नाडा अटोमोबाइल्स एसोसियन अफ नेपालको चुनावी साधारणसभाको मिति तय भएसँगै विभिन्न पदका आकांक्षीहरु आफ्नो तयारीमा जुटेका छन् । पौष २० र २१ गते हुने नाडाको ४७औँ साधारणसभाबाट अध्यक्ष बन्ने लक्ष्यका साथ मैदान उत्रिएका आकाश गोल्छाले पनि आफ्नो तयारी तीव्र पारेका छन् ।
२३ वर्षदेखि अटोमोबाइल्स व्यवसायमा सक्रिय रहेका गोल्छाले १७ वर्षदेखि नाडामा जोडिएर विभिन्न भूमीकामा काम गरिसकेका छन् । देशभरीका साथीहरुसँग विभिन्न समयमा भेटघाट र छलफल हुँदा उनीहरुले आफूलाई नेतृत्वमा देख्न चाहेपछि आफू अध्यक्षको प्रत्याशी बनेको उनको आफ्नो भनाई छ ।
त्यसो त, सबैसँग सहज पहुँचमा रहने र व्यवसायीका अफ्ट्याराहरुका सम्बन्धमा कतै सहजीकरण गर्नुपर्यो भने जुनसुकै बेला पनि तयार भइहाल्ने उनको स्वभावले उनीप्रति अटोमोबाइल्स व्यवसायीहरु सकारात्मक छन् भन्ने कुरा नकार्न सकिँदैन । तर, चुनाव हुने सम्भावना भएकाले चुनावी नतिजा नआएसम्म कसको पल्लाभारी हुन्छ यसै भन्न सकिने अवस्था पनि हुँदैन । विगतमा चुनाव हुँदै आएको इतिहास भएकाले नाडामा यसपाली पनि सर्वसम्मत नेतृत्व चयन भन्दा पनि चुनावकै सम्भावना पनि बढिरहेको छ । यस्तो अवस्थामा हामीले अध्यक्षका प्रत्याशी गोल्छासँग उनको चुनावी तयारी, नेतृत्वमा आउन खोज्नुको कारण र उनका एजेन्डाबारे कुराकानी गरेका छौँ ।
प्रस्तुत छ कुराकानीको सम्पादित अंशः
नाडाको आगामी नेतृत्वका लागि चुनावी मैदानमा होमिनु भएको छ, यसको पृष्ठभूमी कसरी तयार भयो ?
मैले अटोमोबाइल्स क्षेत्रमा २३ वर्ष बिताउँदा धेरै कुरा बुझ्ने मौका पाएको छु । अटोमोबाइल्सका हरेक कम्पोनेन्टसँग म जोडिएको छु । गाडीदेखि स्पेयर पार्टस् र टायर लुब्रिकेन्टसम्मका व्यवसायका समस्या मैले नजिकबाट बुझेको छु । गाडीमा डिजेल, पेट्रोल र इलेक्ट्रिक सबैखाले गाडीको आयात गर्ने भएकाले यसका समस्या नजिकबाट बुझेको छु ।
सँगै, मैले नाडाको आगामी नेतृत्वका रुपमा आफूलाई उभ्याउँदै गर्दा किन यो निर्णयमा पुगियो भन्दा यसका केही स्टेपहरुमा जवाफ दिन सकिन्छ । पहिलो कुरा, म जुन व्यवसायिक परिवारको प्रतिनिधित्व गर्छु, यो परिवार ५० वर्षदेखि अटोमोबाइल्स व्यवसायीमा छ । म बच्चा बेलादेखि नै गाडी, मोटरसाइकल लगायतका अटोमोबाइल्स क्षेत्रसँग रुची राख्थेँ । रुचीकै कारण मैले सानै उमेरमा गाडी चलाउन सिकेको पनि थिएँ । त्यतिबेला अहिले जस्तो ट्राफिक नियम कडा पनि थिएन । म एसएलसीसम्म यहाँ अध्ययन गरेर उच्च शिक्षाका लागि बाहिर गएँ । बाहिर पढाई सकेर फर्किएपछि सौभाग्यवश गाडीको व्यवसाय हेर्ने मौका पाएँ । शेखर काकाले मोटरसाइकल हेर्दै हुनुहुन्थ्यो, मेरो बुबा गाडी हेर्नुहुन्थ्यो । मैले बुबाको मातहतमा बसेर गाडीको व्यवसाय हेर्ने मौका पाएको थिएँ । शेखर काकाले बाइक तर्फ नेतृत्व गर्दा उहाँसँग धेरै कुरा सिक्न पाएँ । यो सन् २००० को कुरा हो ।
त्यतिबेलादेखि अहिलेसम्म म अटोमोबाइल्स व्यवसायमा सक्रिय छु । यो बीचमा मैले विभिन्न ब्राण्डमा काम गरेको छु । गाडी, मोटरसाइकल, टायर, ट्याक्टर, लुब्रिकेन्ट, बाइक, स्पेयर पार्टस् लगायत अटोमोबाइल्स क्षेत्र जोडिने सबै खालका व्यवसायको अनुभव छ, यसका असजिलाहरु मैले नजिकबाट बुझेको छु ।
दोस्रो कुरा, मसँग व्यवसायको मात्रै नभई नाडामा पनि १७ वर्ष काम गरेको अनुभव छ । विभिन्न समितिमा बसेर काम गरेको छु । यसको अर्थ, मलाई अटोमोबाइल्स क्षेत्रका समस्या मात्रै होइन, अर्थ मन्त्रालय, राष्ट्र बैंक, भन्सार विभाग, वाणिज्य विभाग लगायतका निकायसँग समाधानका उपायसहित छलफल गर्न पनि सक्छु ।
तेस्रो कुरा, गएको २ वर्षमा निकै ठूलो चुनौतिको सामना हामीले गर्नुपर्यो । समग्र अर्थतन्त्र नै मन्दीमा गएका बेला सबै खालका उद्योग व्यवसायमा समस्या थियो, यसको सबैभन्दा ठूलो मर्का अटोमोबाइल्स व्यवसायीलाई पर्यो । सबैभन्दा पहिला तरलता अभाव भयो, त्यसपछि विदेशी मुद्राको सञ्चिति घट्यो । यसैलाई देखाएर आयातमा १०० प्रतिशतसम्म नगद मार्जिनको प्रावधान आयो । पछि त आयात बन्द नै पनि गरियो । यसले निकै ठूलो झड्का लाग्यो । लगत्तै राष्ट्र बैंकले जोखिमभार १५० प्रतिशतसम्म पुर्यायो । चालु पूँजी कर्जा निर्देशिका पनि ल्यायो । एकातर्फ व्यापार छैन, अर्कातिर ठूलो ऋणको दायित्व तत्काल तिर्नुपर्छ भन्ने कुरा आयो ।
यसमा हामीले नाडाको तर्फबाट विज्ञप्ति दिने मात्रै नभई प्रिजेन्टेशन नै गरेर राष्ट्र बैंक, अर्थ मन्त्रालय लगायतका निकायका अधिकारीहरुलाई बुझाउने प्रयास गर्यौ । केही हदसम्म उहाँहरु कन्भिन्स हुनुभयो र अहिले पोलिसीमा केही सुधार देखिएको छ । यद्यपी, यो पर्याप्त छैन, अझै धेरै सुधारको खाँचो छ भनेर हामीले भनिरहेका छौँ । यस्तो पृष्ठभूमीमा हामी देशका विभिन्न ठाउँमा अटोमोबाइल्स व्यवसायीका समस्या बुझ्न कार्यक्रमका नाममा होस् वा अरु कुनै भ्रमणका बेला होस्, पुगिरह्यौँ । यसरी देशभरी पुग्दा गाडीका आयातकर्तादेखि स्पेयर पार्टस व्यवसायी र सर्भिस सेन्टरका साथीहरुले समेत यसपटक तपाइले नेतृत्व लिनुपर्छ, यसका लागि हामी सहयोग गर्छौँ भनेपछि म तयार भएको हुँ ।
मतदाताले तपाइलाई नै किन रोज्ने ?
पहिलो कुरा, म नाडालाई पर्याप्त समय दिन सक्छु । देशभरीका व्यवसायीको लागि जुनसुकै बेला, जस्तोसुकै समस्या परेमा नाडाको तर्फबाट गर्नुपर्ने सहयोगका लागि म जुनसुकै बेला तयार हुन सक्छु । मलाई जो कोहीले सहजै भेट्न सक्नुहुन्छ । म सबैसँग सहज पहुँचमा बस्नुपर्छ भन्ने मान्यता राख्छु, त्यसैले म सबैको फोन उठाउँछु । उठाउन पाइँन भने पछि आफैँ ‘कल ब्याक’ गर्छु ।
मेरो विगत हेर्नुहुन्छ भने पनि म अटोमोबाइल्स व्यवसायीको हितका लागि जहाँ जहाँ गएर काम गर्नुपर्ने थियो, त्यसमा पछि हटेको छैन । मैले आफ्नो विगतमा पाएको भूमीकाबाट पनि मैले काम गर्न सक्छु भनेर प्रमाणित गरेको छु । त्यहीँ भएर म नाडाको नेतृत्वका लागि योग्य छु भन्ने मलाई लाग्छ । यसको अर्थ अरु साथीहरु, जो प्रतिस्पर्धामा आउन खोजिरहनु भएको छ, उहाँहरु सक्षम हुनुहुन्न भन्ने होइन । तर, म काविल पनि छु, म समय पनि दिन सक्छु भन्ने मेरो प्रतिवद्धता नै छ । यसैकारण म नाडाका ३३ सय मतदाता सदस्य र समग्र अटोमोबाइल्स व्यवसायीको हितका लागि सदैव क्रियाशील रहनेछु । यसमा मलाई सबै व्यवसायीले साथ दिनुहुनेछ र विश्वास गर्नुहुन्छ भन्नेमा ढुक्क छु ।
तपाइले आफ्नो नेतृत्वको टिम कसरी तयार गर्दै हुनुहुन्छ ?
हाम्रो टिम समावेशी बन्छ । यसमा हामीहरुले अटोमोबाइल्सका सबै क्षेत्रको प्रतिनिधित्व गर्दैछौँ । गाडीमा डिजेल, पेट्रोल र इलेक्ट्रिक सबैको सहभागीता गर्दैछौँ । बाइकको प्रतिनिधित्व छ । स्पेयर पार्टस्, टायर, लुब्रिकेन्ट सबैखालका व्यवसाय गर्ने साथीहरु टिममा हुनुहुन्छ । डिलर गर्ने साथीहरु पनि हुनुहुन्छ । यस अर्थमा हाम्रो टिम निकै समावेशी टिम हुनेछ ।
अर्को कुरा भनौँ, म आफू आयातकर्ता छु, मेरै डिलरलाई मैले कार्य समितिमा राख्ने गर्दिनँ । न मेरा व्यवसायिक पार्टनर हुनेछन्, न म आवद्ध कम्पनीबाटै कोही हुनेछन् । म समावेशी टिम बनाएर सबै क्षेत्रको प्रतिनिधित्व गर्नुपर्छ भन्नेमा प्रतिबद्ध छु, मसँग रहनु भएका साथीहरु पनि प्रतिवद्ध हुनुहन्छ । यो किन गर्न लागिएको हो भने, मैले चुनाव जितेर आएँ भने मलाई निरन्तर प्रश्न गरेर नाडाको हितमा, व्यवसायीको हितमा काम गर्न मद्दत होस् भनेर यसो गरेका हौँ । मैले अहिले मेरा पार्टनर, मेरा डिलर्स राखेँ भने म चुनाव जितेर आएँ भने मैले गलत गरेँ भने पनि प्रश्न उठाउने अवस्था हुँदैन । म स्वेच्छाचारी हुन्छु, त्यसैले अहिले टिम बनाउँदा नै यसरी बनाएका हौँ ।
१७ जनाकै टिम तयार भइसक्यो कि अझै केही दिन लाग्छ ?
अहिलेसम्म ९/१० जनाको नाम फाइनल भएको छ । केही दिनमै सबै जनाको नाम टुङ्गिन्छ । अहिले सबैसँग छलफल भइरहेको छ ।
नाडालाई मोफसलका व्यवसायीको आवाज उठाउँदैन, कर्पोरेट हाउसहरुको मात्रै आवाज बोल्छ, ठूला व्यवसायीको मात्रै समस्या उठाउँछ भन्ने आरोप पनि लाग्दै आएको छ । स्पेयर पार्टस्का बिक्रेतादेखि सर्भिस सेन्टर र वर्कसम्मको आवाज सुन्ने नेतृत्व पाएनौँ भनेर विगतमा आउने गरेको गुनासो चिर्ने एजेण्डा चाहिँ तपाइसँग के के छन् ?
यो कुरा उठेको होइन, कम्प्लेन वा गुनासो आएका होइनन् भनेर म पनि भन्दिनँ । तर नाडाले जानाजान वा नाडाको नेतृत्वले जानाजान त्यस्तो गरेको चाहिँ होइन । सबै खालका व्यवसायीहरु नाडाका लागि बराबर हुन् । सबैलाई समान व्यवहार गर्ने नाडाको नीति रहँदै आएको छ ।
सँगै, हामी देशभरी घुमेका छौँ, हामी नाडाको अहिलेको टिम पनि नेपालभरीका व्यवसायीहरुको अपेक्षा के छन्, समस्या के छन् भनेर बुझिरहेका छौँ । यो किन गरिरहेका छौँ भने, कुन तहको समस्या हो, कहाँबाट सम्बोधन गर्न सकिन्छ भनेर नाडाले त्यसको समाधानको पहल गर्न सकोस् भनेर हामीले यसो गरिरहेका छौँ ।
अर्को कुरा, सबै खालका व्यवसायीहरुले नाडा हाम्रो आफ्नो संस्था हो, यसले हाम्रा मर्काहरु सम्बन्धित निकायमा पुर्याउँछ भन्ने विश्वास दिलाउने हाम्रो प्रयास रहँदै आएको छ, आगामी दिनमा पनि रहन्छ ।
दोस्रो कुरा, म देशभरीका साथीहरुसँग बसेर घोषणापत्र बनाउँदैछु । यसमा धेरै कुरा समावेश हुनेछन् । स्पेयर पार्टसका के समस्या छन्, टायर लुब्रिकेन्टसका के समस्या छन्, आयातकर्ताका के समस्या छन्, भन्सारको समस्या के छ, वाणिज्यको समस्या के छ, राष्ट्र बैंकमार्फत आएका पोलिसीले पारेका समस्या के छन् र तिनको समाधान कसरी गर्ने भनेर हामी घोषणापत्रमै समावेश गर्नेछौँ ।
साथै, हामीले नाडाको सचिवालयलाई थप व्यवस्थित र सक्रिय बनाउने योजना पनि बनाएका छौँ ।
नाडा सचिवालय व्यवस्थित बनाउने भनेर ५/६ वर्षदेखि चुनावी ऐजेन्डा बनिरहेको छ, सामान्य सचिवालय व्यवस्थित बनाउन अध्यक्ष नै हुनुपर्ने हो र ?
बाहिरबाट हेर्दा धेरै हदसम्म यस्तो देखिनु स्वभाविक हो । तर, हामीले व्यवस्थित बनाउन प्रयास नै नगरेको चाहिँ होइन । यसपटक ध्रब सर (अध्यक्ष ध्रुब थापा)ले निकै प्रयास गर्नुभएको छ, केही परिवर्तन भएको छ । महानिर्देशक नै राख्ने भनेर ल्याएका पनि छौँ ।
धेरै कुरा एक दिनमा हुन पनि गाह्रो छ । तर, मैले अहिले नेतृत्व गरेर केही सुधार र फरक गर्न सकेँ भने आगामी दिनमा आउनेले पनि पक्कै राम्रो गर्नुहुनेछ भनेर भविष्यमा आउनेहरुका लागि समेत सोचेर हामी अगाडी बढ्दैछौँ ।
अन्तिममा, नाडाको नेतृत्वलाई उद्योग वाणिज्य महासंघको नेतृत्वमा प्रवेश गर्ने प्रवेश विन्दुका रुपमा समेत हेर्न थालिएको छ । यसका लागि कर्पोरेट हाउस र पूर्व अध्यक्षहरुको समर्थन कसलाई रहन्छ भन्ने कुराले अर्थ राख्छ भनिन्छ । तपाइलाई चाहिँ क–कसको समर्थन छ ?
एफएनसीसीआई, सीएनआई वा अरु कुनै संगठनमा जान नाडामा आउनैपर्छ भन्ने छैन । तर, नाडाको नेतृत्व सम्हालेर कोही सीएनआईको अध्यक्ष बन्नुभएको छ, कोही एफएनसीसीको अध्यक्ष बन्नु भएको छ । यसको अर्थ भनेको अटोमोबाइल्स व्यवसाय भनेको ठूलो क्षेत्र हो, यसको विशेष महत्व र आवश्यकता छ भन्ने हो । जहाँसम्म, म एफएनसीसीआई वा अरु कतै जाने तयारी पो हो की भन्ने शंकाको कुरा छ, मेरो कुनै चाहना छैन ।
एफएनसीसीआईका अहिलेका अध्यक्ष चन्द्र ढकाल हुनुहुन्छ, उहाँको पनि अटोमोबाइल्स व्यवसाय छ, तर नाडाको अध्यक्ष नभएपनि एफएनसीसीआईको अध्यक्ष बन्नुभयो । विष्णु अग्रवाल सीएनआईको अध्यक्ष बन्नुभयो । नाडाको अध्यक्ष नभई पनि अटोमोबाइल्स क्षेत्रका व्यवसायीहरु छाता संगठनको नेतृत्वमा पुग्नु भएको छ । यसकारण, एफएनसीसीआई, सीएनआई वा अरु कुनै संगठनमा नाडाका पूर्व अध्यक्षहरुले नेतृत्व गर्नुभएको कुरालाई हामीले गर्वका रुपमा लिन्छौँ ।
अर्को कुरा, पूर्व अध्यक्ष ज्यूहरुसँग छलफल गरेर मैले उहाँहरुको मार्गनिर्देशा लिएको छु । यहाँ कसको समर्थन छ वा छैन भन्दा पनि पूर्व अध्यक्ष र सबै मतदाताहरुले हामीले उठाएको एजेन्डालाई समर्थन गर्नुभएको छ । हामीहरु के गर्न चाहन्छौँ, त्यसमा उहाँहरुको साथ र समर्थन छ । मलाई व्यक्तिका रुपमा नभई हामीले उठाएका एजेन्डामा सबैको समर्थन छ ।