लघुवित्तमा नक्कली ऋणीसम्बन्धी महाभारतको ग्रन्थ नै बनिसक्यो: डेपुटी गभर्नर ढुङ्गाना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2023 | 05:08:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुङ्गाना ‘तिम्सिना’ले लघुवित्त वित्तीय संस्थाहरुमा आर्थिक अनुशासनमाथि कैफियत देखिएको बताएकी छिन् । उनले त्यस्ता कतिपय संस्थालाई त राष्ट्र बैंकले नै नियन्त्रण गर्नुपर्ने अवस्था आएको पनि जानकारी दिइन् ।

काठमाडौँमा आज भएको नेपाल लघुवित्त बैंकर्स संघको १६औँ वार्षिक साधारणसभामा डेपुटी गभर्नर ढुङ्गानाले भनिन्, “लघुवित्त वित्तीय संस्थाहरुमा नक्कली ऋणको महाभारतको ग्रन्थ बनेको छ, त्यस्तो अवस्था देख्दा साह्रै नमजा लाग्छ, लघुवित्त वित्तीय संस्थाको उद्देश्य त्यो होइन ।”

शेयरधनीको हितमा मात्रै नहेरी महिला, लघु उद्यमी तथा ग्रामिण क्षेत्रका नागरिकको हित संरक्षण गर्ने गरी अघि बढ्न पनि उनले संघलाई सुझाव दिएकी छिन् । उनले आत्मसमीक्षा र मुल्याङ्कन पनि लघुवित्तलाई आग्रह गरेकी छिन् । 

लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जा अनुपात ३ दशमलव २८ प्रतिशत रहेको जानकारी दिँदै उनले भनिन्, “तराइका एक जिल्लामा छोराको विहे गर्न ऋण लिएको र पछि समस्या परेको कुरा आयो, यस्ता आफ्नै कमजोरीका बारेमा पनि स्मरण गराउन चाहन्छु ।”

उनले लघुवित्तका ऋणीहरुको ऋण तिर्नसक्ने क्षमताका साथै उत्पादनशिल क्षेत्रमा लगानी गर्न पनि आग्रह गर्दै अनुुत्पादक क्षेत्रमा ऋण लगानी भएकोमा दुख जनाइन् । उनले पटकपटक नविकरण गर्ने कुरातर्फ सङ्केत गर्दै त्यसबाट बढी सेवा शुःल्क लिने योजना बनाएकोतर्फ ध्यानाकर्षण पनि गराइन् । उनले लघुवित्त वित्तीय संस्था नाफामुखी हुन नहुनेमा जोड दिइन् ।

फरक प्रसङ्ग जोड्दै उनले मुलुकको आर्थिक क्षेत्रमा केही सुधार देखिएको र त्यसले बैंकको व्याजदर कम होला भन्ने आशा राखिएको बताइन् । डेपुटी गभर्नर ढुङ्गानाले यसतर्फ राष्ट्र बैंक संवेदनशिल रहेको र त्यही आधारमा छलफल पनि चलाइरहेको जानकारी गराइन् ।

बैंकको ब्याजको सम्बन्धमा भइरहेको आन्दोलनतर्फ इङ्कित गर्दै ढुङ्गानाले लिएको ऋण तिर्न सक्दिन भन्नु आर्थिक अपराध भएको कुरामा राष्ट्र बैंक स्पष्ट रहेको बताइन् । 

यसमा राष्ट्र बैंक बोलेन भन्नुभन्दा पनि आफू कसरी सुधार हुने भन्ने विषयमा पनि उनले ध्यानाकर्षण गराइन् । लघुवित्त वित्तीय संस्थाले पेमेन्ट सर्भिस प्रोभाइडरको अनुमति लिन थालिसकेको जानकारी गराउँदै डेपुटी गभर्नर ढुङ्गानाले त्यसतर्फ सचेत हुन आग्रह गरिन् । 

“प्रविधिको प्रयोग गर्न सजिलो छ, तर सुरक्षा र जोखिमको पाटो अत्यन्त महत्वपूर्ण छ”, उनले भनिन्, “हिजो सरकारका साइटहरु डाउन हुँदा प्mलाइट नै बन्द भएको कुरा समाचारमा देखियो, बैंकमा पनि त्यस्तो नहोला भन्न सकिन्न, ध्यान दिनुपर्छ ।” 

चुनौती व्यवस्थापनमा दक्ष जनशक्ति आवश्यक भएको र त्यही अनुसार संस्थालाई तयार गर्नुपर्नेमा उनको जोड थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved