अति राजनीतिकरणले विश्वविद्यालयको भविष्यमा नै प्रश्न चिन्ह खडा : प्रम दाहाल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 05, 2017 | 02:43:44 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अति राजनीतिकरणले विश्वविद्यालयको भविष्यमा नै प्रश्न चिन्ह खडा भएको बताएका छन् । त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठकलाई सम्बोधन गर्दै बिश्वबिद्यालयका कुलपति समेत रहेका प्रचण्डले विश्वविद्यायलको विशाल संरचना तर अस्तव्यस्त व्यवस्थापकीय पक्ष तथा प्राज्ञिक क्षेत्रमा देखिएको अति राजनीतिकरणले विश्वविद्यालयको भविष्यमा नै प्रश्न चिन्ह खडा भएको बताएका हुन् । उनले व्यवस्थापकीय क्षेत्रमा देखिएका यी चुनौतीहरुलाई सामना गर्न सामूहिक रुपले संकल्प गर्नुपर्नेमा जोड दिए ।

पढ्नुस उनको सम्बोधनको पूर्ण पाठ । 

त्रिभुवन विश्वविद्यालयका सहकुलपति तथा त्रिभुवन विश्वविद्यालय सभाका उपाध्यक्ष माननीय शिक्षामन्त्रीज्यू,
त्रिभुवन विश्वविद्यालयका उपकुलपतिज्यू, शिक्षाध्यक्षज्यू,
रजिष्ट्रारज्यू एवं विद्वान् सभासद्ज्यूहरु,
शिक्षाविद्, प्राज्ञ व्यक्तित्वहरु,
विभिन्न क्षेत्रका महानुभावहरु, विद्यार्थीहरु,
सञ्चारकर्मी मित्रहरु, महिला तथा सज्जनवृन्द !

नेपालको शैक्षिक इतिहासमा आफ्नो पृथक पहिचान र गरिमा बोकेको त्रिभुवन विश्वविद्यालय सभाको यस साधारण बैठकका अवसरमा आयोजित यस कार्यक्रममा विश्वविद्यालयको कुलपतिको रुपमा सहभागी हुन पाउँदा मलाई खुसी लागेको छ । देश निर्माणका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने प्राज्ञिक थलोका रुपमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित रहेको यस विश्वविद्यालयले स्थापनाको झन्डै ६ दशक लामो यात्राअन्तर्गत अनेकौँ उपलब्धिहरु हासिल गर्न सफल भएकोमा विश्वविद्यालय परिवारलाई हार्दिक बधाई दिन चाहन्छु । यस अवसरमा विश्वविद्यालयको प्राज्ञिक उन्नयन र विकासमा हालसम्म विभिन्न भूकिामा रही प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा योगदान गर्नुहुने प्राध्यापक, शिक्षक, शिक्षाविद् विभिन्न पदाधिकारी, कर्मचारी, विद्यार्थी, शोधकर्ता, अनुसन्धानकर्ता, अभिभावकलगायत सबैलाई धन्यवाद दिन चाहन्छु । साथै, भविष्यमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न र विश्वविद्यालयको संस्थागत विकास गर्न यस विश्वविद्यालय र यहाँ संलग्न सबैलाई प्रेरणा र उत्साह प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
देशको उच्च शिक्षाको धरोहर, लाखौं विद्यार्थीको भविष्यको जिम्मेवारी बोकेको, मुलुकको सबैभन्दा जेठो र ठूलो यस विश्वविद्यालयको साधारण बैठकलाई तपाई विद्धान सभासद ज्युहरुले सफल र सार्थक बनाउन विशेष भुमिका पूरा गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु । यस सन्दर्भमा केही विषयमा विशेष ध्यानाकर्षण गर्दछु ।


 त्रिभुवन विश्वविद्यालयलाई नेपाल सरकारले यस अघि नै केन्द्रीय विश्वविद्यालयको रुपमा निर्णय गरिसकेको र नेपालको संविधानले केन्द्रीय विश्वविद्यालयलाई संघको अधिकार सुचिमा उल्लेख गरिसकेकाले विश्वविद्यालयको अधिकार क्षेत्र र भुमिकाको बारेमा कुनै शंका रहेन । बरु यसलाई कसरी केन्द्रीय विश्वविद्यालयकै रुपमा र ‘उत्कृटताको केन्द्र’ बनाउने भन्नेमा सार्थक पहल गरौं ।


 हाम्रा विश्वविद्यालयलाई २१ औं शताब्दीका चुनौती सामना गर्ने विश्वविद्यालय कसरी बनाउने ? संविधानको मर्म अनुरुप जनसाधारणको सहज पहुचमा उच्च शिक्षा कसरी पुरयाउने ? र, शिक्षालाई आजको युग अनुकूल प्रविधियुक्त, गुणस्तरीय र विश्वव्यापी प्रतिस्पर्धी कसरी बनाउने भन्ने प्रश्नको उत्तर हामीले दिनैपर्छ ।


मुलुक राजनैतिक क्रान्तिको ठूलो कोर्स पूरा गरेर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनको प्रक्रियामा आइपुगेको छ । राजनैतिक परिर्वतन संगसंगै प्रशासनिक, शैक्षिक लगायतका क्षेत्रमा सोही अनुरुप परिर्वतन हुन नसक्दा यी विषय अन्र्तविरोधी बन्ने गरेका छन । तसर्थ राजनैतिक परिवर्तन संगै शैक्षिक, प्राज्ञिक क्षेत्रमा परिर्वतनका लागि सिंगै विश्वविद्यालय परिवार लाग्नै पर्दछ ।


देश आर्थिक विकास र समृद्धिको दिशामा जाँदैछ । आजको विश्वको प्रवृति पनि यस्तो देखिँदैछ भने हाम्रा विश्वविद्यालयले यसका लागि उच्च शिक्षालाई कति अनुसन्धान, उत्पादन र विकासको नेतृत्व गर्न सक्छन त्यसले नै मुलुकको भविष्य निर्धारण गर्दछ । त्रिविका अनुसन्धान केन्द्रहरुलाई प्रभावकारी बनाई राष्ट्रिय आवश्यकता पूरा गर्ने दिशामा अघि बढाऔं ।


आजको विश्वव्यापी प्रतिष्पर्धामा हामीले पाठ्यक्रमको समयानुकूल परिर्वतन गर्न जरुरी छ । देशमा विदेशी शैक्षिक संस्थाहरु हावी हुँदै जाने तर हाम्रा विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरु पुरानै रहने अवस्थालाई तुरुन्तै सुधार गरौं ।


 विश्वविद्यायलको विशाल संरचना तर अस्तव्यस्त व्यवस्थापकीय पक्ष तथा प्राज्ञिक क्षेत्रमा देखिएको अति राजनीतिकरणले विश्वविद्यालयको भविष्यमा नै प्रश्न चिन्ह खडा भएका छन । व्यवस्थापकीय क्षेत्रमा देखिएका यी चुनौतीहरुलाई सामना गर्न सामूहिक रुपले संकल्प गरौं ।


 विश्वविद्यालय नयाँ पुस्ताको शिक्षा, संंस्कृति र संस्कारद्धारा दिक्षित हुने थलो हो । हाम्रा विश्वविद्यालयमा लामो समयदेखि लोकतान्त्रिक प्रतिस्पर्धाको आधारमा विद्यार्थीहरुले आफ्ना प्रतिनिधिहरु चुन्ने र चुनिने प्रक्रिया अवरुद्ध भएको छ । यसलाई पुनः गतिशील तुल्याउन र स्ववियू निर्वाचन स्वस्थ प्रतिस्पर्धा र रचनात्मक रुपमा सम्पन्न गरी मुलुकमा सम्पन्न हुन गइरहेका स्थानीय, प्रादेशीक र संघीय निर्वाचनका प्रक्रियालाई सकारात्मक संदेश दिन पनि यो बैठकले मार्गप्रशस्त गर्नेछ भन्नेमा म विश्वस्त छु । स्ववियू निर्वाचनमा हुने असामान्य अवस्थाले स्थानीय निर्वाचनमा नकारात्मक सन्देश नजाओस् भन्नेमा हामी चनाखो बन्नु पर्दछ । यस विषयमा राजनितिक तहमा पनि एउटा समझदारी निमार्ण गरेर अघि बढ्नेमा सरकार लागि रहेको जानकारी गराउँदछु ।


 उच्च शिक्षामा उत्पीडित क्षेत्रका विद्यार्थीको सहज पहुँचका लागि होस् या त विश्वविद्यालयका पुराना संगठन तथा प्रशासनिक संरचनामा र सार्वजनिक खरीद लगायतका आर्थिक अनुशासनको क्षेत्रमा यस साधारण बैठकले गर्न खोजेका संशोधनले विश्वविद्यालयलाई संस्थागत रुपले विकास गर्दै जाने कुरामा म विश्वस्त छु ।


अन्तमा, त्रिभुवन विश्वविद्यालयले विश्वका प्रतिष्ठीत विश्वविद्यालयहरुका जनशक्तिसंग प्रतिष्प्रर्धा गर्नसक्ने जनशक्ति उत्पादन गरी देशको आवश्यकता परिपुर्ति गर्ने कार्यमा सफलता हासील गर्न सकोस भन्ने कामना व्यक्त गर्दछु । विश्वविद्यालयको समृद्धि र विकासका लागि सरकार हर समय साथमा रहने विश्वास व्यक्त गर्दछु । धन्यवाद !
पौष २०, २०७३
किर्तिपुर

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved