सनराइज क्यापिटलले माघ १० गतेबाट सनराइज फोकस्ड इक्विटी फण्ड नामक सामुहिक लगानी कोष योजनाको इकाईहरु निष्काशन गर्ने भएको छ । क्यापिटलले सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सनराइज फोकस्ड इक्विटी फण्ड नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गर्न लागेको हो ।
यस योजनाको आकार १ अर्ब २० करोड रहेको छ । क्यापिटल प्रति इकाई १० रुपैयाँको दरले फण्डको १२ करोड इकाई निष्काशन गर्न लागेको हो । जस मध्ये १ करोड ८० लाख इकाई कोष प्रबर्दक सानिमा बैंकलाई छुट्याईएको छ । बाँकि रहेको १० करोड २० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको १ करोड २० लाख कित्ताको लागि दिन सकिने छ । छिटोमा माघ १३ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा माघ २४ गतेसम्ममा आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । यस म्युचुअल फण्डको अवधि १० वर्ष रहेको छ ।
हाल सनराइज क्यापिटलले सनराइज फर्स्ट म्युचुअल फण्ड र सनराइज ब्लुचिप फण्ड संचालन गरिरहेको छ ।