नेपाल १२ वर्षदेखि अण्डामा आत्मनिर्भर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 03, 2016 | 06:36:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा विगत एक दशकयता वैधानिक रुपमा बिक्री गर्नका लागि छिमेकी मुलुकबाट अण्डा आयात गरिएको छैन । देशको उत्पादनले माग धानिरहेको व्यवसायीले बताइरहेका छन् । सरकार औपचारिक रुपमा नेपाल अण्डामा आत्मनिर्भर भएको भनेर घोषणा गर्ने तयारीमा छ । तर यतिबेला अण्डाको उत्पादन भने निकै घटेको छ । 


 
सरकारको तथ्याङ्क अनुसार ६४ जिल्लामा २१ हजार ९५६ फार्म÷किसाने व्यावसायिकरुपमा कुखुरापालन गरेको पाइएको छ । मुलुकमा करिब ६९ लाख अण्डा उत्पादन गर्ने लेयर्स कुखुरा पालिँदै आएको छ । चितवनमा मात्रै ४० लाख ६८ हजार लेयर्स कुखुरा पालिएका छन् । यो कुल सङ्ख्याको ५८ दशमलव प्रतिशत हो । 
 
त्यस्तै, मुलुकमा गत आवमा एक अर्ब २० करोड २१ लाख ६६ हजार गोटा अण्डा उत्पादन भएको अनुमान गरिएको छ । चितवनमा ८१ करोड १९ लाख वटा अण्डा उत्पादन गरिएको थियो । यो देशको कुल उत्पादनको ६८ प्रतिशत हुन आउँछ । 
 
तर पछिल्लो समयमा अण्डा उत्पादनमा ह्रास आएको छ । नेपाल अण्डा उत्पादक सङ्घका महासचिव त्रिलोचन कँडेल चितवनमा अण्डाको कुल उत्पादनको ३० प्रतिशत ह्रास आएको बताए । देशभरको तथ्याङ्कलाई हेर्दा २५ प्रतिशतले अण्डा उत्पादनमा कमी आएको छ । 
 
जिल्लामा अण्डा उत्पादन गर्ने क्रम घट्दो छ भने बाहिरी जिल्लामा अण्डा उत्पादन बढ्दै गएको छ । मुख्य रुपमा नाकाबन्दीको समयमा किसानले खोरमा चल्ला हाल्न नपाउँदा समस्या भएको महासचिव कँडेलले बताए । अण्डा पार्ने कुखुराको चल्ला उत्पादन गर्ने माउ (प्यारेन्ट) तेस्रो मुलुकबाट ल्याउनु पर्ने हुन्छ । नाकाबन्दीले चल्ला बिक्री नभएपछि ह्याचरी उद्योगले चल्ला पुर्ने र चल्ला नै उत्पादन नगरी अण्डा नष्ट गर्न बाध्य भएका थिए । यसको प्रभाव आउँदो असार महिनासम्म पर्ने पोल्ट्री व्यवसायी मञ्चका पूर्वअध्यक्ष डा तिलचन्द्र भट्टराई बताउछन्।
 
नेपाल विगत १२ वर्षदेखि अण्डामा आत्मनिर्भर रहेको भन्दै डा भट्टराईले अण्डा घटेका बेला सरकारले आत्मनिर्भर घोषणा गर्न लागेको बताए । उनले तथ्याङ्क संयोजन मात्रै अहिले गरिएको बताए। जग्गाको मूल्य अस्वाभाविक वृद्धि भएका कारण पनि व्यवसायीले फार्म गरिएको जग्गा प्लटिङ गरेर बिक्री गर्ने, कुखुरा पाल्ने साना किसान जग्गाको व्यापारमा दौडिने गर्दा उत्पादनमा कमी आएको व्यवसायीको भनाइ छ । 
 
पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट कुखुरामा देखिने रुघाखोकी एच ९ को खोप ल्याउन नपाउँदा कुखुरा मरेर उत्पादन घटेको बताए। “सरकारले कुखुरालाई अत्यावश्यक पर्ने खोप ल्याउन नदिँदा व्यवसाय प्रभावित बनेको हो,” उनले भने  । अण्डाको उत्पादनमा कमी आएसँगै माग बढेको छ भने मूल्यमा पनि वृद्धि भएको छ । अण्डाको फार्म मूल्य प्रतिक्रेट रु ३२५ देखि रु रु ३०० रहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved