भूकम्प र आन्तरिक समस्याले ३० महिनादेखि बन्द पाँच तारे होटल ‘दी एभरेस्टु पुनः सञ्चालन गरिने भएको छ। यसका लागि होटल मर्मत गर्ने तयारी गरिएको छ। होटल व्यवस्थापनले क्षतिग्रस्त होटल मर्मतका लागि परामर्शदाता नियुक्ति गरिसेकेको छ। होटल मर्मतका लागि परामर्शदाताले काम थालेसँगै होटलका पुराना कर्मचारीले विरोध थालेका छन्।
गत साता कर्मचारीको विरोधपछि होटल व्यवस्थापनलले सुरक्षा माग गर्दै पर्यटन विभागमा पत्र पठाइएको थियो। होटल व्यवस्थापनको मागअनुसार जिल्ला प्रशासन कार्यालयमा सुरुक्षा उपलब्ध गराइदिन अनुरोध गर्दै पत्र पठाइएको विभागका महानिर्देशक दिनेश भट्टराईले बताए। पर्यटन विभागले २०७२ जेठमा रोतो स्टिकर लगाइदिएपछि होटल व्यवस्थापनले होटल बन्द गरेको थियो। होटल बन्द भएको साढे दुई वर्षपछि व्यवस्थापनले मर्मत प्रक्रिया अघि बढाएको हो। बिमा दाबी विवादित भएपछि होटलको मर्मत र सञ्चालनको काम रोकिएको थियो।
स्रोतका अनुसार होटलले भवन पूर्णक्षति भएको भन्दै ठूलो रकम क्षतिपूर्तिबापत दाबी गरेको थियो। तर, बिमा कम्पनीले सामान्य क्षतिमात्र पुगेको भन्दै दाबी भुक्तानी गर्न इन्कार गरेपछि होटलको मर्मत हुन सकेको छैन। अहिले भने होटल व्यवस्थापन र बिमा कम्पनीबीच बिमा रकमका विषयमा दुईपक्षीय छलफल सुरु भएको स्रोत बताउँछ। एभरेस्टको व्यवस्थापनले ३९ करोड ७० लाख रुपैयाँ बिमा दाबी गरेको थियो। अन्नपूर्णपोष्टमा खबर छ ।