
बर्ष दिन अगाडीको कुरा हो उनि अर्थात दिवस सापकोटाको घरमा पुजाको कार्यक्रम थियो। पुजा भन्दा हप्ता दिन अगाडी मात्र उनको घरमा पानिको पाइप बिग्रेको थियो र बल्ब पनि फेर्नुपर्ने रहेछ। उनले घर नजिकैको एक जना चिनेको मान्छेलाई पानीको पाइप मर्मत गर्न र इलेक्ट्रोनिकको काम गर्न फोन गरेछन।
पुजाको अघिल्लो दिनसम्म ति चिनेका इलेक्ट्रीसियनले बिग्रेको पानीको पाइप नबनाइदा उनको पुजाको कार्यक्रम योजना बनाए जस्तो राम्रो भएनछ। भारतको दिल्ली स्कुल अफ इकोनोमिसबाट एमबिए सकाएर भर्खरै नेपाल फर्केका सापकोटालाई दिल्लीमा मर्मत सेवा दिने केहि कम्पनी याद आएछ। र उनले आफ्ना घर परिवारलाई दिल्लीमा भएको भए त्यहाँका 'अर्बान क्याप' जस्ता कम्पनी हाम्रो घरमा आएर बिग्रेको पानीको पाइप र बल्ब थप्ने काम तुरुन्त गरिदिन्थे भनेछन।
नेपाल फर्के लगत्तै एक कम्पनीमा काम थालेका सापकोटाले नेपालमा पनि यस्तै काम गर्ने कम्पनी भए राम्रो हुने थियो भन्ने कुरा परिवारमा सुनाएछन। परिवारले पनि उनको कुरालाई सकारत्मक लिएछ र त्यस्तै केहि गर्न सल्लाह दिएछन।
सापकोटाले यसरि घर घर, अफिस कार्यालय पुगेर प्लम्बिंग, बिद्युत, कार्पेन्टरी मर्मत सेवा दिने सोच बनाएछन। तर योजना अनुसार काम गर्नका लागि उनीसंग पर्याप्त बजेट भएन। र बजेट जुटाउन र आफ्नो योजनालाई 'एक्सन' मा ल्याउन सापकोटाले विभिन्न व्यवसायी, वित्तीय क्षेत्रमा आबद्ध व्यक्तिहरुलाई आफ्नो योजना सुनाए।
नभन्दै सापकोटाले आफ्नो योजना अनुसार काम गर्नका लागि एउटा बलियो टिम भेट्टाए। र बिभिन्न व्यवसायी, वित्तीय क्षेत्रमा आबद्ध व्यक्तिहरुबाट साथ पाए। र दर्ता गरे हेरचार डटकम प्राइभेट लिमिटेड।
देश भर छरिएर रहेका असंगठित प्राविधिक कामदारलाई संगठित गरि तिनीहरुलाई पनि रोजगारी दिने र ग्राहकबर्गलाई पनि एकै पटक एकै छानामुनिबाट बिभिन्न मर्मत सम्भारको सेवा दिने उदेश्यले सापकोटाले गत मङ्सिरदेखि यसको अध्ययनलाई अगाडी बढाए। बजारमा धेरैबाट सकारात्मक प्रतिकृया पाएका सापकोटाले कम्पनीको कामलाई मृत रुप दिन हेरचार डटकमका लागि कार्यालय र प्राविधिक टिम खोज्न अगाडी बढे।
सापकोटाले भने, 'सुरुमै राजधानीको रिंगरोडलाई कभर गर्ने गरि काम गर्ने योजना थियो तर टिममा हुनुभएका अनुभवी व्यक्तिहरुले सुरुमा कुनै एक ठाउँलाई रोजेर त्यहाँबाट बिस्तारै काम अगाडी बढाउने सुझाब दिनुभयो र त्यहि अनुसार अगाडी बढ्ने निर्णय गरे'।
सुरुमा काठमाडौं स्थित सानोगौचरण बाट सेवा प्रारम्भ गर्नुमा पनि बिशेष कारण रहेछ। सापकोटाले नक्साल आसपासमा कर्पोरेट कार्यालय र बाक्लो बस्ति रहेकाले सानोगौचरणलाई केन्द्रबिन्दु बनाएर हेरचार डटकमको कार्यालय स्थापना गरेका रहेछन।
नयाँ बर्ष २०७५ देखि नै अनलाइन र फोनबाट अर्डर लिई घर तथा कार्यालयमा आवश्यक मर्मत सम्बन्धि सेवा थालेको हेरचार डटकमले स्थापनाको ३ महिनामा नै धेरैलाई सेवा दिइसकेको छ।
सुरुमा लैनचौर आसपास क्षेत्रमा यो सेवा दिने योजना बनाएपनि रिंगरोड बाहिर भक्तपुर लगायतका ठाउँहरुमा समेत अनलाइन र फोनबाट अर्डर आएको सापकोटाले सुनाए। अबको केहि महिनामा नै रिंगरोड़लाई कभर गर्ने गरि बिभिन्न ठाउँमा 'पोइन्ट' स्थापना गर्ने योजना सुनाउदै उनले भने, 'अहिले प्राविधिक सहित १० जनाको टिम छ, बिस्तारै यो टिम ठुलो हुने क्रममा छ, अबका केहि महिनामा नै शाखा बिस्तार गर्छौं।'
हेरचार डटकम
हेरचार डटकम क्लिक गर्ने बित्तिकै प्लम्बिङ, बिद्युत, कार्पेन्टरी, एयर कन्डिसन तथा फ्रिज मर्मत गरि चार बिकल्प देखाउछ। अहिलेलाई वेभसाइट र एप्स निर्माणको क्रममा भएकाले त्यहाँ भएका बिकल्प मध्ये आफुलाई चाहिएको सेवा लिनका लागि वेभसाइटमा उल्लेख फोन नम्बरमा कल गर्नुपर्ने हुन्छ। र फेसबुक पेजमा गएर मेसेजबाट समेत अर्डर दिन सकिन्छ।
फेसबुक पेज मार्फत प्राप्त मेसेज वा फोन कललाई हेरचार डटकमको सेन्टर सर्भरमा सधैं उपलब्ध हुने प्राविधिक टिमले तुरुन्त प्रतिकृया दिन्छन। अर्डर भए बमोजिम हेरचारले अर्डर आएको अफिस वा कार्यालयमा प्राविधिक टिम पठाउँछ। र माग भए बमोजिमका मर्मत सेवा सम्भारका लागि प्राविधिक टिम सम्बन्धित ठाउँमा पुगिहाल्छन।
कति लाग्छ शुल्क ?
हेरचार डटकमले 'मेकिंग योर लाइफ इजी' तपाईको जीवन सहज बनाउछौं भन्ने नारा नै बनाएको छ। प्रविधिलाई प्रयोग गरेर चुस्त गतिमा दुरुस्त काम गर्ने उदेश्य बोकेको हेरचार डटकमले माग बमोजिमको काम गरे बापत प्रति घण्टा ५ सय लिने गर्छ।
यदि तपाई घरमा प्लम्बिङ, बिद्युत, कार्पेन्टरी र एयर कन्डिसन तथा फ्रिज मर्मतको सेवा लिन चाहनु हुन्छ भने तपाईले हेरचार डटकमलाई प्रति घण्टा ५०० तिर्नुपर्छ। तपाईको घरमा पुगेर काम सुरु गरेदेखि काम नसकिदासम्मको समय गणना गरेर प्रति घण्टा ५०० को हिसाबले लिने हुनाले यो शुल्क मितव्ययी नै भएको हेरचारका सहायक प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक दिवस सापकोटाले बताए।
अफिस वा कम्पनीहरुले भने बार्षिक सम्झौता गरेर नै हेरचार डटकम बाट सेवा लिन सक्नेछन। हेरचार डटकमले अफिस वा कम्पनीहरुका लागि बिभिन्न प्याकेज अन्तर्गत सेवा दिने सापकोटाले बताए। प्याकेज अनुसार शुल्क फरक फरक हुने उनको भनाई छ।
लक्ष्य
हाल प्राविधिक सहित १० जनाको टिम रहेको हेरचार डटकम ले आगामी दिनमा टिम बिस्तारसंगै कार्यक्षेत्र समेत बिस्तार गर्ने लक्ष्य लिएको छ। काठमाडौं उपत्यका भित्र क्रमश: १० वटा सेवा कार्यालय संचालन पश्चात देशका प्रमुख शहरहरुमा समेत सेवा बिस्तार गर्दै पाँच बर्ष भित्र करिब १ लाख ग्राहक (घर-अफिस) समक्ष आफ्नो सेवा पुर्याई सन्तुष्टता प्रदान गर्ने हेरचार डटकम ले लक्ष्य लिएको छ।