बैंकहरुले गर्ने शेयर लगानीमा राष्ट्र बैंकले गर्यो कडाई, शेयर बजारमा के पर्छ असर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2021 | 06:38:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शेयर बजारमा लगानी गर्ने लगानीमा कडाई गरेको छ। राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई एकिकृत निर्देशन जारि गर्दै शेयर लगानी सम्बन्धमा थप ब्यबस्था गरेको हो । जस अनुसार बैंक तथा वित्तीय संस्थाले एक वर्षभन्दा कम अवधिको लागि शेयरमा लगानी गर्न पाउने छैनन्। त्यस्तै बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको शेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन् । 

राष्ट्र बैंकले जारी गरेको निर्देशनमा  भनिएको छ 'सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइनेछ । बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको शेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन् ।'

त्यस्तै बैंक तथा वित्तीय संस्थाले खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न पाइने छ। तर, यसअघि (मिति २०७८।०२।१० सम्म) लगानी गरेका शेयर २०७९ असार मसान्तभित्र बिक्री गर्न भने पाइने छ। साथै विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक बैंक तथा वित्तीय संस्थाले ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको शेयरमा लगानी गर्न पाइने छैन । यसअघि (मिति २०७८।०२।१० सम्म) त्यस्तो शेयर खरीद गरेको भए २०७८ पुस मसान्तभित्र बिक्री÷विनिवेश गरिसक्नुपर्नेछ । 

शेयर बजारमा  के पर्छ असर ?

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार राष्ट्र बैंकको निर्देशनलाई सकारात्मक रुपमा लिनु पर्ने बताउछन्। राष्ट्र बैंकले बैंकहरुलाई शेयरमा  लगानी गर्न कडाई गरेर आफ्नो मुख्य काम मै फर्कनको लागि निर्देशन दिएकोले यसलाई सकारात्मक पाटो मान्नु पर्ने उनको भनाई छ । यसबाट बैंकहरुलाई क्वालिटी इन्भेष्टमेन्ट गर्न प्रोत्साहन हुने उनको भनाई छ ।  

त्यस्तै राष्ट्र बैंकले अल्पकालीन लगानी गर्न बैंकहरुलाई रोक लगाएकोले अब बजारमा चलखेल बन्द हुने उनको भनाई छ ।  हालसम्म बैंकहरुले लाभांश दिन नसक्ने शेयरहरु पनि खरिद बिक्रि गरेर छोटो समयमा लाभ लिने गरेकोमा अब त्यो बन्द हुने र यसले बजारमा चलखेल बन्द हुने रौनियार बताउछन् ।  यसले बजारलाई नेचुरल रुपमा चल्न मद्दत गर्ने र शेयर मूल्यमा हुने अस्वभाविक उतारचढाव बन्द हुने उनको भनाई छ । 

लघुवित्तको शेयर खरिदमा रोक लगाईएको र भएको शेयर पनि बिक्रि गर्नु पर्ने प्रावधानले भने लगानीकर्ता सुरुको एक दुई दिन प्यानिक भई प्यानिक सेल गर्न सक्ने उनको अनुमान छ । तर प्यानिक भई शेयर बिक्रि गरि हाल्नु पर्ने स्थिति भने नरहेको उनको भनाई छ ।  उनी भन्छन् ' बैंकहरुलाई आफ्नो शेयर बिक्रि गर्ने समय दिएको छ, उनीहरुले एकै पटक सबै शेयर बिक्रि गर्ने होइन, बिक्रि गर्दा पनि उनीहरुले  पक्कै पनि प्रफिट मै सेल गर्छ, अब बाढी आउँछ भनेर लघुवित्तको शेयर बिक्रि गर्नु पर्ने अवस्था छैन, प्यानिक हुनु पर्दैन ' । तर यो सबै लगानीकर्ताको सेन्टिमेन्टमा भर पर्ने भएकोले लगानीकर्ता प्यानिक भएर बजारमा सुरुका केहि दिनमा  असर गर्न सक्ने उनको भनाई छ ।  तर त्यसरी घटेको समयमा लाभांश दिन सक्ने, राम्रा राम्रा कम्पनीको शेयर खरिद गर्न उनी सुझाव दिन्छन् ।  

त्यस्तै राष्ट्र बैंकको आजको निर्देशनले बैंक तथा वित्तीय संस्थाको नाफामा पनि केहि असर गर्न सक्ने अध्यक्ष रौनियार बताउछन् ।  केहि बैंकतथा वितिय संस्थाले शेयरमा अल्पकालीन लगानी गरेर राम्रै आम्दानी गरेकोले त्यसमा केहि कमी हुन सक्ने उनको भनाई छ ।  तर बैंकहरुसंग भएको शेयर बिक्रि गर्न समय दिएकोले धेरै ठुलो असर नपर्ने रौनियार बताउछन् ।  त्यस्तै शेयरमा लगानी गर्न नपाउने भएपछि बैंकहरु आफ्नो कोर बिजनेशमा फर्किने भएकोले शेयर बजारमा हुने अल्पकालीन आम्दानी मात्र घट्ने तर बैंकको नाफा नै नघट्ने उनको बुझाई छ ।  

केहि शेयर विश्लेषकहरु भने राष्ट्र बैंकको ब्यबस्थाका कारण बैंकहरुको प्रोभिजन पनि बढ्ने सक्ने बताएका छन् ।  एक विश्लेषकले भने 'बैंकहरुलाई शेयर बिक्रि गर्नको लागि समय त दिएको छ तर उनीहरुले शेयर बिक्रि गर्ने समयमा बजार घट्यो भने उनीहरुलाई घाटा हुन सक्छ,  प्रोभिजन पी गर्नु पर्ने हुन सक्छ'। उदाहरण दिदै उनी भन्छन् ' यदि कुनै बैंकले १७ सय  शेयर मूल्य भएको कम्पनीको १ लाख कित्ता १७ करोडमा किनेको छ तर शेयर बेच्ने बेलामा बजार घटेर शेयर मूल्य १२ सय मा पुग्यो भने, शेयर बिक्रि बाट १२ करोड मात्र आम्दानी हुन्छ, यस अवस्थामा घाटा भएको ५ करोड प्रोभिजन गर्नु पर्ने हुनसक्छ'  ।  

साथै बैंकहरुले बजारमा लगानी गर्न नपाउने भएपछि बजारमा आउने रकम कम भई दैनिक कारोबार रकम पनि घट्न सक्ने र यसले ब्रोकरको आम्दानी, र नेपाल सरकारलाई प्राप्त हुने आम्दानी कम हुन सक्ने विश्लेषकहरु बताउछन्  ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved