यस्तो छ भूकम्पमा भत्केका सम्पदाको पुनः निर्माण अवस्था 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 22, 2016 | 02:53:34 PM मा प्रकाशित

laxmi  sunrise bank

गत वर्ष भूकम्पका कारण क्षति भएका भक्तपुर दरबारस्क्वायर परिसरका ऐतिहासिक एवम् पुरातात्विक महत्वका सम्पदा तीव्र रुपले पुनःनिर्माण भइरहेका छन्। दरबारस्क्वायर परिसरका तीनवटा सम्पदाको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ भने दर्जनभन्दा बढी सम्पदा पुनःनिर्माण भइरहेको छ ।

पुनःनिर्माण अन्तिम चरणमा पुगेका सम्पदामा दरबारस्क्वायर प्रवेश गर्ने ऐतिहासिक खौमा प्रवेशद्वार, पचपन्नझ्याले दरबारको दक्षिण पूर्वी कुनामा रहेको नारायण मन्दिर र दरबारस्क्वायर परिसरको अग्लो बद्रीनारायण मन्दिर रहेका छन् ।

तीमध्ये खौमा प्रवेशद्धार रु ३४ लाख १२ हजार ३१८ र नारायण मन्दिर रु चार लाख ८९ हजार ४९६को लागतमा भक्तपुर नगरपालिकाले र बद्रीनारायण मन्दिर पुरातत्व विभागको दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालयले निर्माण गरेका हुन् ।

पुनःनिर्माण अन्तिम चरणमा पुगेका सम्पदामा यसभन्दा अघिको स्वरुपमा जस्तै प्लास्टर गरेर सेतो रङ लगाउने कि नलगाउने भन्ने विषयमा छलफल भइरहेको नगरपालिकाका सम्पदा शाखा इन्जिनियर सूर्य खबुर्जाले बताए । मल्लकालमा निर्माण भएका सम्पदा ९० सालको भूकम्पले क्षति पुर्याएपछी  राणाकालमा पुनःनिर्माण हुँदा बज्र प्लास्टर गरी सेतो रङ लगाइएको थियो ।

उपत्यकामा बज्र प्लास्टर गरी सेतो रङ लगाउने परम्परा राणा प्रधानमन्त्री जङ्गबहादुरको युरोप भ्रमणपछि प्रयोगमा ल्याइएकाले यो शैली राणाकालीन शैली नामले परिचित छ । ऐतिहासिक सम्पदालाई त्यसको मौलिक स्वरुपमा राख्ने कि पछि विकसित भएको स्वरुपमा राख्ने भन्नेमा छलफल चलिरहेकाले खौमा प्रवेशद्वार, बद्रीनारायण मन्दिर र नारायण मन्दिर पुनःनिर्माण सम्पन्न भएको घोषणा नगरिएको उनले बताए ।

नगरपालिकाले पर्यटन उद्योगलाई लक्षित गरी सम्पदाको पुनःनिर्माणमा प्राथमिकता दिइएको इन्जिनियर खर्बुजाले बताउनुभयो । नगरपालिकाले दरबारस्क्वायर परिसरमा रहेको त्रिविक्रम नारायण मन्दिर रु १७ लाख ६१ हजार ६०३, वत्सला दुर्गा मन्दिर रु एक करोड २८ लाख ६२ हजार २१३, केदारनाथ मन्दिर रु ७२ लाख ६३ हजार ३९७को लागतमा पुनःनिर्माण भइरहेको छ ।

त्यसैगरी हरिहर नारायण मन्दिर, दत्तात्रय स्क्वायरमा रहेको भीमसेन सत्तल, लक्ष्मी नारायण मन्दिर मर्मत भइरहेको छ । नगरपालिकाले च्याम्हसिंहस्थित प्रवेशद्वार निर्माणको सम्पूर्ण प्रक्रिया पूरा गरी उपभोक्ता समितिसँग सम्झौतासमेत गरिसकेको तर नगरभित्र हुने पुनःनिर्माणका लागि आवश्यक निर्माण सामग्री ओसारपसारका लागि सो सडक प्रयोग गर्नुपर्ने भएकाले तत्काल प्रवेशद्वार निर्माण गर्ने कि नगर्ने भन्नेमा द्विविधा भएको छ ।

नगरभित्रको भग्नावशेष व्यवस्थापनको कार्य २० प्रतिशत मात्र सकिएको र आमनागरिकले घर पुनःनिर्माण गर्दासमेत च्याम्हसिंहको प्रवेशद्वारबाट निर्माण सामग्री ओसारपसार गर्नुपर्ने भएकाले तत्काल सो प्रवेशद्वार पुनःनिर्माण गर्दा सर्वसाधारणलाई असहज हुने देखिएकाले तत्काल यसको काम सुरु नगरिएको नभएको खबुर्जाको भनाइ छ ।

भक्तपुर नगरपालिकाले ऐतिहासिक सिद्धपोखरीको पर्खाल मर्मत तथा रङरोगन, गपलीस्थित ढुङ्गेधारा उत्खनन, द्यननी इनार उत्खनन, ध्वनन्चा ढुङ्गेधारा संरक्षण, लःघुपाटी संरक्षणको कामसमेत सुरु गरेको जनाएको छ ।

त्यसैगरी अघिल्लो आर्थिक वर्षको क्रमागत योजनाअन्तर्गत तलेजु संरक्षण, कमलविनायक सत्तल पुनःनिर्माण, छुमा गणेश द्य छें पुनःनिर्माण, कुशी प्वाकः गणेश द्य छें पुनःनिर्माणको कामसमेत भइरहेको छ ।

त्यस्तै दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालयले पनि भक्तपुरको सम्पदा पुनःनिर्माणको कार्यमा तीव्रता दिएको छ । संरक्षण कार्यालयका इन्जिनियर मोहनकृष्ण श्रेष्ठका अनुसार दरबार क्षेत्रको फसी देगः (शिलु महादेव) रु चार करोड २२ लाख, तफा सतः(लामो पाटी) रु तीन करोड १२ लाख, सिद्धिलक्ष्मी मन्दिर रु दुई करोड २२ लाख रुपैयाँको लागतमा सम्झौता भई पुनःनिर्माण कार्य सुरु भइसकेको छ ।

एक करोड ११ लाखको लागतमा दधिकोटको अनन्तलिंगेश्वर, ७६ लाख ५८ हजारको लागतमा दधिकोटकै दक्षिण बाराही मन्दिर पुनःनिर्माणको ठेक्का सम्झौता भइसकेको इन्जिनियर श्रेष्ठले जानकारी दिए । दरबार क्षेत्रको बद्री नारायण मन्दिर र रामेश्वर मन्दिर पुनःनिर्माण अन्तिम चरणमा पुगेको बताउँदै उनले ती सम्पदाको लागत मूल्याङ्कन गर्न बाँकी रहेको जानकारी दिए ।

भक्तपुरको महेश्वरी पीठको सत्तल र मध्यपुर थिमिको निलबाराही मन्दिरको सत्तल पुनःनिर्माणका लागि पनि टेन्डर आह्वान भइसकेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved