उपेन्द्र यादवको चेतावनी 'जबरजस्ती चुनाव गर्न खोजे ज्ञानेन्द्रको जस्तै हालत होला'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 28, 2016 | 03:26:02 PM मा प्रकाशित

laxmi  sunrise bank

संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अहिले गणतन्त्र, संघीयताजस्ता उपलब्धिलाई समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष यादवले आन्दोलनका उपलब्धिहरुलाई समाप्त पार्ने खेलमा काँग्रेस र एमाले लागेको आरोप लगाएका हुन् । उनले भने,‘अहिले काँग्रेस र एमाले गणतन्त्र र संघीयता समाप्त पार्ने खेलमा लागेका छन् ।’ उनले प्रमुख सत्तारुढ दल काँग्रेसले दोधारे चरित्र देखाएको आन्दोलनका उपलब्धिहरु संकटमा पर्न लागेको आरोप लगाए ।

साक्षात्कारमा बोल्दै अध्यक्ष यादवले भने,‘काँग्रेसले अहिले दोधारे चरित्र देखाएको छ, नेताहरुले संविधान संशोधन गर्नुपर्छ भन्ने अनि जिल्लामा कार्यकर्ता उतारेर संशोधनको विरुद्धमा आन्दोलन मच्चाउने, यो दोधारे चरित्र हो ।’

उनले काँग्रेस र एमालेको भूमिका नै आन्दोलनका उपलब्धिहरु धरापमा पार्ने खालेको रहेको बताउँदै भने,‘काँग्रेस सभापति शेरबहादुर देउवाले हिजो राजासँग मिलेर काँग्रेस तोडेर बहुदलीय व्यवस्था नै धरापमा पारेको ईतिहाँस छ, फेरी त्यही भूमिकामा जाने हो कि भन्ने खतरा छ ।’ यादवले काँग्रेस–कम्युनिष्टहरु मिलेर मुलुकलाई प्रतिगमनतर्फ लैजान लागेको समेत आरोप लगाए ।

 उनले प्रमुख दल काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रले संविधान संशोधन नगरीकन चुनाव गरे मुलुक द्धन्द्धतर्फ जाने चेतावनी दिए । यादवले भने,‘काँग्रेस–कम्युनिष्टहरुको बुद्धिपनि विचित्रको छ, अहिलेको संविधानले स्थानीय तहको चुनावको परिकल्पना गरेको छ, तर उनीहरु स्थानीय निकायको चुनाव गर्ने भनिरहेका छन्, अब कुन संविधानलाई समातेर चुनाव गर्ने हुन ? ०४७ कै संविधानलाई समातेर गर्न खोजेको हो भने त अर्कै कुरा ?’

उनले मुलुकको वर्तमान राजनीतिक गत्यावरोध फुकाउने एकमात्रै बाटो भनेको संविधान संशोधन भएको बताउँदै भने,‘संविधान संशोधन गर्नुको विकल्प छैन, सरकारले संशोधन प्रस्ताव दर्ता गरेको छ, त्यो पनि अपूरो र अधुरो छ, प्रधानमन्त्रीले त यो प्रस्तावलाई परिमार्जन गर्छु भन्नुभएको छ, परिमार्जन भएर तीन वटै निकायको चुनाव गर्ने कुरा गर्नुभएको छ।’

अध्यक्ष यादवले संविधान संशोधन नगरीकन गरिने कुनै पनि चुनाव आफूहरुलाई मान्य नहुने चेतावनी दिए । उनले अघि थपे,‘यदि जबरजस्ती चुनाव गरियो भने मोर्चाले त्यसलाई मान्दैन्, एक समयमा पूर्वराजा ज्ञानेन्द्रलेपनि यस्तै चेष्टा गरेका थिए, तर हालत के भयो ? समस्या राजनीति छ अनि चुनाव गराउँछु भनेर हुन्छ ?’

उनले प्रमुख प्रतिपक्षी दल एमालेले संशोधन प्रस्तावको विरोधमा संसद अवरुद्ध गरेर गलत काम गरिरहेको समेत आरोप लगाए । उनले भने,‘हिजो केपी ओली आँफैले हस्ताक्षर गरेको प्रस्ताव अहिले आउँदा किन विरोध गरेको हो ? मलाई त आश्चर्य लागेको छ, हिजोको आफ्नै प्रस्तावमा आज आन्दोलन गर्नु भनेको अनौठो हो ।’

उनले एमालेका नेताहरुले पछिल्लो समय दिएका अभिव्यक्तिहरुले मुलुकको राष्ट्रिय एकता सामाजिक सद्भाव खलबलाउने भन्दै चिन्ता व्यक्त गरे । यादवले एमाले र यसका नेताहरुले दिएको अभिव्यक्तिलाई लिएर मोर्चाको घोर आपत्ति रहेको समेत बताए ।

तर प्रधानमन्त्री प्रचण्डले त चुनाव गराउने घोषणा गरिसकेका छन्, अब तपाईहरु के गर्नुहुन्छ भनेर पत्रकारले सोधेको प्रश्नमा यादवले भने,‘संविधान संशोधन नगरिकन गरिने चुनाव हाम्रो लागि मान्य छैन, यसले मुलुकलाई थप द्धन्द्धमा लैजान्छ, जनतालाई देश बचाउने बाध्यता छ, द्धन्द्धबाट बचाउने बाध्यता छ, प्रधानमन्त्रीलाई चुनाव गराउने बाध्यता ?’ उनले जबरजस्ती गरिने चुनावको मोर्चाले प्रतिकार गर्ने समेत चेतावनी दिए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved