लिएको छ । 

कोरियामा प्रमाणित प्रविधि

कोरियामा यस्तो इँट्टा प्रयोगमा आएको १० वर्ष बढी भईसकेको छ । ठूला शहर, अपार्टमेन्ट लगायतमा पनि यस्ता इँट्टाको प्रयोग बढ्दो छ । इन्नो सियसआरका सिनियर सेल्स म्यानेजर तथा सोयल इन्जिनियर रमेश न्यौपानेका अनुसार नेपालमा यस्तो इँट्टाको व्यवसायीक उत्पादन सुरु भएको डेढ वर्ष भएको छ ।

डेढ वर्ष अघि गोरखाको पालुङटारस्थित फ्याक्ट्रीबाट ‘गुड ब्रिक’को उत्पादन थालिएको हो । पालुङटार आसपासका घरहरुमा यो इँट्टा प्रयोग पनि भईसकेको छ । तर, अहिले कोरोना महामारीका कारण उत्पादन रोकिएको छ । कोरोना कालकै यो अवधिमा बाँकी थप पूर्वाधार जडान गरेर उत्पादन बढाउने तयारीमा उद्योग छ ।

मार्केटिङ म्यानेजर सलका रेग्मीका अनुसार यस्तो इँट्टाको आयु अरु इँट्टाको जस्तै हुन्छ । 

‘हामीले कोरीया, नेपाल तथा अरु देशका एक्सपर्टहरुबाट टेष्ट गरेका छौँ। भक्तपुरमा हाम्रो आफ्नै टेष्ट सेन्टर छ’ उनले भनिन्, ‘माटो टेष्टदेखि टेक्नोलोजी सेट अपसम्म सबै कामका लागि हामीसँग मेकानिकल र सिभिल इन्जिनियरहरु हुनुहन्छ । सबै उत्पादन समान गुणस्तरको  हुन्छ । ग्राहकले यस इँट्टा प्रयोग भएको पर्खालमा प्लास्टर गर्नै पर्छ भन्ने छैन । समान मिलेको आकार भएकाले प्लास्टर बिना पनि पर्खाल दुबैतर्फ एक समान देखिन्छ ।’ 

मूल्य र गुणस्तर

एउटा असल इँट्टाको मूल्य अरु इँट्टाकै जस्तै पर्ने इन्नोसियसआरले जनाएको छ । यो इँट्टा नेपालको बयिलोपना गुणस्तरकोे मापदण्ड (३.५ एमपीए) सहित विश्वव्यापी गुणस्तरको मापदण्ड (८ एमपीए) पूरा भएको इँट्टा हो । औसतमा ‘गुड ब्रिक’को सीएसटी १० एमपीए भन्दा माथी रहेको छ ।

के के छन् अरु विशेषता ?

कोइलाको प्रयोग नहुने भएपछि कोइला खरिदका लागि बाहिरिने नेपाली रुपैयाँको बचत भयो । हाल सञ्चालनमा रहेका परम्परागत इँट्टा उद्योगमा ७० प्रतिशत बढी कामदार भारतीय छन् । तर, इन्नोसियसआरले भित्र्याएको गुड ब्रिक सिस्टममा विदेशी कामदार चाहिँदैन । थोरै स्वदेशी जनशक्तिबाटै धेरै इँट्टा उत्पादन गर्न सकिन्छ ।

अर्को सबैभन्दा उत्कृष्ठ पक्ष भनेको यो पर्यावरणीय दृष्टिकोणले पनि राम्रो छ । किनकी, कोइलाको सट्टा स्वयल स्टेवीलाइजर प्रयोग हुने भएकाले धुँवा निस्किने ‘चान्स’ नै भएन ।

ठूलो क्षेत्रफल जग्गा पनि नचाहिने भएकाले यो प्रविधि धेरै फाइदाजनक रहेको इन्नोसियसआरको दाबी छ ।

अर्को विशेषता भनेको, यो ५–७ दिनमै तयार हुन्छ । जबकी बजारमा पाइने इँट्टा तयार हुन कम्तीमा २८–३० दिन लाग्छ । 

यस प्रकारको इँट्टा उद्योग स्थापनाका लागि अहिले चल्तीमा रहेका इँट्टा उद्योगको तुलनामा ५० प्रतिशत लागत कम लाग्ने गर्दछ ।

यसका साथै, नेपालमा उत्पादित बिजुलीको खपत पनि बढ्ने छ ।

धमाधम खुल्दै उद्योग

अहिले इन्नोसियसआरको ‘कन्सल्टिङ’मा गोरखाको पालुङटारमा उद्योग सञ्चालित छ । इन्नोसियसआरले असल इँट्टा पद्धतिेमा आबद्ध ब्यवसायीलाई नयाँ प्रविधिमा काम गर्न प्रविधिमैत्री बनाउन आवश्यक कार्य पनि गर्दै आएको छ । 

अहिले महेन्द्रनगर, धनगढी, काभ्रे लगायतका दर्जन बढी स्थानमा यो प्रविधिमा आधारित इँट्टा उद्योग खुल्ने अन्तिम तयारीमा छन् । 

शहरी विकासदेखि सामान्य घर निर्माणसम्म प्रयोगका लागि योग्य मानिने यो इँट्टाको उत्पादनले नेपालमा प्रविधिमैत्री र वातानुकुलित औद्योगीकरणको सम्भावना झन चुलिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved