निषेधाज्ञाका कारण काम गर्न कठिन भएको महासंघको भनाइ, सबै आयोजनाको म्याद थप्न सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2021 | 05:59:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल निर्माण व्यवसायी महासंघले कोभिड–१९ को कारण राजधानीसहित विभिन्न जिल्लामा जारी निषेधाज्ञाका कारण सरकारले तोकेको मापदण्डमा रही निर्माण कार्य संचालन गर्न कठिन भएको बताएको छ । विशुद्ध रुपमा निर्माण सामग्री ढुवानी लगायतका कार्यका लागि प्रयोग भएका गाडीहरूलाई ठाउँ ठाउँमा रोक्न लगाईएको र सहज रुपमा पास समेत उपलब्ध नगराइँदा समस्या भएको महासंघले जनाएको छ । 

एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले निर्माण सामाग्रीका केही उद्योगहरू खुलेपनि तीनका डिलर र वितरक पसलहरू बन्द रहेका कारण निर्माण सामग्रीको अभाव र ढुवानीमा देखिएको समस्या विकराल बन्दै गइरहेको उल्लेख गरेको छ । निषेधाज्ञाको फाइदा उठाउँदै निर्माण सामाग्रीहरूमा गरिएको चर्को मूल्य वृद्धि तत्काल फिर्ता लिने वातावरण बनाउन महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 वैशाख २१ गते सीसीएमसीले जारी गरेको सूचनामा विकास निर्माण सम्बन्धमा सम्बन्धित आयोजनाहरूले नै आवासीय कामदार राखी अनिवार्य रुपले स्वास्थ्य मापदण्ड पालना गर्दै कार्य सञ्चालन गर्ने गराउने उल्लेख भएपनि श्रमीकहरू काम गर्न डराउने स्थिति उत्पन्न भएको महासंघले जनाएको छ । सडक, सिचाईका कामहरु तोकिएकै सिमित स्थानमा नहुने भएकोले संक्रमण सर्ने त्रास रहने र कतिपय स्थानमा सङ्क्रमण फैलने डरले शहरी क्षेत्र र साना तथा मझौला निर्माण स्थलमा जनघनत्व हुने भएकोले निर्माण कार्य गर्न कठिन भएको महासंघको भनाई छ । 

विहान काममा जाने तथा बेलुका निवास स्थलमा फर्कने गरेका कैयन कामदारहरु यस्ता प्रकृतिका हुने, निर्माण सामग्री ढुवानी लोड अनलोड इत्यादि गर्दा एक अर्कासँग प्रत्यक्ष सम्पर्क हुृने र निर्माणस्थलमा खटिएका कोही कसैको संक्रमणले गर्दा मृत्यु भएमा वा संक्रमण भएकाको उपचारमा लाग्ने खर्चका कारण निर्माण व्यवसाय क्षेत्रले क्षति व्यहोर्नुपर्ने स्थिति आएको महासंघको गुनासो छ । 

कतिपय स्थानमा संक्रमण फैलिने डरका कारण स्थानीयले नै काममा अवरोध गर्ने गरेको महासंघले बताएको छ । यस विषम् परिस्थितिमा अब म्याद नथप्ने नियतले काम गर्नु भनेपनि व्यवहारिक रुपमा त्यो सम्भव नदेखिएकाले सरकारले नगरी नहुने केही निर्माण कार्यहरू मात्र संचालन गरी अन्य सम्पूर्ण कार्यहरूको लागि शुन्य समय (कन्स्ट्रक्शन होलिडे) को रुपमा गणना हुने गरी बन्द गरिनु उपयुक्त हुने महासंघको सुझाव छ । सबै परियोजनाहरूमा म्याद थपको कुनै विकल्प नभएको समेत महासंघले प्रष्ट पारेको छ । 

निर्माण व्यवसायीहरूको अरबौं भुक्तानी रोकिएको तथा सङ्क्रमण तीव्र गतिमा फैलिरहेको अहिलेको जटिल अवस्थालाई ख्याल गरी कर बुझाउने र बैङ्क ऋण किस्ता तिर्नका लागि समय थप गरिनुपर्ने माग पनि महासंघले गरेको छ । 

हाल पुर्वाधार विकासका निर्माण कार्य गराइराखेका केही सार्वजनिक निकायहरूले म्याद थप हुन नसकेका निर्माण कार्यहरूको बैंक ग्यारेण्टीको दावी भुक्तानीको लागि सम्बन्धित बैंकहरूमा आवश्यक कारवाही अगाडि बढाएको प्रति आपत्ति जनाउँदै महासंघले उक्त कार्य निषेधाज्ञा अवधिभरका लागि स्थगित गर्न माग गरेको छ । निषेधाज्ञाकाबीच निर्माण कार्य सञ्चालन सम्बन्धमा आगामी दिनमा पासको उपलब्धता, निर्माण सामग्रीको ढुवानी, कामदारहरूको आवतजावत लगायतका कार्य वैज्ञानिक तथा व्यवहारिक ढंगले सूचना जारी गर्न र सोको अक्षरसः कार्यान्यवनका लागि महासंघले सीसीएमसी लगायतका निकाय समक्ष आग्रह गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved