के छ दिल्लीमा राष्ट्रपतिको आजको कार्यक्रम ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 18, 2017 | 07:48:13 AM मा प्रकाशित

laxmi  sunrise bank

पाँचदिने भारत भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मध्याह्न नयाँदिल्ली आइपुग्नुभएको छ । भण्डारीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय महिला राज्यमन्त्री कृष्णा राजले स्वागत गर्नुभयो । राष्ट्रपति भण्डारीलाई विशेष अतिथिको सम्मानसहित विमानस्थलबाट सिधै राष्ट्रपति भवन लगिएको थियो । राष्ट्रपति भवनमा राष्ट्रपति भण्डारीसँग दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भेट गर्नुभएको थियो । 


त्यसैगरी, नेसनलिस्ट कांग्रेसका नेता डिपी त्रिपाठी, भारतीय कम्युनिस्ट पार्टीका नेता सीताराम येचुरी, जनता दल युनाइटेडका नेता शरद यादवलगायत नेताले भेट गर्नुभयो । भेटका अवसरमा उहाँहरूले नेपालको संवैधानिक व्यवस्था र समावेशीतामा नेपालले फड्को मारेको विषयमा चासो व्यक्त गर्नुभएको थियो ।


त्यसैगरी, राष्ट्रपतिले आवधिक निर्वाचन सम्पन्न गराउने चुनौतीलगायत नेपालको संविधानमा महिला, सीमान्तकृत महिलाको अधिकारको सुनिश्चिततालगायत सवल पक्षबारे बताउनुभएको राष्ट्रपतिका सल्लाहकार डा.मदनकुमार भट्टराईले जानकारी दिनुभयो ।राष्ट्रपति भण्डारी मंगलबार औपचारिक कार्यक्रममा सहभागी हुनुहुनेछ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलगायत ३४ जनाको टोली राष्ट्रपतिसँग छ । राजकीय भ्रमणको परम्पराअनुसार उहाँलाई भारतीय राष्ट्रपति भवनमा राखिएको  खबर आजको अन्नपूर्ण पोस्टमा छ । 


आज राष्ट्रपति, प्रधानमन्त्रीसँग भेट

भण्डारीले मंगलबार भारतीय राष्ट्रपति मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । अधिकांश भेटवार्ता त्यही दिन हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ । भारतीय उपराष्ट्रपति हमिद अन्सारी, भारतीय विदेशमन्त्री सुस्मा स्वराज, भारतीय गृहमन्त्री राजनाथ सिंह अर्थमन्त्री अरुण जेट्लीलगायतले भण्डारीसँग मंगलबार भेटवार्ता गर्नुहुनेछ ।


मंगलबार साँझ भारतीय राष्ट्रपतिले भण्डारीको स्टेट ब्यांक्वेट दिने कार्यक्रम छ । मंगलबार नै राष्ट्रपतिले भारतीय उद्योगी र व्यापारीले आयोजना गर्ने बिजनेस इभेन्टमा सहभागिता जनाउने कार्यक्रम छ । दिल्लीपछि राष्ट्रपति भण्डारीले गुजरात र उडिसाको भ्रमण गरी द्वारिका, सोमनाथ र पुरीस्थित मन्दिरमा पूजा–अर्चना गर्ने कार्यक्रम छ । दिल्लीस्थित जमुना बायोडाइभर्सिटी पार्कको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ ।


राष्ट्रपतिको सम्मानमा नेपाली दूतावासले सोमबार साँझ स्वागत कार्यक्रम आयोजना गर्‍यो । त्यसअवसरमा उहाँले नेपालको नेतृत्वदायी भूमिकामा महिला सहभागिताको अनुपातले विश्वका महिलालाई गौरवान्वित बनाएको बताउनुभयो । भण्डारीले महिला सशक्तीकरणको हकमा नेपाल निकै अगाडि रहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा भारतमा रहेका प्रवासी नेपालीलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘संसारभरका महिलाको व्यथा एउटै छ, महिला विभेदमै छन् । विश्वमा नेपाल मात्र त्यस्तो मुलुक हो, जहाँ संवैधानिक पद, राष्ट्रपति तथा सर्वोच्च अदालतसम्म महिला नेतृत्वदायी भूमिकामा पुगेका छन् । ‘नेपालको संविधानले स्थानीय निर्वाचतमार्फत ४० प्रतिशत महिलाको अधिकार सुनिश्चित गरेको छ । २० प्रतिशत दलित महिलालाई स्थानीय निर्वाचनमार्फत चुनिएर आउने अधिकार प्रदान गरेको छ, योभन्दा असल संवैधानिक व्यवस्था के होला’, संविधानका सबल पक्षलाई विश्लेषण गर्दै राष्ट्रपतिले भन्नुभयो ।

नेपाल शान्ति विकास स्थायित्वतर्फ अघि बढिरहेको भन्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘सबै मिलेर लोकतन्त्र स्थापना गर्‍यौं, आगामी दिनमा नेपालको विकासका लागि अन्तर्राष्ट्रिय समुदायको सद्भाव पनि उत्तिकै आवश्यक छ ।’

राष्टपति भण्डारीले तीन तहको चुनाव गराउनुपर्ने संवैधानिक व्यवस्थाअनुरूप नेपालमा हुन लागेको स्थानीय निर्वाचनमा प्रवासमा बसेका नेपालीको सहयोग र योगदान महत्वपूर्ण हुने बताउनुभयो । उहाँले स्थानीय निर्वाचनमा मताधिकार प्रयोग गर्न प्रवासमा रहेका नेपालीलाई आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रवासमा बसोवास गरिरहेका नेपाली मुलुकका सद्भावना दूत हुन् । नेपालको विकासमा उहाँहरूको महत्वपूर्ण भूमिका रहन्छ ।’


दिल्लीस्थित दूतावासमा विवाद

राष्ट्रपतिको सम्मानमा बारम्बार रोडस्थित दूतावास परिसरमा मञ्च बनाएर स्वागत कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा भारतीय व्यवसायीको छाता संगठन एभरेस्ट चेम्बर अफ कमर्सद्वारा प्रायोजित ब्यानर दूतावासको मुख्यद्वारदेखि वरिपरिको वालमा टाँगिएको थियो । दूतावासको स्वीकृति लिएर सो ब्यानर टाँगिएको थियो । त्यसैगरी, वाइवाइ चाउचाउको ब्यानर पनि दूतावास परिसरको स्वागत मञ्चस्थलमा टाँगिएको थियो । यो ब्यानर राख्न दिएकोमा प्रवासी नेपालीले विरोध जनाएका थिए ।

मुलुकको राष्ट्रपतिको भ्रमणलाई व्यावसायिक बनाउन खोजिएको भन्दै उनीहरूले विरोध गरेका थिए । यो कदमको विरोधमा एमाओवादीको भ्रातृसंगठन अखिल भारतीय एकता मञ्चका सदस्यले कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिएका थिए । ‘यसरी राष्ट्रपतिको स्वागतमा कुनै संघसंस्था तथा प्रोडक्टलाई विज्ञापन गर्न दिनु, ब्यानर नै लगाउनु गलत हो,’ प्रवासी नेपाली संघ भारतका केन्द्रीय अध्यक्ष लोकनाथ भण्डारीले भन्नुभयो । प्रवासी नेपाली संगठनले दूतावास अधिकारीसँग निकै चर्को विरोध गरेपछि यी ब्यानर हटाइएको थियो ।

नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे, प्रवासी नेपाली संघका अध्यक्षलगायत केन्द्रीय सदस्य गोपाल थापालगायतको पहलमा ब्यानर हटाइएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved