तिल्केस्थान गढीः घुमफिरसँगै ‘गिद्ध’को अध्ययनका लागि ‘विश्वविद्यालय’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2022 | 01:02:23 PM मा प्रकाशित

laxmi  sunrise bank

देशभरी कति कोट, गढी तथा पूराना दरबारहरु संरक्षणको अभावमा जीर्ण मात्रै होइन, अस्तित्व नै गुमाउन पनि पुगिसकेका छन् । यस्तै मध्येको एउटा ऐतिहासिक क्षेत्र हो रामेछापको तिल्केस्थान गढी ।

राजा पृथ्वीनारायण शाहले अंग्रेज फौजसँगको लडाईका बेला यदि सिन्धुलीगढी किल्ला हारेमा त्यसको विकल्पका रूपमा तिल्केस्थान गढी (किल्ला) बनाउन लगाएका थिए । यदि सिन्धुली गढीबाट अंग्रेजहरु अघि बढेको खण्डमा तिल्केस्थान गढीबाट त्यसको प्रतिकार गर्ने उदेश्यले त्यहाँ ठूला ठूला बङ्कर बनाईएका थिए । ती बङ्करहरु अहिले पनि छन् ।

तर, अंग्रेजहरु सिन्धुली गढीबाटै लखेटिए । तिल्केस्थान गढीबाट लड्नु परेन । त्यसैले, राष्ट्रिय सुरक्षा र अन्तराष्ट्रिय फौजसँगको लडाईमा प्रत्यक्ष र परोक्ष रुपमा जोडिएको एउटा ऐतिहासिक भूमी भएकाले पनि तिल्केस्थान गढीको महत्व बढी छ । 

२०७४ सालको निर्वाचनपछि आएका जनप्रतिनिधिको नजरमा यो ऐतिहासिक भूमी पर्न गयो । विशेष गरी मन्थली नगरपालिकाले यसमा बढी चासो देखायो ।

तिल्केस्थान गढी साविक भलुवाजोर गा.वि.स. वडा नं.३ र ४ को शीर हो । हाल यो भूमी मन्थली नगरपालिकाको वडा नम्बर ६ र रामेछाप नगरको वडा नम्बर ८ को सीमा क्षेत्रमा परेको छ । 

समुद्री सतहबाट १६ सय ४८ मिटरको उचाईमा रहेको तिल्केस्थान गढीमा मन्थली नगरपालिकाले पर्यटकीय पूर्वाधारहरु पनि बनाएको छ । गढीसम्म पुग्न फेदीबाट खुड्किाला हालिएका छन् । खुड्किलाका दुवैतर्फ रेलिङ राखिएको छ । 

गढीको बीचमा मन्दिर बनाईएको छ । यद्यपी, यो मन्दिर आवश्यक छैन भन्ने कोणबाट कुराहरु उठ्न थालेका छन् । 

बङ्करको वरीपरी चप्लेटी ढुंगा विछ्याएर चिटिक्क पारिएको छ ।

छोटो इतिहास

तिल्केस्थान गढीमा अंग्रेज फौजसँगको नेपालको युद्धताका सैनिक बस्थे । त्यहाँ बस्ने सैनिक र युद्धका सामग्री भण्डारणका लागि साविक भलुवाजोर गा.वि.स.को वडा नं. ६ मा अर्को सुरुङ बनाईएको थियो भन्ने गरिन्छ । त्यहीँ सुरुङको नामबाट साविक भलुवाजोर गा.वि.स.को वडा नं. ६ लाई ‘कोटगाउँ’ भनिएको हो भन्ने किंवदन्ती छ ।

नेपाल एकीकरणमा विजयी स्थानको रक्षा गर्न सैनिक खटाउने क्रममा तिल्केस्थान गढीको सुरक्षा गर्ने जिम्मा सहित भलुवाजोरमा पूर्व सैनिक बडा ऐमानसिंह (अहिमानसिंह) थापालाई खटाईएको इतिहास छ । वि.सं. १८३६ सालतिर अहिमानसिंह थापालाई भलुवाजोरमा स्थायी बसोबास नै गर्ने गरी आवश्यक सबै बन्दोबस्त गरेर खटाईएको विषय राष्ट्रिय विभूती अमरसिंह थापा प्रतिष्ठानले प्रकाशन गरेका पुस्तकहरुमा समेत उल्लेख छ । 

ती सैनिकहरु माडी चौरमा परेड खेल्थे पनि भनिन्छ । माडी चौर तिल्केस्थान गढीमा देश रक्षर्थ खटिएका सैनिकहरुको पनि तालिम गर्ने थलो हो ।

उत्तर–दक्षिण दृश्यावलोकन, लोपन्मुख गिद्धको बासस्थान

गुराँस, मौवा, चिलाउने, फँडील, काफल जस्ता ठूला जातका बोटविरुवासहित भूँइ झारजन्य जडीबुटी पनि पाईने यो टाकुरामा स्वच्छ हावा पाइन्छ ।

नजिकै अवस्थित केवलेश्वर महादेव मन्दिर (रामेछाप नगरपालिका वडा नम्बर ८) बाट २० मिनेटको पैदल यात्रामा पुग्न सकिने तिल्केस्थान गढी मध्य पहाडको एउटा सम्भावना बोकेको ग्रामिण पर्यटकीय गन्तव्य हो । नजिकै बस्ती नभई जंगलै जंगलले घेरिएको मात्रै नभई तामाकोशी र सुनकोशी बीचको अग्लो टाकुरो भएकाले यो थुम्काको भू–बनोट पनि अत्यन्त सुन्दर छ । 

जाडो महिनामा बिहान गौरिशंकर हिमालबाट उदाएको घामको झिल्को ठ्याक्कै यो डाँडामा ठोकिन्छ र, साँझसम्म न्यायो भईरहन्छ । गर्मी महिनामा सितलाले शरीरलाई फुर्ति दिलाईरहन्छ ।

त्यसैले पनि सो क्षेत्र विभिन्न जनारको बासस्थान पनि बनेको छ । यो स्थानको दक्षिणतर्फ ‘गिद्धले छेर्ने पहरो’ (गिद्धहरु बस्ने भएकाले) भनिने ढुङ्गे पहाड छ । लोपन्मुख गिद्धको बसोबास त्यहाँ आज पर्यन्त पनि छ । गिद्धको विषयमा अध्ययन गर्न चाहनेहरुका लागि पनि यो ठाउँ ‘विश्वविद्यालय’ सरह हो भन्न सकिन्छ ।

सँगै, तिल्केस्थानको टाकुराबाट दक्षिणमा महाभारत चुरे (सिन्धुलीको हरिहरपुर गढी क्षेत्र), सुनकोशी किरानाका मनोरम फाँट (हाईबार बेसी र ग्वाल्टार), ऐतिहासिक सिन्धुली गढी, जुनार सुन्तलाको पकेट क्षेत्र सिन्धुलीको खनियाखर्क, मतानबास डाँडो लगायतका क्षेत्र देख्न सकिन्छ ।

उत्तरतर्फ मनै लोभ्याउने गौरिशंकर हिमाल, मकालु हिमाल, रोल्वालिङ हिम श्रृङ्खला, सैलुङ क्षेत्र, आकाश खुलेको समयमा सगरमाथा क्षेत्रसमेत यो भूमीबाट देख्न सकिन्छ । असार साउन र मंसिरमा मन्थलीको माँडीफाँटको दृश्य सबैभन्दा सुन्दर कतैबाट देखिन्छ भने, त्यो तिल्केस्थान गढीबाट मात्रै देखिन्छ ।

अपार सम्भावना

यो क्षेत्र सुख्खाग्रस्त क्षेत्र हो । पर्यावरणीय दृष्टिले मानव तथा जीवजन्तुको बसोबासका लागि अत्यन्त लाभदायक क्षेत्र हुँदाहुँदै पनि यो क्षेत्रमा खानेपानीको समस्या छ । रामेछाप र मन्थली दुबैतर्फ खानेपानीका योजना बन्ने क्रम विगत केही वर्षदेखि सुरु भएको छ ।

भलुवाजोरतर्फ त तामाकोशीको पानी तिल्केस्थान गढीको फेदीमा बनाईएको ट्याङ्कीमा झर्न थालिसकेको छ । यसले तिल्केस्थान गढी आसपाससहित भलुवाजोरको विकासको सम्भावनाको ढोका खोलेको छ ।

यो क्षेत्रमा जुनार खेतीको सम्भावना धेरै छ । ग्रामिण कृषिलाई ग्रामिण पर्यटनमा जोड्न सकिए भलुवाजोरको अपार सफलता अब टाढा छैन । 

सँगै, तिल्केस्थान गढी पछाडीको ढुङ्गे पहाडमा पनि ‘रक क्लाईम्बिङ’ जस्ता ‘साहसिक पर्यटकीय खेल’हरु खेलाउन सकिन्छ । 

यसका लागि लगानी जुटाउनु वा लगानीकर्ता खोज्नु यस क्षेत्रका युवाहरुको आजको कार्यभार हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved