चिसोका कारण भूकम्पपीडित मारमा, अझै सकिएन यकिन तथ्याङ्क सङ्कलन कार्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 03, 2017 | 11:37:41 AM मा प्रकाशित

laxmi  sunrise bank

 सिन्धुपाल्चोक जिल्लाको उच्च हिमाली गाविसमा चिसो बढेसँगै जनजीवनका साथै चिसोका कारण भूकम्पपीडित मारमा परेका छन् । जिल्लाभरका हिमाली भेगमा हिउँ तथा बेँसी भेगमा आइतबारदेखिको सिमसिम वर्षाका कारण चिसो बढ्नुका साथसाथै बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित भएको छ । 

२०७२ साल वैशाखको विनाशकारी भूकम्पसँगै घरवारविहीन भएर टहराबाट नै कष्टकर जीवन गुजारेका पीडित यो वर्ष पनि एकसरो टिनको छानाको भरमा जीवन बिताउन बाध्य छन् । वर्षा र हिमपातका कारण चिसो बढेकाले अब कसरी दिन बिताउने भन्ने अन्योलमा भूकम्पपीडित छन् । विशेषगरी जिल्लाको हिमाली ग्रामीण भेगका बासिन्दालाई जाडोले सताएको छ । 

उच्च हिमाली भेग गुन्साका काले गोले जस्ताले बारेको टहरोबाट शीत चुहिनेदेखि चिसो हुरिले पाल उडाउने सम्म गरेको गुनासो गर्छन् । भूकम्पले गाउँनै तहसनहस बनाएपछि शेर्माथाङमा सानो टहरा बनाएर आश्रय लिएर बसिरहेका कर्मतोक्पे लामाले आफूलाई टहरामा चिसोले निकै सताउने गरेको बताए । 

लामा भन्छन् –“टहरामा डेढ वर्ष अर्थात दुईवटा चिसो कट्यो, अझै सकसमा बाँच्नुपर्ने स्थिति रहेको छ । पुनःनिर्माणका लागि सरकारले समेत एकमुष्ट रकम नदिँदा यस्तो समस्या भएको हो ।” 

लामा जस्तै जिल्लाभरका अधिकांश पीडितले पोख्ने गुनासो एउटै हो । चिसो मौसम मध्य भइसक्दा समेत सरकारले भूकम्पपीडितका लागि स्थायी आवास पुनःनिर्माणमा विभिन्न कारण देखाउँदै अल्झाउने गरेको पीडित बताउँछन् । 

घाम लागेको दिन केही सहज भएता पनि साँझ ढल्कँदै गएपछि रात कसरी कटाउने भन्ने कुराले पिरोल्ने गरेको मेलम्ची नगरपालिका– १२ का विष्णु गजुरेल बताउँछन् । गजुरेल मात्र होइन अहिले जाडोयाम बिताउन जिल्लावासीलाई धौधौ हुने देखिएको छ । घर भुइँचालोले ढालेपछि विस्थापित भएर टहरापालमा बसिरहेकाको जीवन कष्टकर हुँदै गएको हो । 

सदरमुकाम चौताराबाट उत्तर पश्चिममा पर्ने गणेश हिमाल र त्यसको आसपासमा पर्ने हेलम्बु किउलवासीलाई हिमालको चिसो सिरेटोले रात बिहान पिरोल्ने गरेको बताए । 

भोताङ क्षेत्रका २०० भन्दा बढी परिवारको अवस्था पनि उस्तै कष्टकर छ । कतिपय जाडोबाट बच्न राजधानी पसेका छन् भने केही परिवार आफ्नै थलो फर्केका र केही जाडो छल्न बेँसी सर्ने गरेका छन् । आहिले हेलम्बु, भोताङ, बासखर्क, गोल्चे, गुम्बा, स्याउले र सेलाङलगायत धेरै स्थानबाट विस्थापित भएर बासखर्कमा शिविर नै बनाएका छन् । 

मध्यपहाडी भेगको तुलनामा हिमालीलाई धेरै समस्या हुने देखिएको छ भने तातोपानीदेखि हेलम्बुसम्म लेकाली भेगका विस्थापित बासिन्दा जाडोको चपेटामा परेका छन् । भूकम्प गएको डेढ वर्ष भन्दा बढी बितिसक्दा पनि सरकारको पुनःस्थापनाको आशमा बसिरहेका विस्थापित पालमा नै जीवन गुजारिरहेका छन् । 

स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीले विस्थापितले घर बनाउँछौँ भनेर पहिलो किस्ता रु ५० हजार लिइसकेकाले वास्तविक विस्थापित छुट्याउनुपर्ने र विवरण तयार गर्नुपर्ने देखिएको जानकारी दिए  । प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले विस्थापित कुल कति छन् भन्नेबारे अहिलेसम्म यकिन तथ्याङ्क सङ्कलन भइनसकेको बताए । 

विस्थापितको पुनर्वासको लागि आहिलेसम्म स्पष्ट कार्यविधि नआएकाले पनि यस्तो समस्या देखिएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved