
 2mb (1).gif)
पुँजी बजारको खेलाडीका रुपमा परिचित हाथवे इन्भेष्टमेन्टले स्टक डिलर कम्पनी खोलेको छ । कम्पनीले पब्लिक कम्पनीको रुपमा हाथवे स्टक डिलर कम्पनी साउन १ गते कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता गरेको हो । कम्पनीको दर्ता नम्बर 264612 रहेको छ भने ठेगाना काठमाण्डौं महानगरपालिका-२६,काठमाण्डौ,बागमती उल्लेख छ ।
यो कम्पनी हाथवे इन्भेष्टमेन्टको सहायक कम्पनीको रुपमा रहेको छ। अम्बिका पौडेल हाथवे इन्भेष्टमेन्टका संचालक हुन् । उनकै समुहले स्टक डिलर कम्पनी दर्ता गरेको हो ।स्टक डिलरमा हाथवेको ९० प्रतिशत लगानी रहेको छ भने बाँकि १० प्रतिशत व्यक्तिगत लगानी रहेको छ । कम्पनीको अध्यक्ष कमल प्रसाद अर्याल रहेका छन् भने संचालकहरुमा सन्दिप शाह, सुधा अर्याल र सागर ढकाल रहेका छन् ।
संचालक शाहका अनुसार हाथवे स्टक डिलर कम्पनीले नियामक निकायबाट स्टक डिलरको अनुमति लिएर स्टक डिलरको काम गर्ने छ । हाथवे इन्भेष्टमेन्टले प्राइभेट इक्विटी भेन्चर क्यापिटल सम्बन्धि कार्य गर्ने, अन्य प्रोजेक्टहरुमा लगानी गर्ने, बजारमा आउने थप औजार उपकरणमा लगानी गर्ने लक्ष्य लिएको छ । शेयर कारोबार स्टक डिलर मार्फत गर्ने र अन्य काम हाथवे इन्भेष्टमेन्ट गर्ने लक्ष्य स्वरुमा स्टक डिलर कम्पनी दर्ता भएको हो ।
शेयर खरिद किनबेचमा मात्र सिमित नरहेर कम्पनीले दायरा बढाउदै लैजाने जनाएको छ । हाल कम्पनीको पुंजी ५० करोड कायम गरिएको छ । पब्लिक लिमिटेडको रुपमा दर्ता गरिएकोले नियामकले अनुमति दिएपछि १५ प्रतिशत शेयर सर्वसाधारणलाई निष्काशन गर्ने कम्पनीले जनाएको छ ।
हाल बजारमा नागरिक लगानी कोषको सहायक कम्पनीको रुपमा नागरिक स्टक डिलर संचालनमा छ । यो नै हालको एक मात्र स्टक डिलर कम्पनी हो ।