आनाको ५४ रुपैयाँमै पशुपतिको जग्गा !

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 23, 2019 | 03:19:19 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं जस्तो महँगो ठाउँमा ५४ रुपैयाँ आनामा जग्गा भाडामा प्रयोग गरेको पाइएको छ। यस्तो सस्तो मुल्यमा जग्गा प्रयोग गर्ने पाउने भाग्यमानि अरु कोहि नभई नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल हो। 

विमानस्थलले पशुपतिनाथ मन्दिर गुठीको जग्गा चलन चल्तीभन्दा न्यून मूल्यमा भाडामा चलाएको छ। गुठीको स्वामित्वमा रहेको एक हजार एक सय ६७ रोपनी जग्गा प्रयोग गरेवापत विमानस्थलले वार्षीक एक करोड २१ लाख रुपैयाँ तिर्दै आएको छ ।

विमानस्थलले पशुपति क्षेत्र विकास कोषलाई प्रतिरोपनी मासिक आठ सय ६४ रुपैयाँ मात्रै तिर्दै आएको छ । विमानस्थलले कुल तिर्ने भाडालाई हिसाब गर्दा प्रतिआना मासिक ५४ रुपैयाँ मात्रै पर्छ।

हाल विमानस्थलले प्रयोग गर्दै आएको धावनमार्ग, नेपाल आयल निगमको इन्धन भण्डारण कक्ष र गल्फकोर्ट भएको जग्गा पशुपतिनाथ गुठीको हो । २०३९ पुस २३ गते तत्कालीन पशुपति क्षेत्र सुधार तथा विकास समिति र तत्कालीन हवाई विभागबीच जग्गाभाडा सम्झौता भएको थियो । 

सो समयको सम्झौतामा विमानस्थलले गुठीलाई जग्गामा उत्पादन हुने अन्न बराबरको पैसा बुझाउँथ्यो । त्यतिबेला विमानस्थलले गुठीको जग्गा प्रयोग वापत वार्षिक एक हजार एक सय ६७ मुरी अन्न बराबरको रकम बुझाउने गथ्र्यो ।

२ वर्षअघिसम्म विमानस्थलले गुठीलाई वार्षिक २३ लाख रुपैयाँ बुझाउँदै आएको थियो । तर कोषले भाडादर समयसापेक्ष हुनुपर्ने भन्दै माग गरेपछि तिर्दै आएको भाडामा एक करोड रुपैयाँ थप गर्न विमानस्थल राजी भएको थियो ।      

विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले गुठीको सबै जग्गा सरकारकै भएकाले विमानस्थल पनि सरकारकै मातहतको संस्था भएकाले प्रयोग गरेको बताए। तिवारी गुठीको जग्गा प्रयोग गरेवापत विमानस्थलले पैसा नतिर्ने दाबी गर्छन् । ‘पैसा तिर्ने भन्ने कुरा हुँदैन, सरकारी जग्गा हो, सरकारकै अर्को निकायले प्रयोग गरेको हो’ उनले भने ।

तर पशुपति क्षेत्र विकास कोषले भने जग्गाको समयसापेक्ष मुल्य नपाएको बताएको छ । कोषका प्रवक्ता प्रेमहरि ढुङ्गाना एउटै मन्त्रालय मातहतका संस्था भएकाले धेरै रकम दाबी गर्दापनि पाउन नसकिएको बताउँछन् । २ वर्ष अघि कोषले वार्षीक १० करोड रुपैयाँ पाउनुपर्ने माग गरेको थियो । तर तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीको पालामा विमानस्थलले १ करोड मात्रै दिने गरि सहमति भएको छ । यो पैसा विमानस्थलले एकमुष्ट रुपमा कोषलाई बुझाउँदै आएको छ ।

२०३९ सालमा विमानस्थल विस्तार गर्दा गुठीको १२ सय रोपनी जग्गा प्रयोग भएको थियो । त्यसमध्ये २९ रोपनी १२ आना जग्गावापत गुठीले एकमुष्ट मुआब्जा लियो । बाँकी जग्गा भने भाडामा दिएको थियो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले गुठीले पैसामा बार्गेनिङ गर्न नसुहाउने तर्क गरेको छ । प्राधिकरणका एक अधिकारीले दुवै सरकारी निकाय भएकाले सरकारको निर्णय मान्नुपर्ने बताए । 

यो जग्गा २२५ वर्ष अघि रणबहादुर शाहले गौचरनका लागी गुठीलाई दान दिएको जग्गा हो । पशुपतिमा छोडिने साढेहरु चर्नका लागी उनले दान दिएको यो जग्गामा आवश्यकता अनुसार भौतिक संरचना बनेका छन् । गुठीको स्वामित्वमा अहिले करिब चार हजार २ सय रोपनी जग्गा छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved