अन्त्य हुदै लोडसेडिङ: ढल्केबर-खिम्ती विद्युुत प्रशारण लाइनको औपचारिक उद्घाटन 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 03, 2017 | 01:40:24 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ढल्केबर-खिम्ती विद्युुत प्रशारण लाइनको औपचारिक उद्घाटन गरेका छन्। प्रधानमन्त्रीले दोलखाको खिम्ती पुगेर २२० केभिएको प्रशारण लाइनको बिहिबार उद्घाटन गरेका हुन् । 

प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएपछि यहि माघ १ गते देखि नियमित परीक्षण हुदै आएको थियो। प्रसारण लाइन निर्माण भएपछि भारतबाट आयात गरिएको विद्युत ढल्केबर– खिम्ती– लामोसाँघु हुँदै काठमाडौँ ल्याउन सहज हुनेछ । 

विश्व बैंकको सहयोगमा निर्माण सुरु भएको सो आयोजना सन् २००९ मा सम्पन्न हुनुपर्ने भनिए पनि जग्गा प्राप्ति, मुआब्जा वितरण तथा विभिन्न स्थानीय समस्याका कारण निर्माणमा ढिलाइ भएको थियो ।  विगत ११ वर्षदेखि विभिन्न बहानामा रोकिँदै आएको उक्त प्रशारण लाइनको उर्जामन्त्री जनार्दन शर्माको चासो दिएपछि तीव्र रुपमा निर्माण भएको थियो। 

यस प्रशारण लाइनले तामाकोशी क्षेत्र, मध्य तराई र पूर्वी क्षेत्रको बिजुली माग र आपूर्तिको सन्तुलन मिलाउन सहज हुने, न्युन भोल्टेजको समस्या हट्ने, सिन्धुपाल्चोक, रामेछाप, ओखलढुङ्गा, दोलखा, सिन्धुली लगायत जिल्लामा उत्पादित बिजुली प्रशारण सजिलो हुने लगायत फाइदा रहेको प्राधिकरणले जनाएको छ।

अहिले भारतबाट आयात गरिएको २५ मेगावाट बिजुली ढल्केबर–खिम्ती–लामोसाँघु हुँदै काठमाडौँ आइरहेको छ। अब यहाँबाट बिजुली ल्याउदा बिजुली चुहावट १० मेगावाटसम्म कम हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। 

 कार्यक्रममा ऊर्जा मन्त्री जनार्धन शर्मा, नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ लगायतको उपस्थिति थियो।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved