सर्वाधिक चर्चामा रहेको एउटा आत्महत्याको नालीबेली

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 04, 2017 | 01:42:40 AM मा प्रकाशित

laxmi  sunrise bank

 मेरो मृत्यु होइन, हत्या भएको हो । एक हप्ताजति अघिबाट ज्यान मार्ने धम्की आइरहेको थियो । आमा–बा, दाइ–दिदी मलाई माफ गरिदिनु । बैंकको खातामा जम्मा भएको १ लाख रकम आमालाई दिनु ।


सुसाइट नोटमा यति लेखेर आत्महत्याको बाटो रोजे एक २३ वर्षीय युवकले । कोठाकै सिलिङ फ्यानमा झुन्डिएर आत्महत्या गरेपछि अरू दिन हल्लीखल्ली हुने उनी बस्ने विजयचोकस्थित डेरामा २८ पुसको सम्साँझै अध्यारो छायो ।  

सिलिङमा झुन्डिएर आत्महत्या गर्ने ती युवा हुन्— नवलपरासी, शिवमन्दिर–३ का कृष्ण सुवेदी । झन्डै ४ वर्षअघि मात्र एमबीबीएस पढ्ने सपना लिएर नवलपरासीबाट काठमाडौं छिरेका थिए उनी । सरकारी कोटामा एमबीबीएस पढ्ने उद्देश्यले काठमाडौं आएका कृष्ण छात्रवृत्तिमा नाम निकाल्न नसकेपछि बिपिएच पढ्न थाले । 

 

भर्खरै नोबेल कलेजबाट चारवर्षे बिपिएच सकेका सुवेदी २ माघमा धुलिखेल अस्पतालमा रिसर्च एसिस्टेन्सको जागिर ज्वाइन गर्ने सुरसारमा थिए । ‘सानैदेखि केही गर्नुपर्छ भन्ने सोच थियो, उसको पढाइ पनि अब्बल थियो,’ उनका दाजु हरि सुवेदीले  भने, ‘जीवनमा यस्तो घटना घट्ला भनेर कहिल्यै सोचेको थिइन ।’ 

 

सानैदेखि कम बोल्ने, धेरै साथी नबनाउने तथा रिजर्भ स्वभावका कृष्णलाई सुपरहिट चलचित्र ‘छक्का पन्जा’को पाइरेसी प्रकरणले आत्महत्याका लागि विवश बनाएको दाबी परिवारको छ । तर, निर्माता दीपकराज गिरीले भने आफूहरूले कुनै पनि खराब काम नगरेको बताए । उनले केही मानिसहरूले आफ्नो नैतिक पतन गराउन खेलेको नकारात्मक भूमिकाले मात्रैं आफूलाई दु:खी बनाएको बताए । गिरीले आफ्नो चलचित्र सर्वत्र प्रशंसित भएको उल्लेख गर्दै यही मौका छोपेर केहीले आफूलाई प्रायोजित गाली गरेको र आफूलाई दोषी ठहर्‍याउन 

 

खेलिएको खेलका कारण भने दु:खी भएको बताउँछन् । ‘तपाईंको गाडीमा आएर कोही ठोक्किएर मर्‍यो भने तपाईको कानुनी दोष हुँदैन तर मनमा हत्तेरी मेरै गाडीमा ठोक्किन आएर मान्छे मर्‍यो भनेर मनस्थिति खल्बलिन्छ,’ उनले भने । 

 

सामाजिक सञ्जालमा पनि अहिले यो घटना उतिकै विवादित बनेको छ । कृष्णले ‘आत्महत्या होइन हत्या हो’ भनेर लेखेको सुसाइड नोटलाई आधार बनाउँदै उनको परिवारले सत्यतथ्य छानबिनका लागि गौशाला प्रहरी वृत्तमा उजुरी दिएको छ । कृष्णका दाइ हरिले थपे, ‘पटक–पटक प्रहरी र निर्माण पक्षले दिएको मानसिक तनावका कारण यो घटना घटेको हो ।’ हरि कावासोतीजस्तो ठाउँबाट आएको एक विद्यार्थीलाई ठूलो रकम तिर्न दिइएको धम्कीका कारण आफ्नो भाइ सुसाइड गर्न बाध्य भएको दाबी गर्छन् । 

 

अर्कातर्फ सर्वाधिक व्यापार गर्ने चलचित्र ‘छक्कापञ्जा’को निर्माण युनिटलाई दोषी देखाउँदै कतिपयले सामाजिक सञ्जालमा गालीगलौज जारी राखेका छन् । आफ्नो चलचित्र पाइरेसी पनि हुनु र त्यसपछि घटेको दुखान्त घटनामा आफूलाई मुछेर गाली गर्न थालिएपछि निर्माता दीपकराज गिरीले गत शुक्रबार गौशाला प्रहरीवृत्तमा अर्को उजुरी हालेका छन् । 

 

गिरीले घटनाको सत्यतथ्य छानबिनको माग गर्दै दोषीलाई सजाय गर्न माग गरेका छन् । उनले आफ्नो उजुरीमा यो घटनाले आफ्नो प्रतिष्ठामा समेत आँच पुर्‍याएको बताउँदै आफू दोषी सावित भए कारबाही भोग्न समेत तयार रहेको उल्लेख गरेका छन् । ‘म दीपकराज गिरी र मेरो टिमको धम्कीले ज्यान गएको भन्ने आरोप लगाई पटक–पटक विभिन्न स्थानमा हाम्रो प्रतिष्ठा गिराउने काम भएकाले उक्त घटनाको सत्य–तथ्य छानबिन गरी दोषीउपर कानुनी कारबाही गरिपाऊँ,’ गिरीले गौशालामा दायर गरेको उजुरीमा लेखेका छन् । 

 

प्रहरी नायब उपरीक्षक नवराज कार्की पोस्टमार्टमको रिपोर्ट आएपछि सुवेदीको आत्महत्यामाथि थप अनुसन्धान थालिने बताउँछन् । ‘हामी पोस्टमार्टमको रिपोर्ट पर्खिरहेका छौं,’ उनले आइतबार बिहान भने, ‘त्यो रिपोर्टपछि मात्र आत्महत्याको कारण खुल्छ ।’  

पाइरेसी प्रकरण
स्व. कलाकार आरपी भट्टराई (लाजाराम) का छोरा श्रीजल भट्टराईसँग चलचित्र ‘छक्का पञ्जा’ को कपी थियो । उनले त्यो कपी आफ्नै घरमा डेरा गरी बस्ने अनिश रञ्जितलाई दिए । रञ्जितले उक्त कपी आफ्नो अफिसमा काम गर्ने साथी सागर सापकोटालाई दिए । गैंडाकोटका सागर त्यो फिल्म लिएर कोठामा फर्किए । कोठामा उनका रुममेट थिए, कृष्ण सुवेदी । त्यो फिल्म कृष्णसम्म पुग्यो । कृष्णले सागर बाथरुम गएका बेला फिल्म प्राइभेट बनाएर आफ्नो गुगल ड्राइभमा अपलोड गरिदिए । 

 

‘फुर्सदका बेला हेर्न उसले आफ्नो गुगल ड्राइभमा अपलोड गरेछ,’ सागरले भने, ‘त्यो कुरा प्रहरीले हामीलाई पक्राउ गरेपछि मात्र थाहा भयो ।’ फिल्म गुगल ड्राइभमा अपलोड गरे पनि त्यो पाइरेसी नभएको सागरको दाबी छ । उता छक्का–पञ्जालाई विदेशमा प्रदर्शन गर्ने तयारीमा लागेको ‘चलचित्र’ युनिटलाई फिल्म बाहिरिएको कुराले तनाव भयो । १९ पुसमा निर्माण पक्ष छानबिनका लागि महानगरीय अपराध महाशाखामा पुग्यो । महाशाखाको टोलीले खोज्दै जाँदा उक्त चलचित्र गुगल ड्राइभमा अपलोड गरिएको फेला पर्‍यो ।

 

गुगल ड्राइभमा अपलोड गर्ने कृष्णसँगै घटनासँग जोडिएका श्रीजल भट्टराई, सागर सापकोटा तथा अनिश रञ्जितलाई २० गते प्रहरीले छानबिनका लागि पक्राउ गर्‍यो । प्रहरीले छानबिन गर्दा सुवेदीले पाइरेसी गरे पनि उनको नियत पैसा कमाउने नदेखिएपछि उनीहरूलाई छाडियो । ‘पैसा कमाउने नियत नदेखिएपछि हामीहरूले उनीहरूलाई छाडिदियौं,’ प्रहरी नायब उपरिक्षक पशुपति राय भन्छन्, ‘दुवै पक्षबीच मिलापत्र भएपछि हामीले त्यसमा केही गरेनौं ।’ त्यसलगत्तै केही सामसुम भएको यो केस थप चर्चा र विवादमा त्यतिबेला तानियो, जब २८ पुसमा कृष्णले आत्महत्या गरे ।

दीपकराज गिरीको फेसबुक बयान

०७० सालमा ‘छ एकान छ’ पाइरेसी भयो,उजूरी गरेँ,व्यक्ति समातियो पनि । कारबाही गर्नुपर्ने तर एउटा गरिब (मजदुरी गरेर खाने परिवारको) केटा परेछ । उसकी आमालाई देखेर आफ्नै आँखामा आँसु आयो । प्रहरीलाई अनुरोध गरेर आइन्दा यस्तो नगर भनेर छोडिदियौं । 

 

यस पटक स्वर्गीय कृष्ण सुवेदीसहित ४ युवा समातिए । अपराध महाशाखा प्रमुख सर्वेन्द्र खनालज्यू र मैले ‘पाइरेसी गरे पनि पैसा कमाउने नियतमा पाइरेसी भएको देखिँदैन त्यसैले कारबाही नगरौं, केटाहरूको भविष्य बिग्रन्छ’ भनेर सामान्य तारेखमा छोडियो । आइतबारदेखि त त्यो तारेखबाट पनि मुक्त भैसकेको अवस्था थियो । मैले बारम्बार सामाजिक सञ्जालमा युवाहरूलाई आग्रह पनि गरिरहेको हुन्छु । कृपया यस्ता सामग्री हात पर्दा नहेर्नु राम्रो, हेरे पनि सेयर वा ट्याग नगरौं । त्यसले तपाईंको पनि भविष्य बिग्रन सक्छ । साइबर एक्टले समात्छ ।

 

यो विषयमा पनि उदारता देखाएरै केटाहरूलाई मुद्दा नचलाई सम्झाएर छोडिएको हो । आफ्नै क्षति हुँदाहुँदै पनि हामीले हदैसम्मको नरम व्यवहार प्रस्तुत गरेकै हो । त्यसमाथि अहिले केही व्यक्तिले सामाजिक सञ्जालमा अत्यन्तै असंवेदनशील हुँदै ‘छक्का पन्जा’लाइ यसको भागिदार भएको आरोप पनि लगाइरहेका छन् । त्यसले थप मर्माहित तुल्याएको छ हामीलाई । एकातिर चलचित्रको पाइरेसी, अर्का तिर युवाको मृत्युको पीडा, त्यसमाथि यो असंवेदनशील आरोप । खाएको विष मात्र लाग्नुपर्ने हो । एकातिर मृतकको परिवारको पीडा सम्झेर दुखित छु भने अर्कातिर यस्ता संवेदनाहीन आरोपले मर्माहत तुल्याएको छ । 

 

मृत्यु हो, हत्या हो वा अरू नै केही कारण हो प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले पाइरेसीको आरोपमा सफाइ दिइसकेको अवस्थामा युवकको मृत्यु भएको छ । मृत्युको सही धकारण के हो ? अनुसन्धानबाट खुल्ने नै छ । केही मिडियाले पनि ‘टीआरपी ओरिएन्टेड न्युज’ लेखिरहेका छन् । यो संवेदनशील र मुस्किलको समयमा म मनैदेखि भन्न चाहन्छु, हाम्रो एक प्रतिशत पनि गल्ती सावित भए हामी सजाय भोग्न तैयार छौं, तर मिथ्या आरोप लगाएर थप पीडा नदिन आग्रह गर्छौं । हामीलाई सहयोग, साथ र पीडामा पनि हौसला दिने लाखौं साथीहरूलाई धन्यवाद ।

साभार: साप्ताहिक 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved