विराटनगर महानगरपालिकाको मतपरिणाम आउन अझै तीन हप्ता लाग्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 02, 2017 | 07:48:27 AM मा प्रकाशित

laxmi  sunrise bank

अहिलेकै गतिमा मतगणना जारी रहे विराटनगर महानगरपालिकाको अन्तिम परिणामका लागि कम्तीमा ५ सय ४ घन्टा अर्थात् तीन साता प्रतीक्षा गर्नुपर्ने देखिन्छ । ८० हजार ४ सय ७७ मत खसेको विराटनगरमा सात केन्द्र बनाएर मतगणना गरिँदै छ ।

गत बिहीबार साढे ४ बजेबाट सुरु भएको मतगणनामा शनिबार साढे ४ बजेसम्म करिब आठ हजार मत मात्रै गणना भएका छन् । यही रफ्तारमा पूरै मतगणना सकिन २१ दिन कुर्नुपर्नेछ । विराटनगर उपमहानगरमा १९ वडा छन् । एउटा वडाको मत गन्न कम्तीमा पाँच दिन लाग्ने देखिएको छ ।

मुख्य निर्वाचन कार्यालयले मतगणना छिटो सक्न गणना केन्द्र बढाउने प्रयास गरेको छ । तर, कर्मचारी अभाव भएकाले गणना केन्द्र थपिन सकेका छैनन् । निर्वाचन कार्यालय मोरङका अनुसार जिल्लाका सबै तहको मतगणना गर्न ८५ टिममा तीन सय गणक तीन सिफ्टमा खटिएका छन् । क्षेत्रीय निर्वाचन अधिकृत प्रेमप्रसाद सञ्जेलले मतगणना छिटो गर्न कर्मचारीको संख्या बढाइने बताए ।

मोरङका आठ नगरपालिका र आठ गाउँपालिकामा पनि मतगणना सुस्त रहेको छ । मतपत्र धरै ठूलो र चिह्न धेरै भएकाले गणनामा समय धेरै लाग्ने गरेको निर्वाचन कार्यालयले जनाएको छ । मतगणनामा धेरै समय लागेपछि मतदाता पनि निराश हुन थालेका छन् ।

उपमहानगरमा उस्तै ताल

धरान स् धरान उपमहानगरमा मतगणनाको चौथो दिनससम्म तीनवटा वडाको मात्रै नतिजा आएको छ । ५३ हजार ७६९ मत खसेकोमा चार दिनमा करिब सात हजार मत मात्रै गणना भएको छ । यही गतिमा गणना हुँदा अन्तिम नतिजा आउन अझै कम्तीमा २५ दिन लाग्नेछ । प्रमुख निर्वाचन अधिकृत जयप्रसाद महतले गणनाको रफ्तार बढाउन एउटा समूहबाट सुरु गरिएको गणना चारवटा समूहमा पुर्याइएको बताए ।

बुटवल स् बुटवल उपमहानगरको अन्तिम परिणाम आउन पनि कम्तीमा सात–आठ दिन लाग्ने देखिन्छ । १५ असार बिहानबाट सुरु भएको मतगणनामा शनिबार साँझसम्म १४ हजार मत मात्रै गनिएका छन् । औसतमा दैनिक चारदेखि पाँच हजार मतगणना भएको छ । बुटवलमा ४९ हजार ८९५ मत खसेको थियो । निर्वाचन अधिकृत भरतमणि पाण्डेले एक साताभित्रै मतगणना सक्ने गरी काम अगाडि बढाइएको बताए ।

नेपालगन्ज स् नेपालगन्ज उपमहानगरको मतगणना सक्न अझै कम्तीमा चार दिन लाग्ने भएको छ । मतगणनाको तीन दिनसम्म करिब १६ हजार मत मात्र गणना भएको छ । ६२ हजार ३९६ मतदातामध्ये ४८ हजार ६७८ ले यहाँ मतदान गरेका थिए । ‘मतगणना छिटो सक्न अहिले गणकको संख्या र ठाउँ पनि थपिएको छ,’ प्रमुख निर्वाचन अधिकृत तेजनारायण पौडेलले भने ।

धनगढी स् धनगढी उपमहानगरमा दुई दिनमा नौ हजार मतगणना भएको छ । १५ असारको बिहान सवा ९ बजेदेखि मतगणना सुरु भएको थियो । ५४ हजार तीन सय ६९ मत खसेको धनगढीमा औसतमा दैनिक ३६ सय मत गणना भइरहेको छ । अहिलेकै रफ्तारमा मतगणना हुँदा अझै कम्तीमा १५ दिनपछि मात्रै परिणाम आउने देखिन्छ ।

दाङ, घोराही र तुल्सीपुर उपमहानगरको परिणाम आउन अझै एक साता लाग्ने भएको छ । दुई स्थानमा समूह थपेर परिणाम सक्दो चाँडो ल्याउने प्रयास गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ५८ हजार ५३९ मत खसेको घोराही उपमहानगरमा तीन दिनमा आधा मत गनिसकिएको छ । तुल्सीपुर उपमहानगरमा भने घोराहीभन्दा मतगणना कार्य ढिलो गतिमा भइरहेको छ । ‘पाँच स्थानमा मात्र गणना गरिरहेकाले तुल्सीपुरमा ढिलाइ भएको हो,’ मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले भने ।

'विराटनगर र धनगढीबाहेकमा एक सातामै परिणाम आउँछ' सूर्यप्रसाद शर्मा,प्रवक्ता, निर्वाचन आयोग

हामीले पहिल्यै जिल्ला मुख्य निर्वाचन अधिकृतलाई धेरै टोली बनाएर छिटो मत गन्न निर्देशन दिइसकेका छौँ । मतगणना गर्ने स्थानको ‘स्पेस’का आधारमा उहाँहरूले त्यो काम गरिरहनुभएकै छ ।

निर्देशनअनुसार काम हुन सक्यो भने विराटनगर महानगर र धनगढीबाहेकका नगरपालिकामा एक साताभित्रै सबै ठाउँको अन्तिम परिणाम पनि आउनेछ । पहिलो चरणमा परिचालित कर्मचारी खटिएको भए सजिलो हुन्थ्यो, तर अभ्यस्त हुन पनि समय लाग्ने भएकाले पनि केही ढिलो हुनु स्वाभाविक हो । तर, पहिलो चरणको तुलनामा गति छिटो नै छ ।  नयाँ पत्रिकामा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved