'प्रदेश र केन्द्रको निर्वाचन एकै दिन गर्न सकिन्छ, संसदको म्याद थप्ने कुरा कल्पना गर्न सक्दिनँ'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 05, 2017 | 09:37:49 PM मा प्रकाशित

laxmi  sunrise bank

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बर्तमान सत्ता गठबन्धन फेरिने हल्ला निराधार भएको बताएका छन् । शनिबार साँझ नेपाल टेलिभिजनको ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रमको अन्तरवार्तामा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

नेपाल टेलिभिजनको ‘सिधा प्रश्न प्रधानमन्त्रीसँग’ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यक्त गरेको अन्तरवार्ताको सारसंक्षेप यस प्रकार रहेको छ । 


— न्यूनतम् आवश्यक तयारी गरेर नै निर्वाचनको मिति घोषणा गरिएको हो । ऐनहरु बनेका छन्, अरु केही ऐन पनि पारित गर्नुछ । तर, त्यसले स्थानीय निर्वाचनलाई असर गर्दैन । संसद खुल्ने बित्तिकै बाँकी ऐन पनि पारित हुन्छन् । स्थानीय तहको प्रतिवेदनका सन्दर्भमा पनि पर्याप्त आधार दिएका छौं । कार्यदलको प्रतिवेदन पनि आएको छ । भोलि मन्त्रीपरिषदबाट त्यो प्रतिवेदन पनि पास गरेर कार्यान्वयनमा जान्छ । भोलि हामी सम्पूर्ण सामाग्री निर्वाचन आयोगलाई दिन्छौं ।
— प्रदेश र केन्द्रको निर्वाचन एकै दिन गर्न सकिन्छ । स्थानीय निर्वाचनले हामीलाई अनुभव र उत्साह पनि दिन्छ । मौसमका कारण पनि पौष र माघ महिनामा निर्वाचन हुन कठिन हुन्छ । त्यसैले आगामी कार्तिक वा मंसीरभित्र प्रदेश र केन्द्रको निर्वाचन गर्नुपर्छ, गर्न सकिन्छ । २०७४ माघ ७ मा संसदको म्याद थप्ने कुरा कल्पना पनि गर्नु हुँदैन । संविधानले दिएको समयसीमा पालना गर्नैपर्छ । संसदको म्याद थप्ने कुरा म कल्पना गर्न सक्दिनँ ।
— प्रधानमन्त्री भएदेखि नै थारु, मधेशी र जनजातिका मुद्दा अधिकतम् सम्बोधन गर्ने मेरो प्रयास हो । मधेशी मोर्चालाई पनि सहभागी बनाएरै निर्वाचनमा गइन्छ, मेरो पुरै कोशिस छ । संशोधन विद्येयकलाई निर्वाचन अगाडि नै पारित गर्न चाहन्छौं, त्यसका लागि सबै राजनीतिक दलसँग सम्वाद जारी छ । त्यसका लागि सम्पूर्ण रुपले कोशिस हुन्छ ।
— संशोधन प्रस्तावमा सहमति पनि जारी छ । अहिले गर्ने स्थानीय तहको निर्वाचन हो । स्थानीय तहको निर्वाचनमा मधेशी मोर्चाको चासोलाई सम्बोधन गर्ने कोशिस भएको छ । यसले मधेशी मोर्चाको चासो पनि सम्बोधन हुन्छ । बाँकी कुरा सम्बोधन गर्दै जान पनि सकिन्छ । स्थानीय निर्वाचनसँग सम्बन्धित कुरा टुङ्गाएर बाँकी कुरामा सहमति खोज्दै जान सकिन्छ । यो बिकल्प पनि हामीसँग छ । संशोधन विद्येयक थाती राखेर निर्वाचन गर्ने भनेको होइन । तर, संशोधन प्रस्ताव मतदानमा गएपछि जसरी पनि पारित हुनुपर्छ, केही समय लिएर भएपनि संशोधन प्रस्ताव पारित गरौं भन्ने मेरो प्रष्ट मत हो ।
— राप्रपाका नेताहरुले औपचारिक रुपमै संशोधन प्रस्तावको पक्षमा भोट हाल्न सक्दैनौं भनेपछि हामीले संशोधन विद्येयक मतदानमा लान नचाहेको हो । किनकि, त्यसरी जाँदा संशोधन फेल हुन्छ । हामी त्यो चाहँदैनौं ।
— आजकै मितिमा राष्ट्रिय सहमतिको सरकार सम्भव छैन । स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुअघि अर्को कुनै सरकारको कल्पना गर्न सकिँदैन । गठबन्धन फेरिने बजार हल्ला पनि आएका छन् । तर, ती सत्य होइनन् । स्थानीय निर्वाचनका लागि सरकार सबै लचकता अपनाउन तयार छ । तर, निर्वाचन प्रभावित हुने कुरामा सहमति र लचकता हुँदैन ।
— शहिद सप्ताह अन्तर्गतको एउटा कार्यक्रममा म गएको हो । त्यो शहिदलाई सम्मान गर्ने कार्यक्रम हो । त्यो निर्वाचन प्रयोजनका निम्ति गरिएको कार्यक्रम होइन । त्यहाँ कुनै कार्यक्रम घोषणा गरिएको पनि छैन । मैले निर्वाचन आयोगको पूर्व स्वीकृति पनि लिएको छु । त्यसैले प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता तोड्नु भन्नु भ्रामक छ ।
— सबैले आफ्नो राजनीतिक गतिविधि शान्तिपूर्ण रुपमा गर्न पाउँछन् । भर्खरै गृहमन्त्रीजीलाई बोलाएर पनि शान्ति सुरक्षा कायम गर्न भनेको छु । सबैले आफ्ना राजनीतिक गतिविधि गर्न पाउँछन्, पाउनुपर्छ । शान्तिपूर्ण रुपमा हुने क्रियाकलापलाई अवरोध नगर्न र शान्तिपूर्ण रुपमै जान सबैलाई अपील पनि गर्दछु ।
— राजनीतिक स्थीरता र आर्थिक समृद्धि मेरो प्राथमिकता हो । अहिले सम्पन्न लगानी सम्मेलन धेरै उत्साहवद्र्धक भयो । धेरै लगानीकर्ताको सहभागिता रह्यो । १४ अरबभन्दा बढीको लगानीको प्रतिवद्धताले नयाँ सन्देश दिएको छ । अब नेपालमा आर्थिक विकासले गति लिन्छ भन्ने यसले प्रष्ट गर्दछ । सबै मिलेर नेपालमा लगानीको वातावरण छ भन्ने विश्वास दिलाएका छौं । सबै राजनीतिक दलले एक मतले अपील गरेका छौं ।
— लगानीका लागि नियम कानून प्रभावकारी बनाउनुपर्छ । नियम कानून लगानीमैत्री हुनुपर्छ । दोस्रो राजनीतिक सहमति हो, हामीले लगानीका लागि साझा प्रतिवद्धता व्यक्त गरेका छौं । जनताको उत्साह पनि बढेको छ । अब देशमा लगानीको वातावरण बनेको छ । लगानीको प्रतिवद्धता व्यवहारमा कार्यान्वयन हुन्छ । लगानीको प्रतिवद्धता कार्यान्वयन हुँदैन भनेर शंका गरिरहनु अब आवश्यक छैन । लगानी कार्यान्वयनमा छिमेकीको सकारात्मक सहयोग नै पाएका छौं, कोही पनि यसमा बाधक छैनन् ।
— जलविद्युतमा लगानी गर्ने उत्साह बढ्दैछ । नेपालमा आएको लगानी प्रतिवद्धता फिर्ता जाँदैन, बरु बढ्दै जान्छ । नेपालमा मेघा हाइड्रो प्रोजेक्टहरु बन्दैछन्, यसमा विदेशी लगानीको आकर्षण छ । जलविद्युत र पर्यटनमा नेपालमा निकै राम्रो सम्भावना छ, त्यसैले लगानीको प्रतिवद्धता घट््दैन, बरु बढ्छ ।
— काठमाडौंमा मेलम्चीको पानी ल्याउने सन्दर्भमा धुँवा, धुलो बढेको छ । म भोलि क्याविनेटमा यस विषयमा कुरा गर्छु । अस्थायी रुपमा कालोपत्रे गर्ने वा अरु केही गर्ने भोलि निर्णय गछौं । हाम्रो कर्मचारीतन्त्र, नियम, कानून र संस्कारमा पनि समस्या छ । अहिले काठमाडौंमा आएको धुँवा, धुलो हटाउन भोलि नै ठोस निर्णय हुन्छ ।
— विदेशमा बस्ने नेपालीहरुको हितमा सरकारले गम्भीर रुपमा लागेको छ । पासपोर्टको शुल्क घटाउने, बीमा रकम बढाउने लगायतका काममा सरकारले आवश्यक निर्णय गरिसकेको छ । साउदीको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्ति लगायतको समस्या समाधान गर्ने यथार्थ जानकारी र सुझाव ल्याउन परराष्ट्र सचिवलाई भनेको छु, त्यसमा मेरो कुटनीतिक र राजनीतिक पहल हुन्छ ।
— सत्य निरुपण आयोगले निकै मेहेनत गरेर काम गरेको छ । शान्ति प्रक्रियाका महत्वपूर्ण कामहरु अघि बढेका छन् । बाँकी काम पनि छिटै अगाडि बढ्छन् ।
— तस्करको नेटवर्क धेरै पुरानो रहेछ । बरु, यो सरकारको पालामा धेरै तस्कर पक्रियौं । मैले लगातार नै कोशिस गरेपछि नै तस्करहरु पक्राउ परेका छन् । हामी तस्करीको मुल जरोमा पुगेर नै त्यसलाई निमिठ्यान्न पार्न खोजेका छौं, त्यसमा सरकार सफल हुँदैछ । यो सरकारको सुशासनकै पहल हो । प्रहरी प्रशासनभित्र असाध्यै इमान्दार राष्ट्रसेवक छन्, एकाध नराम्रा मान्छे भए भन्दैमा सबैलाई दोष दिन मिल्दैन ।
— त्रिविको सिनेटमा मैले स्ववियू निर्वाचन गर्नैपर्छ भनेको थिएँ । पछि केही राजनीतिक विवाद भएपछि सत्ता पक्ष र प्रतिपक्षी राखेर कुरा गरें र समाधान खोजें । स्ववियू निर्वाचनले लोकतन्त्रको अभ्यास भएको छ । यसले जागरण र गतिशीलता बढेको छ, सक्रियता बढाएको छ । स्ववियू निर्वाचनले स्थानीय निर्वाचन सम्पन्न गर्न सकारात्मक सन्देश दिएको छ, निर्वाचनका लागि प्रेरणा दिएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved