ग्रानाडालाई हराउँदै रियल म्याड्रिड शीर्षस्थानमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2021 | 10:35:52 AM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनिस पावर हाउस रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा ग्रानाडालार्ई उसैको मैदानमा ४–१ गोलले हराउँदै रियलले शीर्षस्थान कब्जा गरेको हो ।

१० खेलाडीमा समेटिएको ग्रानाडामाथि फराकिलो जित निकाल्न रियलका मार्काे असेन्सियो, नाचो फर्नान्डेज, भिनिसियस जुनियर र फर्लान्ड मेन्डीले गोल गरे । ग्रानाडाका लुइस स्वारेजले सान्त्वना गोल फर्काए ।

एकपक्षीय खेलमा रियलले १९औं मिनेटमा खाता खोलेको थियो । मार्काे असेन्सियोले टोनी क्रुसको पासमा गोल गर्दै पाहुना टोली रियलको उत्साह जगाए । २५औं मिनेटमा नाँचोले टोनी क्रुसकै पासमा गोल गर्दै रियलको अग्रता दोब्बर बनाए ।

त्यसपछि ३४औं मिनेटान लुइस स्वारेजले गोल गर्दै ग्रानाडालाई खेलमा फर्काउने प्रयास गरे । उनले म्याक्सिमे गोनालोन्सको पासमा गोल गरेका थिए । तर ५६औं मिनेटमा भिनिसियसले लुका मोड्रिचको पासमा गोल गर्दै रियलको अग्रता थप बलियो बनाए ।

ग्रानाडा ६७औं मिनेटमा १० खेलाडीमा समेटियो । रियलका भिनिसियसलाई फल हालेपछि मोन्चु सोझै रातो कार्ड पाउँदै बाहिरिएका थिए । मोन्चुको कार्डलाई लिएर रेफ्रीविरुद्ध खनिएका ग्रानाडाका प्रशिक्षक रोवर्ट मोरेनोलाई पनि दुई मिनेट लगत्तै रेफ्रीले रातो कार्ड देखाउँदै टच लाइन बाहिर पठाए ।

ग्रानाडाका खेलाडी र प्रशिक्षकले रातो कार्ड पाएपछि केहीबेर तनावपूर्ण बनेको खेलमा रियलले पुनः अर्को गोल थप्यो । ७६औं मिनेटमा फर्लान्ड मेन्डीले क्यासेमिरोको पासमा गोल गर्दै रियललाई सानदार जित दिलाए ।

६९ प्रतिशत बल पोसेसन राखेको रियलले २१ वटा पोस्ट प्रहार गरेको थियो । खेलभर रियलको दबाबमा झेलेको ग्रानाडाले ११ वटा पोस्ट प्रहार गरेपनि फराकिलो हार खेप्यो । रियलका टोनी क्रुस ‘म्यान अफ दी म्याच’ भए ।

जितसँगै शीर्षस्थानमा उक्लिएको रियलले दोस्रो स्थानमा रहेको रियल सोसिडाडलाई एक अंकले पछि पारेको छ । रियलको १३ खेलबाट ३० अंक छ । १४ खेल सकेको सोसिडाडको २९ अंक छ । घरेलु मैदानमा आइतबार राति नै भएको खेलमा भ्यालेन्सियासँग गोलरहित बराबरीमा रोकिएपछि सोसिडाडले शीर्षस्थान गुमाएको हो ।

तेस्रो स्थानमा रहेको सेभियाले २८ अंक बनाएको छ । रियलसँग पराजित ग्रानाडा ११ अंक सहित १८औं स्थानमा छ । अन्य खेलमा रियल बेटिसले इल्चेलाई ३–० र गेटाफेले काडिजलाई ४–० गोलले हराएको छ ।

विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved