राष्ट्र बैंक भन्छ ‘महँगी दर घट्यो’, उपभोक्ता भन्छन ‘बढ्यो’ के हो त बास्तविकता ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 19, 2016 | 10:26:09 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार कार्तिक महिनामा खाद्यान्नमा महँगी वृद्धि दर  २.६ प्रतिशत रह्यो । तर बजारमा सर्बसाधारणले राष्ट्र बैंकको दर भन्दा आधा बढी वा दोब्बर बढी मूल्य तिरेर खाद्यान्न उपभोग गरिरहेका छन् । समग्रमा मूल्य वृद्धि २.६ प्रतिशत नभई ४.८ प्रतिशत भन्दा बढी रहेको उपभोक्ताको गुनासो छ ।

नेपाल राष्ट्र बैंक भने मूल्यवृद्धि घटेको तथ्यांक दीईरहंदा हामीले बिज्ञ, उपभोक्ता र त्यससंग सम्बन्धित व्यक्तित्वलाई सोध्यौ “के मूल्य वृद्धि साच्चिकै घटेको हो त?” तर बिज्ञ, बिक्रेता र उपभोक्ता राष्ट्र बैंकको तथ्यांकमा बिश्वास गर्न तयार छैनन् ।

तर राष्ट्र बैंकका प्रबक्ता नारायण पौडेल भने ३ पटक भेरिफिकेशन गरेर सार्बजनिक गरिएको तथ्यांक गलत हुनै नसक्ने दाबी गर्छन । उनको जोड छ ‘बास्केटमा संकलन गरिएको तथ्यांक, इन्डिभिजुवलमा नमिल्न सक्छ ।‘

राष्ट्र बैंकका पुर्व गभर्नर डा दिपेन्द्र बहादुर क्षेत्री तथ्यांकमा कमजोरी नभए पनि तथ्यांकको सूचकमा कमजोरी रहेकाले सर्बसाधारणको बुझाइ र राष्ट्र बैंकको बुझाई फरक रहेको स्वीकार गर्छन । राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकांक संकलन गर्न केहि बस्तुहरु छनौट गर्ने र ति बस्तुलाई प्रत्यक १० बर्षमा मात्रै हेरफेर र संसोधन गर्छ । तर उपभोक्ताको चाहना त् क्षण क्षणमा फेरिन्छ जसले गर्दा मूल्य सूचकांक र वास्तविकता फरक परेको डा क्षेत्रीको बुझाई छ ।

बैंकका प्रबक्ता पौडेल भने डा क्षेत्रीको तर्क संग सहमत छैनन् । उनी भन्छन् – ‘यसपालिको हाउसहोल्ड सर्भेमा उपभोक्ताले बिहान के खान्छन् , साँझ के खान्छन् सबै बुझेर तथ्यांक निकालिएकोले यो नै सत्य हो’ । प्रबक्ता पौडेलको सत्यता कालिमाटी तरकारी बजारको होलसेल पसलका बिक्रेता पनि मान्न तयार छैनन्, न त् उपभोक्ता नै त्यो सत्यता स्वीकार गर्न तयार छन् ।

राष्ट्र बैंकले दिएको तथ्यांकमा मोटा चामल, गहुँको पिठोको मूल्यवृद्धि दर कम रहेको छ । तर बजारमा गत साल प्रति बोरा ९ सय रुपियाँ परेको चामललाई उपभोक्ता १३ सय रुपियाँसम्म तिर्न बाध्य छन् ।

गत सालको कार्तिक महिनामा सामान्य साँचो ब्राण्डको चामल १३ सय ५० मा बेचेको बताउने कालिमाटीका नाम बताउन नचाहने एक जना बिक्रेता उक्त चामल यस बर्ष कार्तिकमा १६ सय ५० मा बेचेको बताउछन् । त्यस्तै तुलना गर्दा अत्याबश्यक मानिने तेल, चिनी , दालको मूल्य पनि बढ्दो क्रममा छ । खाद्यान्न मात्र होइन तरकारी र कपडामा पनि बजारको अवस्था राष्ट्र बैंकसंग नमिलेको उपभोक्ताको ठम्याई छ । कालिमाटी तरकारी बजारको गत बर्षको कार्तिक महिनाको मूल्य सुची र यस बर्षको कार्तिक महिनाको मूल्य सुची तुलना गर्ने हो भने पनि तरकारीमा १०० प्रतिशत भन्दा बढिसम्म मूल्य वृद्धि भएको देखिन्छ ।

उपभोक्ताले त राष्ट्र बैंकको तथ्यांकलाई बिश्वास नै गरेनन् नि भन्ने बिजपाटीको जिज्ञासामा प्रबक्ता पौडेल भन्छन् ‘ कमजोरी रहेको भए हामी सच्याउन तयार छौ ‘। डा क्षेत्री भने राष्ट्र बैंकको सूचक निर्धारणमा सचेत नहुँदा यस्तो समस्या आएको बताउछन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved