
धितोपत्र दोस्रो बजार कारोबारमा विदेशमा रहेका गैरआवासिय नेपालीलाई भित्र्याउनेबारे अध्ययन गर्न नेपाल धितोपत्र बोर्डले समिति गठन गरेको छ । बोर्डमा नेपाल चार्टड एकाउन्टेन्ट संस्थाबाट प्रतिनिधित्व गर्ने संचालक सुजन कुमार काफ्लेको संयोजकत्वमा समिति गठन भएको हो।
समितिका अन्य सदस्यहरूमा संचालक बोर्डका विज्ञ सदस्य भोला ढुङ्गाना, बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सदस्य सचिव बोर्डको उपकार्यकारी निर्देशक दीपा दाहाल रहेका छन्।
यस समितिले धितोपत्रको दोस्रो बजार कारोबारमा विदेशमा रहेका गैर आवासिय नेपालीलाई भित्र्याउन तथा उनीहरूको लगानीलाई धितोपत्र दोस्रो बजारमा प्रोत्साहन गर्न प्रचलित कानून बमोजिम आवश्यक व्यवस्था गर्नका लागि अध्ययन प्रतिवेदन सहित नियमावलीको मस्यौदा तयार गर्ने बोर्डले जनाएको छ। उक्त समितिले तीन महिना भित्र गैर आवासिय नेपालीलाई नेपालको पूँजी बजारमा भित्र्याउन आवश्यक नियमावली तर्जुमा गरी संचालक बोर्डमा पेश गर्नेछ ।
यसका अलावा उक्त समितिले उक्त नियमावली कार्यान्वयनका हुनसक्ने कठिनाई पहिचान गरी सोका लागि आवश्यक कार्यविधि समेत सिफारिस गर्नेछ । यसरी प्रस्तावित नियमावलीको कार्यान्वयन पश्चात धितोपत्र बजारमा लगानीकर्ताको संख्या वृद्धि भई तरलता समेत अभिवृद्धि हुने, धितोपत्र बजारको माग पक्ष (Demand Side) बलियो हुने, बजारको अस्थिरता (Volatility) कम भइ मूल्य जोखिम (Price Risk) कम हुने लगायतका सुधार पूँजी बजारमा हुने अपेक्षा बोर्डले गरेको छ।