पर्यटन बोर्डका सीईओले आर्थिक अनियमितता गरेको ठहर, छानबिन समितिले बुझायो प्रतिवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2022 | 10:07:23 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीले आर्थिक अनियमितता गरेको छानबिन समितिले ठहर गरेको छ । बेलायतबाट फर्किँदा तोकिएको भन्दा बढी मदिरा ल्याएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित भन्सारका कर्मचारीमाथि हातपात गरेर विवादमा तानिएका सीईओ रेग्मीले आर्थिक अनियमितता गरेको छानबिन समितिले ठहर गरेको हो । 

बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा गठित छानबिन समितिले सोमबार पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई बुझाएको १० बुँदे निष्कर्ष तथा सुझावसहितको प्रतिवेदनमा सीईओ रेग्मीले आर्थिक अनियमितता गरेको दाबी गरिएको छ । 

बेलायतमा आयोजित वल्र्ड ट्राभल मार्टमा सहभागी भएर नेपाल फर्किँदा रेग्मीले ल्याएको ६ बोतल ड्युटी फ्री रक्सी विमानस्थल भन्सारका कर्मचारीले जफत गर्न खोजेपछि उनले कर्मचारीमाथि नै हातपात गरेका थिए । यो छानबिन गर्न बोर्डले समिति गठन गरेको थियो । विदेशबाट फर्किँदा एक जनाले एक बोतल मात्र ड्युटी फ्री मदिरा ल्याउन पाउने व्यवस्था छ । उनले भन्सार छलेर अवैध रूपमा मदिरा छिराउन खोजेको र ड्युटीमा रहेका भन्सारका कर्मचारीमापग गरेको व्यवहार क्षमायोग्य नरहेको छानबिन प्रतिवेदनमा जनाईएको छ । 

डब्लुटिएमजस्ता अन्तराष्ट्रिय मेला तथा कार्यक्रमहरूमा सहभागी हुँदा कम्तीमा १० जना पर्यटन व्यवसायीको सहभागिता सुनिश्चितता गर्न दिएको निर्देशन पनि रेग्मीले नटेरेको समितिको निष्कर्ष छ । उनले डब्लुटिएममा ६ पर्यटन व्यवसायीलाई मात्र सहभागी गराएर १ करोड रुपैयाँभन्दा बढी रकम खर्च गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ । समितिले बोर्डको निर्देशनविपरीत गरिएको उक्त खर्चलाई कानुनसम्मत मान्न नसकिने जनाएको छ ।

रेग्मीले जियोग्राफिकल इन्फर्मेसन सिस्टम (जिआइएस) परियोजना कार्यान्वयन गर्दा पनि आर्थिक अनियमितता गरेको छानबिन समितिको आशंका छ । बोर्डको कार्यकारी समितिबाट पारित बजेट तथा कार्यक्रमले तोके अनुसार कामा नगरेको र तोकिएभन्दा कम काम गर्ने गरी त्रिभुवन विश्वविद्यालयसँग ४ करोड ७३ लाख ४८ हजारमा सम्झौता गरेर बोर्डलाई आर्थिक नोक्सान गरेको आशंका छानबिन प्रतिवेदनमा गरिएको छ । 

समितिले बोर्डमार्फत कार्यक्रम सञ्चालन गर्दा सम्भाव्यता, अध्ययन र उपयोगको रणनीति नबनाई अन्धाधुन्ध खर्च गर्ने गरेको जनाएको छ । 

निर्माण तथा खरिद कार्यमा पनि सार्वजनिक खरिद ऐनविपरीत टुक्रा–टुक्रा पारेर फरक फरक समय देखाई आर्थिक नोक्सानी हुने गरी काम गरेको पाईएको समितिको दाबी छ । 

बोर्ड सम्बन्धी बैठक एवं छलफलको खर्च भनेर सिइओ रेग्मीको तोकआदेशबाट विभिन्न होटेल तथा रेस्टुरेन्टमा गरिएको खर्चलाई कार्यालय प्रयोजनको खर्च देखाई स्रोत दुरुपयोग गरेको ठहर छानबिन समितिले गरेको छ । 

समितिले करारका कर्मचारीको भर्ना पनि कानुनसम्मत नभएको ठहर गरेको छ । डा. रेग्मी अवैध रूपमा सुन चोरी पैठारीसम्बन्धी मुद्दामा संलग्न भएको पाईएको पनि जनाईएको छ । 

छानबिन समितिले डा. रेग्मीमाथि आर्थिक अनियमितताका सम्बन्धमा अनुसन्धान गरी कारबाही गर्न सम्बन्धित निकायमा सिफारिस गर्न सुझाव दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved