पाठ्यपुस्तकका गल्ती तत्काल नसच्च्याइने, विद्यार्थीलाई शिक्षकलाई समस्या पर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 15, 2016 | 12:53:03 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रज्ञा प्रतिष्ठानले नेपाली बृहत शब्दकोशमा रहेको वर्णविन्यासलाई केही सच्च्याउने निर्णय गरे पनि त्यसैलाई आधार बनाएर यस अघि नै तयार पारिएका पाठ्यपुस्तक भने अर्को शैक्षिकसत्र सम्म नसच्चिने भएका छन्। 

आगामी शैक्षिकसत्रका लागि पचास लाख भन्दा बढी पुस्तक छपाइ भइसकेकाले अब सच्च्याउँदा समयमै पुस्तकहरु विद्यार्थी सम्म नपुग्ने र ठूलो आर्थिकभार पर्ने भनाइ पाठयक्रम विकास केन्द्रको छ।

नेपाली बृहत शब्दकोशको नवौं संस्करणमा प्रयोगमा ल्याइएको वर्णविन्यासका केही पक्षलाई सच्च्याउने निर्णय प्रज्ञा प्रतिष्ठानले गरेको एक महिना पुगेको छ। तर त्यही शब्दकोशका आधारमा तयार पार्ने गरिएका विद्यालयका पाठयपुस्तक भने हाल सम्म सच्च्याइएका छैनन्।यो वर्ष पुरानै व्यवस्था अनुरुप रहेका पुस्तक पढिरहेका विद्यार्थीले अर्को वर्ष पनि हालकै अवस्थाको पुस्तक पढ्नु पर्ने भएको छ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले भने, "हामीले पहिलेको पुस्तकलाई रद्द गरि नयाँ बनाएर पठाउन हाम्रो क्षमताको हिसावले सकिन्न।" आगामी शैक्षिकसत्रका लागि साउन महिना देखि नै पाठयपुस्तक छाप्ने काम भइरहेको र ५० लाख भन्दा बढी पुस्तक छपाइ भइसकेको उनको भनाइ छ।

पाठ्यपुस्तक परिवर्तन गर्दा दुई अर्ब रुपियाँ खर्च लाग्ने र त्यो रकम सरकारले उपलब्ध गराउने निर्णय गरे पनि छपाएर समयमै विद्यार्थी सम्म पुर्याउन कठिनाइ हुने बताइएको छ। हाल पाठ्यपुस्तकमा परिवर्तन गर्न नसकिए पनि शिक्षक र विद्यार्थीमा पर्ने दुविधालाई भने अन्त गर्ने प्रयासमा आफुहरु लागेको कार्यकारी निर्देशक काप्रीले बताए। 

उनले भने, "तत्कालका लागि शुद्धाशुद्धि पत्रबारे परिपत्रमार्फत निर्देशन गराउनेछौं।"  विद्यार्थीको प्रत्यक्ष सिकाइसँग जोडिने पाठ्यपुस्तकलाई सच्च्याउने काम छिट्टै अगाडी बढाउनु पर्ने धारणा भाषाविदहरुको छ।

विद्यार्थीहरुले भाषामा गरिएको व्यवस्था भन्दा फरक ज्ञान नलिउन् भन्ने तर्फ ध्यान दिनु पर्ने उनीहरुको सुझाव छ। भाषाविद शरच्चन्द्र वस्तीले भने, "शुद्धिपत्र अथवा संशोधनपत्र बनाएर डिजिटल माध्यमबाट चाँडो भन्दा चाँडो पुर्याउनु पर्छ। त्यसरी पुगेन भने त्यही लेखाइका आधारमा विद्यार्थी अनुत्तीर्ण गराउनु हुँदैन। "

पुस्तकमै परिवर्तन गर्न भने २०७५ सालको शैक्षिकसत्र सम्मको समय लाग्ने भनाइ पाठयक्रम विकास केन्द्रको छ। अंग्रेजी बाहेकका सबै पुस्तकहरु नेपाली भाषमा रहेका र ती सबै पुस्तकमा भएको परिवर्तनलाई केलाएर सच्च्याउनु पर्ने अवस्था रहेको बताइएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved