टेलिकमको वार्षिकोत्सवमा मन्त्री भए फायर; सोधे-आमाको जन्मदिनमा मङ्गलधुन बजाउने कि शोकधुन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2020 | 02:07:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमको वार्षिकोत्सवस्थलमा कम्पनीमा क्रियाशील एक कर्मचारी युनियनले विरोध जनाएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा रुष्ट बनेका छन् । उनले विरोधका नाममा राजनीति नगर्न र राजनीति गर्नु छ भने पार्टी कार्यालयतिर जान भन्दै अशन्तुष्टी प्रकट गरेका हुन् ।

अशन्तुष्ट बनेका मन्त्री बाँस्कोटाले प्रश्न गर्दै भने, “आमाको जन्मदिनका दिन मङ्गलधुन बजाउने कि शोकधुन बजाउने ? यो त गाईजात्रा देखियो । पञ्चायतको टालोजस्तो पहेँलो टालो बाँधेर विरोध गरिनु कुनै बहादुरी होइन, निराशाको सन्देश हो ।"

मन्त्री बाँस्कोटाले लोकसेवा आयोगमा पुगेपछि टेलिकमको कर्मचारी विनियमावली आउने भएकाले विरोधका नाममा राजनीति नगर्न र राजनीति गर्नु छ भने पार्टी कार्यालयतिर जान सुझाव दिए । उनले भने , “अहिले सरकारले यो संस्थालाई कान्छा छोरा, छोरीजस्तै माया गरेको छ, यो बेलामा पनि उँभो लाग्न सकेन भने यो संस्था आफ्नो मलामी आफँै जान्छ । हामी यस्ता गाईजात्रा पन्छाउँदै देशको विकासमा लाग्नेछौँ ।”

विरोध प्रदर्शन गर्ने कर्मचारीप्रति कडा शैलीमा प्रस्तुत हुँदै मन्त्री बाँस्कोटाले भने, “रचनात्मक सुझावहरु ग्रहण गरिन्छ तर राजनीतिका लागि राजनीति सह्य हुन सक्दैन । अनुशासन र नियममा रहनुस् । अन्यथा यसको हिसाबकिताब राम्रैसँग राखिनेछ । चुनौती सम्झिए चुनौती सम्झिनुस् । राजनीतिका लागि राजनीति गर्ने विध्वांशात्मक विरोधलाई म पराजित गर्छु ।” असन्तुष्ट कर्मचारीलाई मन्त्री बाँस्कोटाको प्रश्न थियो, “के देशभरि फोरजी सेवा जानु हुँदैनथ्यो ? त्यसकारण तपार्ईंहरु दुःखी हुनुभयो ? संस्थाको छवि माथि जान लागेको हो भनेर चिन्ता लागेको हो ?”

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीलगायत सहभागी कार्यक्रममा उनले देशकै समृद्धिको कुरा गरेर हिँडेको सरकार दुई–चारजनाको विरोधबाट नहच्किने र गाईजात्रा पन्छाउँदै देशको समृद्धितर्फ अघि बढ्ने बताए।

कम्पनीमा क्रियाशील नेपाल टेलिकम वकर्स युनियनले कम्पनी व्यवस्थाले पर्याप्त नाफा वृद्धि गर्न नसकेको र कर्मचारीको वृत्ति विकासका काममा प्राथमिकता नदिएको भन्दै कार्यक्रमस्थलमा आफ्ना मागसहितको प्ले कार्ड भिरेर विरोध गरेको थियो । सो युनियनका वाग्मती प्रदेशका अध्यक्ष अच्युतकुमार ओझाले ट्रेड युनियन अधिकारको रक्षाका लागि आफूहरुले शान्तिपूर्ण खबरदारी गरेको बताए।



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved