बन्दले छोएन साझा यातायातलाई, आज पनि बस सञ्चालनमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 13, 2016 | 01:08:27 PM मा प्रकाशित

laxmi  sunrise bank

उपत्यकामा सर्वसाधारणको सुविधालाई ध्यानमा राखी साझा यातायातले बन्द आह्वानको पर्बाह नगरी आफ्नो सेवालाई आइतबार पनि निरन्तरता दिएको छ । बन्दमा सर्वसाधारणलाई सेवा पुर्याउन नियमित जस्तै ११ बसबाट सेवा दिइएको साझा यातायात प्रालिले जनाएको छ । 

साझाका उपत्यकाका सबै मार्गमा बस निर्बाध रुपमा सञ्चालन भइरहेको साझा यातायातका कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए । नेकपा (माओवादी)ले खाद्य सुरक्षाको माग गर्दै आज बन्दको आह्वान गरेको छ । 

बन्दले कामकाजी सर्वसाधारण मर्कामा परेका छन् भने उपत्यकामा पातलो सङख्यामा सवारी साधन गुडिरहेका छन् । साझाले विगतका बन्द, हडताल, भूकम्प र नाकाबन्दीका बेला पनि निरन्तर सेवा दिँदै आइरहेको छ । उसले तीन सय ६५ दिनै सेवा दिने घोषणा गरेअनुरुप महत्वपूर्ण चाड दसैँ, तिहार, छठ लगायत बेला पनि सेवा दिने गरेको जनाएको छ । 

नयाँ बस सञ्चालनको तयारी साझा यातायातले उपत्यकामा थप सेवा विस्तार गर्नका लागि नयाँ ३०  बस सञ्चालन गर्ने तयारी गरेको छ । मार्ग इजाजतका लागि वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयमा निवेदन दिइएको र इजाजत पाउनेबित्तिकै सेवा सुरु गरिने कार्यकारी अधिकृत पाण्डेले बताए । उनका अनुसार साझाका नयाँ बस साझाको परिसरभित्रै छन् । 

साझाले हाल ४६ बस मार्फत सेवा दिँदै आएको छ । तीमध्ये आठ वटा लामो दूरीमा चल्छन् । गत दसैँदेखि साझाले  गोरखा, लुम्बिनी, वीरगन्ज र भैरहवामा साझाले सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved