सुनकोशी जिप दुर्घटना अपडेट : ६ को मृत्यु, १ बेपत्ता (मृतकको नामावली सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 18, 2016 | 08:03:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धुलीको रत्नावती गाविस–३ घाटपाखाबाट सुनकोसी नदीमा स्कार्पियो जिप खस्दा छ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा सिन्धुपाल्चोक फुलपिङकट्टी–६ बस्ने ५० वर्षीय साङ्दो शेर्पा, फुलपिङकट्टी– ७ निवासी ५७ वर्षीय वाले शेर्पा, सोही ठाउँका ५० वर्षीय निवुटी शेर्पा, फुलपिङकट्टी–६ निवासी सर्किनी शेर्पा र स्कार्पियो चालक लमजुङको सामीभञ्ज्याङ निवासी ४५ वर्षीय झपटबहादुर गुरुङको मृत्यु भएको प्रहरीले बताएको छ ।

यस्तै, जिप सुनकोसीमा खस्दा काठमाडौँ महानगरपालिका स्वयम्भू निवासी अन्दाजी ४५ वर्षीय दानेर्वे शेर्पा बेपत्ता भएका छन् । प्रहरीका अनुसार स्कार्पियोमा चालकसहित नौजना सवार रहेका थिए ।

दुर्घटनामा दुईजना गम्भीर घाइतेको उपचारका लागि उदयपुरको घुर्मी पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका सिन्धुपाल्चोक जिल्ला फुलपिङकट्टी–५ निवासी ५० वर्षीया बालामु शेर्पा तथा काठमाडौँ महानगरपालिका स्वयम्भू निवासी टुकुली शेर्पाको उद्धार गरी उपचारका लागि घुर्मीको जनसेवा अस्पतालमा पठाइएको प्रहरी चौकी खाङ्साङका प्रहरी नायब निरीक्षक टेकबहादुर लामाले जानकारी दिए ।

सिन्धुपाल्चोकका स्थानीयले दुईवटा स्कार्पियो जिप लिएर खोटाङको हलेसीमा दर्शन गर्न जानेक्रममा मध्यपहाडी लोकमार्गको रत्नावती गाविसमा बा १२ च ८८९७ नंको स्कार्पियो दुर्घटनामा परेको हो । जिप सडकबाट १०० मिटर तल सुनकोसीमा खसेको प्रहरीले बताएको छ ।

जिप कोसीको पानीमा डुबेकाले उद्धार गर्न समस्या भएको स्थानीय रामप्रसाद भण्डारीले जानकारी दिए । लोकमार्ग कालोपत्र नहुँदा तीव्रगतिमा रहेको स्कार्पियोले गति नियन्त्रण गर्न नसक्दा सुनकोसीमा खसेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनास्थलमा खाङ्साङ प्रहरीचौकीलगायत अन्य नजिकका प्रहरी चौकीका प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरिएको थियो । घटनास्थलमा प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जीयारसहितको टोली पनि गएको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved